पोखरा/ नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा अर्को स्वर्ण थपेको छ । सोमबारको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए ।
टीकामायाले स्न्याचमा ६० र क्लिन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार वहन गर्दै स्वर्ण जित्न सफल भएकी नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । नेपाली सेनाकी प्रभा थारुले न्याचमा ५८ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कास्य जितेकी छिन् ।
उनले स्न्याचतर्फ ५६ र क्लिन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाइन्। उनी प्रभाको तुलनामा १ केजी मात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन् । प्रतियोगितामा १२ जना खेलाडीले भाग लिएका थिए ।
पोखरा उद्योग वाणिज्य सङ्घमा भएको प्रतियोगितामा सोमबार ४ स्वर्णको छिनोफानो हुनेछ । सोमबार नै महिला ५९, पुरुष ६७ र ७३ केजी तौल समूहका खेल हुनेछन् । कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०र१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ ।
उद्घाटनको दिन पुलिसका मुई लामाले भारोत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरेका थिए। उनले ६१ केजी तौल समूहमा भएको स्पर्धामा स्न्याचमा ९६ केजी भार उठाएर सेनाका तुलाराम महताको रेकर्ड तोडेका हुन् । लामाले क्लिन एण्ड जर्कमा ११६ सहित कुल २१२ केजी तौल उठाउँदै स्वर्ण जिते ।
रजत जितेका नेपाली सेनाका राजु चौधरीले क्लिन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे । उनको नाममा १२० केजी रहेकोमा आइतबारको स्पर्धामा १२१ केजी तौल उठाएर रेकर्ड ब्रेक गरे । उनले स्न्याचतर्फ ८७ केजीसहित कुल २०८ केजी भार उठाए ।
यसअघि महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी सङ्गीता राई, पुरुष ५५ केजी तौल समूहमा सेनाका तुलाराम महतो र महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले स्वर्ण जितिसकेका छन् ।





