पोखरा/ गण्डकी प्रदेश भलिबल संघको आयोजनामा बुधबारदेखी पोखरामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदैछ । पोखरा रंगशाला स्थित भलिबल कोर्टमा प्रतियोगिता हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले पुसमै हुने एनभिए कप र माघमा पोखरामै हुने टाइगरकपका लागि खेलाडी छनोट गर्ने उदेश्य रहेको बताए । उनले प्रतियोगिता चार दिनसम्म संचालन हुने जानकारी दिए ।
‘हामीले पहिलो पटक प्रतियोगिताको आयोजना गर्दै छौ । यो प्रतियोगिता गर्नुको उदेश्य भनेको गण्डकी प्रदेशको खेलाडी छनोट गर्नु हो’, उनले भने,‘गण्डकी प्रदेशका टोलटोलमा रहेका प्रतिभावान खेलाडीलाई बाहिर ल्याउने योजनामा हामी छौँ । गण्डकीको भलिबलमा उत्कृष्ट टिम बनाउनु हाम्रो कर्तव्य पनि हो ।’ उनका अनुसार प्रतियोगितामा प्रदेशका ११ मध्ये १० जिल्ला आउने निश्चित भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार तथा चौथो हुने २५ हजार रुपैयाँ पाउने उनले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले समान १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता संचालन गर्नका लागि करिब ३१ लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान रहेको प्रतियोगिता संयोजक रमेश रानाले जानकारी दिए । रानाका अनुसार प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, स्याङजा, नवलपुर, लमजुङ, तनहुँ र गोर्खाको सहभागिता रहेको छ । मनाङले अनुपस्थित जनाउँदा मुस्ताङको भने निर्णया आउन बाकिँ रहेको छ । प्रतियोगिताबाट बचत हुन आएको रकम गण्डकी प्रदेशको महिला तथा पुरुष भलिबल एकेडेमी स्थापनामा लगानी गर्ने उनले बताए । पुस ४ देखी १० गतेसम्म संचालन हुने प्रतियोगिताको टिकट क्वाटरफाइनलसम्म एक सय रुपैयाँ तथा सेमीफाइनल र फाइनलमा दुई सय रुपैयाँ तोकिएको छ ।





