स्याङ्जा/ बुथ कब्जा गरेको आरोप सहित पुनः मतदानको माग गर्ने एमाले अडानका कारण स्याङजा २ को मतगणना हालसम्म पनि सुरु हुन सकेको छैन । निर्वाचन आयोगले पनि उक्त आरोपबारेमा कुनै निर्णय लिइसकेको छैन । आयोगले छानविन भइरहेको बताएको छ । बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बोलाइएतापनि बैठक भने बस्न सकेन ।
कांग्रेस उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की सचिव पद्मा अर्याल प्रतिस्पर्धामा रहेको स्याङजा २ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अहिलेसम्म पनि सुचारु हुन नसकेको हो ।
स्याङ्जा २ मा एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उमेदवारहरुले बुथ कब्जा गरिएको आरोप लगाएका छन् । एमालेका उमेदवारहरुले नामावलीसहित नै विज्ञप्ति जारी गर्दै फर्जी मत खसाइएको दाबी गरेका छन् ।
यता कांग्रेसले भने मतगणना कार्यलाई अगाडि बढाउन दबाब दिएको छ । मतगणनाको लागि कांग्रेसका कार्यकर्ताहरुले दिनहुँ नाराबाजी गर्ने गरेका छन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सबै मतपेटिकाहरु ल्याइएको छ ।
कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको एमालेले आरोप लगाएको छ । त्यहाँ पुनः मतदान गर्नुपर्ने उसको अडान छ । एमालेले फर्जी नामबाट मतदान गरेको, विदेशमा रहेका र मृतक व्यक्तिको नामबाट पनि बुथ कब्जा गरेर मतदान गरेको हुँदा पुनमतदानको माग गरिरहेको हो ।
एमालेका उमेदवार पद्या अर्यालसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टीकाकराज गुरुङले पनि पुन मतदान गर्नुपर्ने बताएका छन । तर, कांग्रेसले भने एमालेले लगाएको आरोपको खण्डन गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले हालसम्म कुनै निर्णय नभएको बताए । ‘केही निर्णय भएको छैन, छानविन हुँदैछ’, उनले भने ।




