पोखरा/ पोखरामा आयोजित खुल्ला १० किलोमिटर सडक दौड प्रतियोगिताको उपाधि मोहनदेव जोशीले प्राप्त गरेका छन् । नेपाली आर्मीका यी धावकले ३५ मिनेट ३१.४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेका हुन् । उनी गएको फागुनमा आयोजित सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका कास्य विजेता हुन् ।
पोखरा महानगरपालिकाअन्तर्गतको खेलकुद विकास समिति प्रतियोगिताको आयोजक हो ।
महानगरले महिला तथा पुरुष खुल्ला १० किलो मिटरसहित उनले नगद २५ हजार रुपैयाँसहित स्वर्ण पदक हात पारे । गोरखाका निराजन भट्टराईले ३६ मिनेट ०४.२ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक हात पारे । गोरखाकै नवराज गुरुङ तृतीय भए । उनले ३६ मिनेट ५०.४ सेकेण्डमा दौड पूरा गरे । चौथो स्थानमा गोरखाकै श्याम मगराती आए । उनले ३७ मिनेट ०८.३ सेकेण्डमा पूरा गरे । पोखराका सरोज शर्मा ३८ मिनेट ३९.२ सेकेण्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।
स्वर्ण विजेता जोशीले दशैंको बेला भएकाले छोटो दौड प्रतियोगितामा सहभागिता जनाएको बताए । १० किलोमिटर दौडले शारीरिक व्यायम हुने बताए । ‘दमौलीमा भएको अल्ट्रा म्याराथनमा सहभागी भएको थिएँ । मेरे मसल जाम भएको थियो । थोरै दूरीमा दौडिँदा मसल खुल्छ, त्यसैले दौडिएकको हुँ’,उनले भने । उनी लिगलिगकोटमा भएको दौडमा तेस्रो भएका थिए । यस्तै २ वर्षअघि एभरेष्ट म्याराथनमा समेत दोस्रो भएका थिए ।
महिलातर्फको १० किलोमिटर दौडमा नेपाली सेनाकी श्यामकली जैसीले स्वर्ण हात पारिन् । उनले ४६ मिनेट ५८.२ सेकेण्डमा पूरागर्दै नगद २५ हजार राशीको पुरस्कार थापिन् । त्यस्तै तनहुँकी नम्रता गुरुङले ४८ मिनेट ०७.५ सेकेण्डमा पूरा गर्दै रजत हात पार्दा नवलपुरकी डोलमाया महतोले कास्य पदक जितिन् । उनी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट बन्द प्रशिक्षणमा छन् । महतोले ४९ मिनेट २१.१ सेकेण्डमा पूरा गरिन् । १० किलोमिटर दौड विजेताहरुले नगद २५, १५, १०, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे ।
पोखरा महानगरपालिका विद्यालयस्तरीय छात्र ५ किलोमिटर दौडमा करुणनिधि फाउन्डेसन एकेडेमी (केफ) का विवेक परियार प्रथम भए । उनले १६ मिनेट ४० सेकेण्डमा पूरा गरे । त्यस्तै सैनिक आवासीय विद्यालयका प्रवेश आचार्यले १७ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । कराँते खेलाडी (बागमारा डोजो)का सुमित सिग्देलले १८ मिनेट १६ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । छात्रा ५ किलोमिटर दौडमा छोरेपाटन माविकी नारायण भण्डारीले २५ मिनेट १ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् । एलपी देवकोटा स्कुलकी मेनुका अधिकारी दोस्रो भइन् ।
उनले २५ मिनेट ५३.४० सेकेण्डमा पूरा गरेकी थिइन् । इन्द्रराज्य लक्ष्मी माविकी आइतीमाया गुरुङ तेस्रो भइन् । उनले २७ मिनेट १६.६३ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् । चौथो स्थानमा ज्ञानज्योति विद्याकुन्जकी पल्लवी नेपाली, पाँचौ स्थान सैनिककी जस्तिना गुरुङले प्राप्त गरिन् । विजेता छात्र तथा छात्रा धावकले क्रमशः १५, १०, ५ , ३ र २ हजार रुपैयाँ प्राप्त गरे । महानगरले छैटौंदेखि १० औंस्थानसम्म आउने धावकहरुलाई नगद १ हजार रुपैयाँबाट पुरस्कृत गरेको थियो ।
मेयर जाँदा पनि खुलेन पोखरा रंगशालाको एथेलेक्टिस ट्रयाकको ढोका !
पोखरा महानगरपालिका खेलकुद विकास समिति र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिबीच समन्वय नहुँदा दौडमा सहभागी भएका खेलाडी १ घण्टा अलपत्र परेका थिए । दौडका लागि बिहानै पोखरा रंगशाला पुगेका धावकहरु झण्डै एक घण्टा रोकिएका हुन् । पोखरा रंगशालाभित्रको एथलेटिक्स ट्रयाक छिर्ने मुलगेटको ताला नखुलेपछि दौड सडकबाटै सुरु गरिएको हो । ‘सबै व्यवस्थापन अघिल्लो दिन गरिएको थियो’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने,‘बिहान आउँदा सबै खेलाडी भित्र प्रवेश गर्नै पाएनन् ।’ मुलगेटको ताल्चा नखुलेपछि दौडको उदघाटन गर्न पुगेका मेयर धनराज आचार्य तथा उपमेयर मन्जुदेवी गुरुङ एकघण्टा बहुउद्देश्यीय कभर्ड हल अगाडि नै प्रतीक्षामा बसेका थिए । ताला नखुलेपछि कभर्ड अगाडिबाटै दौड सुरु गरिएको थियो ।
ट्रयाकबाट दौड सुरु गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई पत्राचार गरिएको थियो । पत्रचारपछि सबै सामानसहित साउण्ड सिष्टम सबै सेट भइसकेको थियो । तर बिहानपख मुलगेटको ताला नखुलेपछि बाहिरबाटै दौड सुरु गरिएको उनको भनाइ थियो । ‘प्रतियोगिता आयोजना गर्दा खेलाडीले दौडिन पाउँदैनन्’,उनले भने,‘ तर। शुल्क लिएर निजी क्षेत्रलाई भने तुरुन्तै ट्रयाक उपलब्ध गराइन्छ ।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले आफुहरुसँग मुल गेटको चाबी नभएको बताए ।
उनले ट्रयाकमा प्रशिक्षण गर्न आउनेहरु छिर्ने गेटको चाबी भएपनि निमार्ण कम्पनीले मुल गेटको चाबी नबुझाएको बताए । उनका अनुसार निमार्ण कम्पनीका ठेकेदारले फोन नउठाउँदा समस्या आइपरेको हो । बिहान फोन गर्दा नउठेको र पोखरा महानगरपालिका खेलकुद विकास समिति अर्थात् प्रतियोगिता आयोजकका केही व्यक्तिले फुटबल मैदानको काम गर्ने कर्मचारीलाई सुरुमै थर्काएको कारण उनीहरु रिसाएको तर्क उनको थियो । ‘हामीलाई रंगशाला हस्तान्तरण भएकै छैन् त कहाँ चाबी हुन्छ ? हामीले समन्वयकारी भूमिका खेल्ने हो । त्यो हामीले ग¥र्यौं’। उनले भने,‘ठेकेदारले फोन उठाएन त कसरी खोल्न मिल्छ गेट ? हामीसँग मुल गेटबाहेक दर्शक प्रवेश गर्ने एक–दुईवटा गेटको चाबी छ, त्यो हामीले दिएकै छौँ ।’





