आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वर्षाले क्रिकेट प्रभावित, पुलिस ६३ रनले विजयी

वर्षाले क्रिकेट प्रभावित, पुलिस ६३ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७९, मंगलबार

पोखरा/ नवौँ राष्ट्रिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सोमबारका खेलमा वर्षा बाधक बनेको छ । वर्षाका कारण २० बाट १६ ओभरमा घटाइएको खेलमा पुलिसले डिएल मेथड अनुसार ६३ रनले जित हासिल गर्दै २ अंक जोड्न सफल भएको हो ।

समूह ‘बी’ मा रहेको पुलिसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १०.२ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यतिन्जेल कर्णालीले ७ विकेट गुमाउँदै १७ रन मात्र बनाउन सफल भएको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शुन्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रनको योगफल तयार पारेको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामीले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् । महिला क्रिकेटमा पुलिसको यो डेब्यु खेल हो । समूह बी मा रहेको पुलिसले डेब्यु खेलमै जित हात पार्दै शीर्षस्थानमा रहन सफल भएको हो ।

यस्तै प्रदेश–१ तथा लुम्बिनी प्रदेशबीचको खेल निरन्तरको वर्षाको कारण रद्द भएपछि अंक बाँडेका छन् । टससमेत नभइ खेल रद्द भए पश्चात दुवै टोलीले अंक बाडेका हुन् । योसँगै समूह बी को दोस्रो स्थानमा लुम्बिनी, तेस्रोमा प्रदेश–१ तथा कर्णाली प्रदेश पुछारमा रहेको छ । समूह ‘ए’ को शीर्षस्थानमा मधेश प्रदेश रहेको छ । गण्डकीलाई ४० रनले हराउँदै २ अंकका साथ मधेश शीर्षस्थानमा रहन सफल रहेको हो । यस्तै सुदुरपश्चिमलाई ८ विकेटले हराएको बागमति प्रदेश समान अंक रहेपनि दोस्रो स्थानमा रहेको छ । अंकविहिन गण्डकी तेस्रो तथा अंक विहीन रहेको सुदूरपश्चिम पुछारमा छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->