मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनी कप्तान लिओनेल मेस्सी विश्वकप २०२२ मा सबैभन्दा चर्चामा आएका खेलाडी हुन् । उनी चर्चामा मात्रै आएनन्, विश्वकपकै सर्वोत्कृष्ट खेलाडी समेत बने । त्यतिमात्र होइन,देश च्याम्पियन बन्दा उनी सर्वकालीन महान खेलाडी समेत बनेका छन् ।
कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् ।
फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवैविरुद्ध १ गोल र १ असिस्ट दिए । फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोहो¥याएका थिए ।
एम्बाप्पे (फ्रान्स)
फ्रान्सका युवा फरवार्ड किलीयन एम्बाप्पे जारी विश्वकपमा निकै चर्चामा रहे । विश्वकपमा मेस्सीलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बनेको उनले समग्रमा ८ गोल गरे । २४ वर्षीय फरवार्ड एम्बाप्पेले फाइनलमा २–० ले पछि परेको स्थितिमा टोलीलाई खेलमा फर्काएका थिए ।
फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ ।
मार्टिनेज (अर्जेन्टिना)
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेज फिफा विश्वकप २०२२ मा चर्चामा आए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भए ।
अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए । मार्टिनेजले विश्वकपको ७ खेलमा ३ क्लिनसिट राखेका थिए । यसबाहेक उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्ध टाइब्रेकरमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
विशेषगरी अष्ट्रेलियाविरुद्ध इन्ज्युरी समयमा र फ्रान्सविरुद्ध अतिरिक्त समयको इन्ज्युरी समयमा उनले गरेको बचाउले खेलको नतिजा अर्जेन्टिनाको पक्षमा बसेको थियो । मार्टिनेजले यसअघि अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । ३० वर्षीय उनी प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्दै आएका छन् ।
यासिन बोनोउ (गोलरक्षक मोरक्को)
मोरक्कोले इतिहासमै पहिलोपटक सेमिफाइनलमा स्थान बनाउँदा गोलकिपर यासिन बोनोउको महत्वपूर्ण भुमिका रह्यो ।अहिलेसम्म खेलेका पाँचमध्ये चार खेलमा क्लिन सिट राख्न सफल भएका ३१ वर्षीय बोनोउले एक गोल मात्र बेहोरेका छन, त्यो पनि आत्मधाती ।
समूह चरणमा क्यानाडाविरुद्ध मोरक्कोका नायफ अग्वार्डले आत्मघाती गोल गरेका थिए । सेभियाका बोनोउले अन्तिम १६ मा पूर्व विजेता स्पेनको दुई पेनाल्टी रोक्दै टोलीलाई ऐतिहासिक सफलता दिलाउन मद्दत गरेका थिए । उनले मेक्सिकोका लागि ४९ खेल खेलेका छन ।
नेयमार (ब्राजिल)
विश्वकपको सर्वाधि विजेता ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएपनि फरवार्ड नेयमार जुनियर भने चर्चामा आए । ब्राजिलका लिजेण्ड पेलेले राष्ट्रिय टोलीका लागि राखेको ७७ गोलको ‘आधिकारिक’ गोल गर्ने कीर्तिमानलाई बराबरी गर्दै उनी चर्चामा आए ।
फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाविरुद्धको क्वाटरफाइनलमा एक गोल गरेसँगै उनले पेलेको कीर्तिमानलाई बराबरी गरेका हुन् । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले यो कीर्तिमानलाई मान्यता दिएपनि ब्राजिल फुटबल महासंघ र पेलेले ९५ गोल गरेको दाबी छ ।
फिफाले दुई राष्ट्रबीचको खेल मात्रै गणना गर्छ र पेलेका केही गोलहरू क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा रहेको बताइएको छ । नेयमारले १२४ खेल खेल्दै ७७ अन्तर्राष्ट्रिय गोल गरेर पेलेको कीर्तिमान बराबरी गरेका हुन् ।
८२ वर्षीय पेलेले १९५७ देखि १९७१ सम्म ९२ खेलमा ७७ गोल गरेका थिए । ब्राजिलबाट सन् १९५८, १९६२ र १९७० मा तीनवटा विश्वकप जितेका पेले हाल साओ पाउलोको अस्पतालमा उपचाररत छन् ।
अतिरिक्त समयमा लम्बिएको खेलमा नेयमारकै गोलमा ब्राजिलले अग्रता लिएको थियो । तर, त्यो अग्रता ब्राजिलले जोगाउन सकेन । टाइब्रेकरमा ब्राजिल ४–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
लिभाकोभिक (क्रोयसिया)
विश्वकपमा तेस्रो स्थान हासिल गरेका क्रोयशियाका गोलरक्षक डोमिनिक लिभाकोभिक चर्चामा आएका खेलाडी हुन् । जारी विश्वकपमा क्रोयशियालाई सेमिफाइनलसम्मको यात्रा गराउनुमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका उनले प्रिक्वाटरफाइनलमा जापान विरुद्धा टाइब्रेकरमा उत्कृष्ट प्रदर्शनी गर्दै क्वाटरफाइनलमा प्रवेश गराएका थिए । क्वाटरफाइनलमा ब्राजिल विरुद्ध समेत उत्कृष्ट प्रदर्शनी गरेका उनले टाइब्रेकरमै उत्कृष्ट बचाउ गर्दै सेमिफाइनलमा प्रवेश गराएका थिए ।
चो ग्यू सुङ (दक्षिण कोरिया)
दक्षिण कोरियाली स्ट्राइकर चो ग्यू सुङ आफ्नो आकर्षक अनुहार र गोलस्कोरिङ क्षमताका कारण अनलाइन फ्यान फलोइङ थेग्नै नसक्ने स्थितिमा पुगेका छन् । टोलीलाई अन्तिम १६ मा पु¥याउन उनले महत्वपूर्ण मूमिका खेले । क्वाटरफाइनलमा ब्राजिलसंग हार व्यहोर्दै उनी बाहिरीएपनि विश्वकपमा उनी चर्चामा आए ।
२४ वर्षीय कोरियाली स्टारलाई घानाविरुद्धको खेलमा दुई गोल गर्नुअघिसम्म धेरैले याद गरेका थिएनन् । त्यसयता उनको इन्स्टाग्राम फलोअर्स २० हजारबाट बढेर १६ लाख पुगेको छ । अत्यधिक म्यासेज आउँदा उनले आफ्नो मोबाइल स्वीच अफ नै गर्नुपरेको थियो ।
उनी कतिसम्म लोकप्रिय भएका छन् भने बेञ्चमा बसिरहेको उनको भिडियो क्लिप नै सामाजिक सञ्जालमा ७३ लाख पटक शेयर भएको छ ।
ब्रुनो फर्नान्डेज (पोर्चुगल)
मिडफिल्डमा प्रभाशाली देखिएका पोर्चुगलका ब्रुनो फर्नान्डेजले दुई गोल गर्नुका साथै तीन गोलका लागि अवसर सिर्जना गर्दै चर्चामा आए ।
म्याचेस्टर युनाइटेडका फर्नान्डेजले समुह चरणमा उरुग्वेविरुद्ध दुई गोल गरेका थिए । उनले समुह चरणमा घानविरुद्ध जोआवो फेलिक्स र राफेल लियो तथा अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध गोन्सालो रामोसको गोलका लागि अवसर सिर्जना गरेका थिए । २८ वर्षीय फर्नान्डेजले पोर्चुगलका लागि ५२ खेलमा १३ गोल गरेका छन ।
रिचार्लिसन (ब्राजिल)
स्ट्राइकर रिचार्लिसन ब्राजिलको मुख्य हतियारको रुपमा देखा परे । क्वाटरफाइनलबाट ब्राजिलले हार व्यहोरेपनि विश्वकपमा उनको नाममा तीन गोल रह्यो । रिचार्लिसनले समूह चरणमा सर्बियाविरुद्ध दुई तथा अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध एक गोल गरेका थिए ।
टोटनहमबाट व्यवसायिक फुटबल खेल्ने २५ वर्षीय रिचार्लिसनले ब्राजिलका लागि ४१ खेलमा २० गोल गरेका छन ।
गोन्सालो रामोस (पोर्चुगल)
प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता देखाउन एक खेल नै काफी हुन्छ । यसको राम्रो उदाहरण हुन पोर्चुगलका २१ वर्षीय स्ट्राइकर गोन्सालो रामोस । उनले पहिलो रोजाइमा मैका पाएको खेलमै ह्याट्रिक गरेका थिए । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा मौका पाएका गोन्सालोले अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध ६–१ को प्रभावशाली जित निकाल्दा ह्याट्रिक पूरा गरेका हुन । उनले यही खेलमा राफेल गुरेरोको गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । कतार विश्वकप २०२२ मा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन ।
स्विट्जल्यान्डसँगको खेलअघि गोन्सालोले समूह चरणमा घाना र उरुग्वेविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मौका पाएका थिए । गोन्सालोले पोर्चुगलका लागि चार खेलमा चार गोल गरेका छन् ।





