पोखरा/ एमालेभित्र ढिलो अवसर पाउने नेतामध्ये गनिन्छन्–स्याङ्जाका सुधीरकुमार पौडेल । लामो विद्यार्थी आन्दोलनको विरासतले उनलाई राजकीय पद दिलाएन । स्वयं सुधीर पनि पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी राजनीतिमैै लामो समय भुलिरहे । विद्यार्थी राजनीतिमा अब्बल भएपनि उनले पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बन्ने अवसर पाएनन् । उनीभन्दा ‘जुनियर’ले स्ववियू सभापतिमा बाजी मार्दा सुधीर हेरेकोहे¥यै भए । कोषाध्यक्षभन्दा माथि गएनन् ।
त्यसो त,स्वयंको निर्णयले पनि उनी अगाडि बढ्नबाट रोकिए । २०५४ सालमा एमाले विभाजित हुँदा सुधीर मालेतर्फ लागे । अग्रज विद्यार्थी नेता रवीन्द्र अधिकारी माले अखिलको केन्द्रीय अध्यक्ष हुँदा कास्कीमा सुधीरको बोलाबाला थियो । सहकर्मीले विद्यार्थी हुँदै आर्थिक हैसियत बढाए पनि माले अखिलका केन्द्रीय सदस्य सुधीर अपवाद बने । तत्कालीन शाहज्याद पारसविरुद्ध हस्ताक्षर संकलन एवं विद्यार्थीलाई सार्वजनिक सवारीमा ३३ प्रतिशत छुट कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका खेलेको माले अखिललाई ‘चन्दा’ दिने शैक्षिक संस्थाको कमी थिएन ।
तर, सुधीरले त्यता ध्यान दिएनन्÷सकेनन् । पार्टी एकतापछि पनि सुधीरको हैसियत बदलिएन । बरु,उनी भूगोलको राजनीति गर्न जन्मथलो स्याङ्जा हानिए । एमालेको नवौं महाधिवेशनमार्फत् जिल्ला सचिवको भूमिकामा आए । जिल्ला जाँदा माले पृष्ठभूमिकै नेतृ पद्मा अर्यालको साथ पाए । विद्यार्थी राजनीतिमा आफूभन्दा जुनियरहरु सांसद भइसक्दा सुधीरले २०७४ को स्थानीय चुनावमा आँधीखोला गाउँपालिका अध्यक्षको टिकट पाए । प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ३ हजार ८६ मत पाउँदा सुधीरले ५ हजार ४१ मत प्राप्त गरे ।
एमालेको १० औं अधिवेशनमा सुधीर स्याङ्जा अध्यक्षको दावेदार थिए । तर, नेतृ पद्मा अर्यालले माओवादी केन्द्रबाट आएका सूर्यप्रकाश गैरे ‘पारस’ रोजपछि उनी पछाडि हटे । पारसले एमालेका पुराना नेता नारायणप्रसाद मरासिनीलाई पराजित गरे । सुधीरको राजनीति के हुन्छ ? कौतुहल थियो । एमालेभित्रबाटै एक्लै हिँडेको, घमण्डी बनेकोजस्ता आरोप लगाइएको थियो । अन्तिममा उनले एमालेबाट स्याङ्जा क्षेत्र नम्बर १ को ‘ख’ तर्फको टिकट पाए । प्रतिस्पर्धी थिए, कांग्रेसका बुद्धिकुमार राना ‘कुमार’ ।
प्रतिस्पर्धा यति चर्को भयो कि, सुधीर दोस्रोपटक जनप्रतिनिधि बन्नबाट बालबाल बाँचे । उनी मात्र ६ मतको अन्तरले विजयी भएका छन् । सुधीरले १७ हजार ४४१ मत पाउँदा कुमारले १७ हजार ४३५ मत प्राप्त गरेका छन् । यो मतान्तर गण्डकी प्रदेशको सबैभन्दा कम हो । यसअघि २०७४ सालको चुनावमा तनुहँ क्षेत्र नम्बर २ को ‘ख’ मा कांग्रेस नेता प्रदीप पौडेल माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग जम्मा ४ मतले पराजित भएका थिए । कोइरालाले १६ हजार ६४६ मत ल्याउँदा पौडेलले १६ हजार ६४१ मत ल्याएका थिए । प्रदीप यो पटक काठमाडौं ५ बाट संघीय सांसदमा विजयी भएका छन् ।
सुधीरले प्रदेशको चुनाव जित्दा संघतर्फ भने कांग्रेसका राजु थापा विजयी बनेका छन् । राजुले प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २५५ मतले पराजित गरेका हुन् । राजुले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे । २०७० सालमा राजुले मरासिनीलाई पराजित गरेका थिए भने २०७४ सालमा मरासिनीले हारको बदला लिँदै सिंहदरबार यात्रा तय गरेका थिए । यो चुनावमा भने पुनः थापाले बाजी मारेका छन् । एमाले जिल्ला अध्यक्षबाट बञ्चित मरासिनी दोस्रोपटक सिंहदरबार प्रवेशबाट रोकिएका छन् ।




