पोखरा/ १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर र जुनियरतर्फ फुटबल प्रतिस्पर्धा सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिटअन्तर्गत बुधबारबाट फुटबलका प्रतिस्पर्धाहरु सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा जुनियर फुटबलतर्फ ५६ टिम र सिनियर फुटबलतर्फ ६९ टिमको सहभागिता रहेको छ ।
सम्पन्न प्रतियोगितामा सिनियर तर्फ गौरी शंकर खेल मैदानमा सम्पन्न पोखरा लनर्सले नेपाल आदर्श विद्यालयलाई ५–४ ले, हिल पोइन्टले इडेनलाई ३–१ ले, हिमाञ्चलले न्यू मोडललाई २–० ले, ग्लोबलले बेसलाइन एकेडेमीलाई ३–२ ले र भ्यू पोइन्टले केल्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी सिनियरतर्फ नै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा युनाइटेडले रिभरडेललाई ३–० ले, बाल विद्याले लेखनाथ विभूतिलाई ३–२ ले, सरस्वतीले फेवा पब्लिकलाई १–० ले, विद्या निकेतनले भाष्करलाई ५–१ ले, गोल्डेन नेचरले सूर्योदयलाई २–० ले पराजित गर्न सफल भएका छन् ।
प्रतियोगिता छात्र जुनियरतर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा टप्स, शिसु कल्याण, मेट्रो पोलिटान, बेसलाइन र पोखरा एकेडेमीले आ–आफ्नो खेलमा विजयी बन्न सफल भए । त्यस्तै नेपाल आदर्श खेल मैदानमा सञ्चालन भएको खेलमा एक्स आर्मी, मनकामना, सरस्वती, गोल्डेन नेचर र इडेन्स माविले पहिलो चरणमा जित हासिल गरेका छन् । १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यही मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।





