आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश स्तरीय बास्केटबलको बिजेता बन्यो पर्वत

गण्डकी प्रदेश स्तरीय बास्केटबलको बिजेता बन्यो पर्वत


  • संजय रेग्मी
  • भाद्र २१ २०७९, मंगलबार

पर्वत/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा पर्वत जिल्लाले उपाधि चुमेको छ।
गत भदौ १७ गतेदेखि पोखरामा सुरु भएको बास्केटबल तर्फको प्रतियोगितामा म्याग्दीलाई पछि पार्वतले जित हात पारेको पर्वतको समूहका व्यवस्थापक कृष्ण पुनले बताए। खेलको सुरुवाती चरणबाट नै अविजित रूपमा सफल रहँदै पर्वतले अरू जिल्लाका प्रतिस्पर्धी समूहलाई पराजित गरेको उनको भनाई छ।

प्रतियोगिताबाट दोस्रो स्थानमा म्याग्दी, तेस्रो स्थानमा कास्की र सान्त्वना स्थानमा स्याङ्जा जिल्ला आएका छन्। गत भदौ १६ गतेबाट प्रतियोगिता हुने भएको भए पनि वर्षाका कारण १७ गतेबाट बास्केटबल सहितका अन्य खेलहरूको प्रतिस्पर्धा सुरु गराइएको थियो। पर्वतबाट एन्जल गर्वुजा, बबिन गर्वुजा, केशव खोर्जा, डीमन शेर्पुन्जा, सुजन शेर्पुन्जा, विकास शेर्पुन्जा, जीवन पुर्जा, सनम पुर्जा र प्रदीप पाइजाले
बास्केटबलमा सहभागिता जनाएका थिए।

विजेता खेलाडीहरूलाई आइतबार साँझ पर्वतको पुन युवा क्लबले बाजागाजा सहित बधाई तथा सम्मान व्यक्त गरेको छ। जिल्ला समन्वय समितिका उपप्रमुख सोम जि.सी सहितको सहभागितामा खेलाडीहरूलाई हौसला दिन तथा इतिहासमा नै पहिलो पटक पर्वतले बास्केटबलमा प्रदेश स्तरीय उपाधि पाएकाले त्यसको खुसीमा बाजागाजा सहित स्वागत गरिएको हो।

पर्वतका खेलाडीको म्यानेजरको रूपमा रहेका कृष्ण पुनले खेलाडी तथा व्यवस्थापकीय पक्षको अथक मिहिनेतका कारण पर्वतले इतिहासमै पहिलो पटक खेल जित्न सकेको बताउँछन्। ‘सातौँ, आठौँमा पनि पर्वतको समूहले सहभागिता जनाएको हो तर विजेता बनेर आउन पाएको थिएन। यस पटक यति निकै छोटो अवधिमा पनि धेरै मिहिनेत गरेका कारण सफल भएका छौँ, जिल्लाले इतिहास रचेको छ,’ उनले भने, ‘हरेक कुराको अभावमा रहेर पनि खेलाडीको यो मिहिनेतले यो नतिजा आएको हो। आर्थिक हिसाबमा निकै समस्यामा रहेर पनि हामीले यो जीत पाएका छौँ।’

जिल्ला बास्केटबल सङ्घ पर्वतका अध्यक्ष तथा कोचका रूपमा प्रतियोगितामा पुगेका मिलन पाइजा पुन मगरले सातौँ र आठौँ प्रतियोगितामा आफै खेलाडी भएर जाँदाको अनुभवको आधारमा खेलाडीहरूलाई कडा मिहिनेत गराएर प्रतियोगितामा सहभागी गराएको बताए। ‘त्यो बेलामा मैले पाएको दुःख सम्झेर म कोचको रूपमा रहेर खेलाडीहरू लिएर गएँ। हामीसँग बजेट केही थिएन। विदेशमा रहेका गाउँवासी तथा नेपालीहरूले केही आर्थिक सहयोग गरेर म खेल्न सकेका हौँ,’ उनी भन्छन्, ‘समय छोटो भएका कारण प्रतियोगिता गराएर खेलाडी छनोट गर्न सकिएन। तर पनि मिहिनेतका साथ खेलाडीहरूले ल्याएको नतिजाले हामीलाई हौसाएको छ। अघिल्ला पटकमा हामीले खल्तीबाट बेहोरेर खेल्न गएका थियौ, अहिले पनि ऋणमा नै पर्ने रहेछौँ तर विदेशमा रहेकाहरूले जति हुन्छ उति सहयोग गर्नुभएको छ।’

खेलाडीहरूको स्वागतमा पुगेका जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जि.सीले युवाहरूलाई चुनावमा परिचालन गर्ने तर उनीहरूको क्षमता र दक्षतालाई बेवास्ता गरेको देख्दा दुःख लाग्ने गरेको बताए। विद्यार्थीहरूलाई पढाइको नाममा किताबका पाना मात्रै घोकाएर कक्षाकोठामा थुनेर राख्दा उनीहरूको क्षमता भित्रैभित्रै मरेको भन्दै उनले स्थानीय तहहरूले पनि भौतिक निर्माणमा बढी केन्द्रित हुँदा खेलकुद उपेक्षामा परेको बताए।

‘खेल भनेकै अनुशासन हो, खेल भनेकै स्वास्थ्य हो भन्ने कुरालाई सबैले मान्नुपर्छ। खेलाडीको क्षमता पहिचान गर्ने तथा उसलाई स्वदेशमै बस्ने सक्ने बनाउने स्थानीय तहको भूमिका रहन्छ,’ उनले भने, ‘अवसरमा पाएमा हरेक गाउँमा फरक फरक क्षमता भएका व्यक्तिहरू रहेका छन् भन्ने बुझ्नुपर्छ। किताबका पाना घोक्नुलाई मात्रै पढाइको रूपमा नलिएर व्यक्तिको क्षमता र सीपमा निखार ल्याउनुलाई पढाइको रूपमा लिनुपर्छ। तर स्थानीय तह तथा राजनीतिक दलहरूले क्षमता पहिचान र त्यसमा निखार ल्याउने कुरामा खासै केही गरेको देखिँदैन।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->