पोखरा/ फिफा विश्वकपको २२औं संस्करण उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच भिडन्त हुँदैछ ।
कतारमा जारी विश्वकपमा फ्रान्स लगातार च्याम्पियन बन्ने दाउमा रहेको छ भने अर्जेन्टिनाले ३६ वर्षपछि च्याम्पियन बन्ने दाउमा रहेको छ । यो खेललाई निकै महत्वपूर्णका साथमा समेत हेरिएको छ । यो फाइनल सर्वकालिन महान् खेलाडीको रुपमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको अन्तिम विश्वकप समेत हो । विश्व फुटबलमा महान खेलाडीको सूचिमा रहेपनि मेस्सीले आजसम्म विश्वकप जित्न सकेका छैनन् । त्यसैले पनि यो खेललाई बढी महत्वका साथ हेरिएको छ ।
अर्जेन्टिनाले पछिल्लो समय राम्रो लय समातेको छ । यस अघि सेमिफाइनलमा साविक उपविजेता क्रोयसियालाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । उता फ्रान्सले पनि सेमिफाइनलमा निकै लयमा रहेको मोरक्कोलाई २–० ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो ।
विश्वकपको फाइनलमा यि दुई टोलीको पहिलो तथा समग्रमा चौथो भेट हुनेछ । यसअघि यि दुई टोलीले समूह चरणमा दुई पटक तथा एक पटक अन्तिम १६ मा प्रतिस्पर्धा गरेको थियो ।
सन् १९३० मा भएको विश्वकपको समूह चरणमा अर्जेन्टिना १–० ले विजयी भएको थियो । त्यसपछि १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमै २–१ को जित निकालेको थियो ।
चार वर्षअघिको विश्वकपमा फ्रान्सले प्रि–क्वाटरफाइनलमा ४–३ को जित निकालेको थियो । यी दुई टोली हालसम्म १२ पटक भेट भएको छ । जसमा अर्जेन्टिना ६ खेलमा विजयी हुँदा फ्रान्स ३ खेलमा विजयी भएको छ । ३ खेल बराबरीमा सकिएको छ । दुवै टोली तिन पटकको विजेता बन्ने होडमा हुनेछन् । दुवै टोलीले दुई/दुई पटक विश्वकप जितेका छन् । फ्रान्सले चार वर्षअघि अर्थात २०१८ मा विश्वकप जितेको थियो । फ्रान्सले १९९८ मा पहिलो पटक विश्वकप जितेको थियो ।
उता अर्जेन्टिना भने ३६ वर्षदेखी विश्वकपको उपाधि उचाल्न सकिरहेको छैन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकपको उपाधि उचालेको थियो ।
एकै क्लबका तर परस्पर विरोधी फरवार्ड
जारी विश्वकपको फाइनलमा सबैको ध्यान विशेषगरी चार खेलाडीमा हुनेछ । जसमा दुई खेलाडी अर्जेन्टिना तथा दुई खेलाडी फ्रान्सका रहेका छन् । यसमा रोचक के छ भने दुवै टोलीका सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सी र एम्बाप्पेको नाम छ । दुवैले समान पाँच÷पाँच गोल गरेका छन् । यी दुवै फरवार्ड पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड हुन् । फाइनल खेलमा प्रभाव पार्ने खेलाडीको पहिलो नम्बरमा समेत यिनै दुईको नाम अघि छ । यि बाहेक खेलमा प्रभाव पार्न सक्ने अन्य दुई खेलाडी समेत रहेका छन् ।
मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनी कप्तान लियोनल मेस्सी उत्कृष्ट खेलाडी हुन् । जारी विश्वकपमा उनले पाँच गोल गर्दा ३ गोल असिस्ट दिएका छन् । ३५ वर्षीय फरवार्ड मेस्सीको यो अन्तिम विश्वकप समेत हो । लेफ्ट साइडबाट खेल्ने मेस्सी फाइनलमा गोलगर्दै गोल्डेन बुटको हकदार बन्ने योजनामासमेत हुनेछन् ।
एम्बाप्पे (फ्रान्स)
फ्रान्सका फरवार्ड एम्बाप्पे पनि उत्कृष्ट खेलाडी हुन् । जारी विश्वकपमा उनले पाँच गोल गर्दा २ असिस्ट दिएका छन् । राइट साइडबाट खेल्ने २४ वर्षिय युवा खेलाडी एम्बाप्पेले खेलमा गोल गर्दै गोल्डेन बुट हात पार्ने दाउमा रहने छन् ।
गिरुड (फ्रान्स)
फ्रान्सका फरवार्ड ओलिभिर गिरुड फाइनलमा प्रभाव पार्ने खेलाडी हुन् । जारी विश्वकपमा चार गोल गर्दै एम्बाप्पे र मेस्सीलाई पछ्याइरहेका उनले फाइनलमा समेत प्रभाव पार्नसक्नेछन् । ३६ वर्षिय खेलाडी लेफ्ट साइडबाट खेल्ने उनी पनि गोल्डेन बुटको पछिपछि लागेका छन् ।
एल्भारेज
अर्जेन्टिनाका राइट साइडबाट खेल्ने जुलियन एल्भारेज पनि गोल्डेन बुटकै दाबेदार मध्येका खेलाडी हुन् । २२ वर्षिय युवा फरवार्ड एल्भारेजको पनि जारी विश्वकपमा चार गोल रहेको छ । उनी फाइलनमा प्रभाव पार्न सक्ने खेलाडी मध्यमै पर्छन् ।





