पोखरा/ माओवादी कार्यकर्ताहरु भन्ने गर्छन्,‘हाम्रा सिएमसँग हाँस्दाहाँस्दै रोएको र रुँदारुँदै हाँसेको अनुभूतिका अनेकौं किस्साहरु छन् ।’ प्रचण्ड स्वयंले पनि त्यस्तो परिस्थितिबारे बेलाबेला बोल्ने गरेकै छन् ।
माओवादीहरु नै थप्छन्,‘विषम परिस्थितिमा सम्हालिन सक्ने र नयाँ ‘मुभ’बारे सोचिहाल्ने अध्यक्षको बानी छ ।’
भूमिगत र सशस्त्र द्वन्द्वका कुरा छाडौं, खुला राजनीतिमा आएपछि पनि प्रचण्डले त्यस्तो स्वभाव देखाउँदै आएका छन् । अप्ठेरो पर्दा सम्हालिने, सम्झौता गर्ने र नयाँ रणनीतिसाथ अगाडि बढ्ने स्वभावकै कारण उनी राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । २०७० सालमा खुम्चिएको माओवादीलाई बौराएर २०७४ सालयता संसदीय अंकगणितमा ‘महत्वपूर्ण शक्ति’ बनाउनुमा उनको त्यही स्वभावले काम गर्दै आएको छ । उनी अहिले पनि नेपाली राजनीतिको केन्द्रमा छन् ।
मंसिर ४ गतेको चुनावपछि जुनसुकै बेलापनि प्रधानमन्त्री बन्ने सम्भावना बोकेका यी नेता अहिले चर्चाको शिखरमा छन् । कारण,भर्खरै चितवनमा बनाएको ‘नयाँघर’मा सुत्न छाडेर प्रचण्ड चुनावी प्रतिस्पर्धाको लागि गोरखा उक्लिएका छन् । कुनैबेला सामन्तवादको किल्ला देख्ने गोरखा दरबारको भ्रमण गरेका छन् । प्रचण्डको ‘मुभ’लाई छोरी रेणुले ‘स्तब्ध,चितवनवासीको लागि दुर्भाग्य !’ भनेपनि स्वयं प्रचण्ड भने गोरखाबाट सुरक्षित र इतिहास बनाउने दाउमा देखिएका छन् ।
गएको वैशाखमा सम्पन्न स्थानीय चुनावमा ५ दलीय गठबन्धन एकातिर र एमाले अर्को कित्तामा उभिए । तर, गोरखाको हकमा भने गठबन्धनले काम गरेन । माओवादी केन्द्रले जनयुद्धको उद्गमस्थलमा बढी भाग खोज्ने,अघिल्लो निर्वाचन परिणामको आधारमा बलियो देखिएको नेपाली कांग्रेस छाड्न नमान्ने !
अन्ततः त्यहाँ त्रिपक्षीय प्रतिस्पर्धाको वातावरण बन्यो । बाजी माओवादीले मा¥यो । माओवादी २ नगरपालिकासहित ९ स्थानीय तह प्रमुखमा विजयी हुँदा २०७४ सालमा ९ पालिकाको नेतृत्व गरेको कांग्रेस २ पालिका प्रमुखमा समेटियो । त्यो चुनावको झल्को नमेटिँदै मंसिर ४ को संघीय र प्रदेश चुनावले गोरखालाई छपक्कै छोपेको छ । पाँच दलीय गठबन्धन भत्केको छैन, उत्साहित माओवादी कार्यकर्ताको मनोवल झन चुलिएको छ । कारण,गोरखा क्षेत्र नम्बर २ रोजेका अध्यक्ष प्रचण्डलाई उनलाई पूर्वमाओवादी नेता डाक्टर बाबुराम भट्टराईले साथ जो दिएका छन् !
२०७४ सालको संघीय चुनावका प्रतिस्पर्धी तथा पूर्वसहकर्मी डा.भट्टराई र हालका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ लगाएर प्रचण्ड गोरखा उक्लिनुको अर्थ उनी त्यहाँ ‘सुरक्षित’ छन् । २०७४ सालको चुनावमा कांग्रेसको साथ पाएर नारायणकाजीलाई ६ हजार ८०७ मतान्तरले हराएका बाबुराम त भइहाले, कांग्रेस पनि अहिले प्रचण्डकै साथमा छ । गोरखा–२ मा ६० हजार ११७ मत खसेकामा डा. भट्टराईको पक्षमा ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए । सत्य के हो भने, श्रेष्ठको भागमा एमालेको मत पनि मिसिएको छ । त्यसअघिको २ चुनावमा डा. भट्टराई सो क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका थिए ।
गोरखा २ मा प्रचण्डसहित ११ जना चुनावी मैदानमा छन् । एमालेले केही समयअघि पार्टी प्रवेश गरेका २९ वर्षीय अब्दुस सलाम मियादेखि नेपाली कांग्रेस बीपीका ९९वर्षीय टीकादत्त पोखरेलसम्मको उम्मेदवारीले प्रचण्डलाई खासै फरक नपर्ने आँकलन गरिएको छ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका प्रचण्डको गोरखा २ आवागमनले उत्साहित माओवादी र बलियो शक्ति एमाले तथा बाबुरामको साथले त्यहाँ प्रचण्ड साँच्चिकै बलिया देखिएका छन् ।
गोखराको क्षेत्र नम्बर २ मा गोरखा नगरपालिकाका ८ देखि १४ वडा तथा पालुङटार,सिरानचोक,सुलीकोट र अजिरकोट गाउँपालिका पर्छन् ।वैशाखमा सम्पन्न स्थानीय चुनावमा गोरखा नगरपालिका वडा नम्बर ८ मा माओवादीले ७१९,कांग्रेस ७२२ एमाले ३२४ र जनता समाजवादीको २५९ मत आएको थियो भने वडा नम्बर ९ मा कांग्रेस ६०१,माओवादी ५४६,जसपा २९९ र एमाले १२६ मत रहेको थियो । यस्तै १० नम्बर वडामा कांग्रेसले ८६४,एमालेले ५१५ र जसपाले २१० मत प्राप्त गरेको थियो ।
वडा नम्बर ११ मा माओवादी ३९०,एमाले ३७०, कांग्रेस ३६९ र जसपा ३०२ मतको हिस्सेदार बन्दा वडा नम्बर १२ मा कांग्रेसको ७९३,माओवादीको ६४३ र एमाले को ४९ मत आएको थियो । त्यस्तै,वडा नम्बर १३ मा कांग्रेसको ६३२,जसपाको ६२८ र एमालेको १८९ मत थियो भने वडा नम्बर १४ मा माओवादीको ६७७,कांग्रेसको ३१३ र एमालेको २३५ मत थियो । जनता समाजवादीको मत गठबन्धनकै पक्षमा आउँछ भन्ने मान्ने हो भने यहाँ प्रचण्डको पक्षमा ८ हजार ९६७ मत रहेको छ । स्थानीय निर्वाचनको मत परिणामले यहाँ एमालेको पक्षमा १ हजार ८३८ मतमात्रै भएको देखाएको छ ।
सो क्षेत्रमा रहेका पालिकामध्ये अजिरकोटको अध्यक्षमा माओवादीका दीपक देवकोटा विजयी भएका छन् । उनको पक्षमा ३ हजार ३ हजार ७८७,प्रतिस्पर्धीहरु कांग्रेस गोविन्दबहादुर गुरुङलाई ३ हजार २८९ र एमालेकी गीताकुमारी योगीलाई ३५५ मत खसेको थियो ।
सिरानचोकमा कांग्रेसका ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतसहित विजयी हुँदा माओवादीका नवराज पुडासैनीले ४ हजार १६८ र एमालेका देवराज श्रेष्ठले १ हजार ५४५ मत ल्याएका थिए भने बारपाक सुलीकोटमा माओवादीका विष्णुप्रसाद भट्टले ५७१९ र कांग्रेसका जीतबहादुर घले ४ हजार ५७५ मत ल्याउँदा एमालेका हरिबहादुर बस्नेतले ५२२ मत ल्याएका थिए । यता,बाबुरामको गृहक्षेत्रमा रहेको पालुङटारमा माओवादीका अध्यक्ष विवस चिन्तन ६ हजार ७२ मत ल्याउँदा जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ र कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९१७ मत आएको थियो । ती सबै ठाउँको मत जोड्ने हो भने सत्ता गठबन्धनको पक्षमा ४० हजार ६८६ मत हुन आउँछ ।
यो हिसाबले सत्ता गठबन्धनको पक्षमा करिब ५० हजार मत देखिएपनि पालुङटारमा एमालेको सहयोग माओवादीलाई नै थियो भने साना दलहरुले पनि केही मात्रामा मत प्राप्त गरेका थिए । प्रचण्ड यो पटक गोरखाबाट सर्वाधिक मतान्तरसहित विजयी हुन चाहन्छन् । २०६४ सालको निर्वाचनमा सोही क्षेत्रबाट डा.भट्टराईले सर्वाधिक मतान्तरसहित निर्वाचित भएको इतिहास बदल्ने उनको चाहना छिपेको छैन । २०७४ सालको निर्वाचनमा दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङले कायम गरेको ३० हजार १५३ मतान्तरको रेकर्ड राखेका थिए । अहिले पार्वत मैदान बाहिर छन् ।
स्थानीय चुनावमा स्थानीय मुद्दा र व्यक्तिको प्रभावले काम गर्छ । संसदीय निर्वाचन त्योभन्दा फरक हुन्छ । यसरी हेर्दा सत्ता गबठन्धन बलियो देखिएपनि हिजोका सबै मत त्यहीँ खस्छ भन्ने ग्यारेण्टी भने हुँदैन । कांग्रेसका असन्तुष्टहरुको मत तान्ने आँकलन गरिएका बीपी कांग्रेसका टीकादत्त र भर्भराउँदा युवा अब्दुस प्रचण्डको चाहनामा चुनौती बन्नसक्छन् ।





