धर्म संस्कृत शब्द हो । नेपाली भाषामा धर्म भन्नाले धारण भन्ने बुझिन्छ । अर्को अर्थमा अन्धकारलाई हटाएर ज्ञानरुपी प्रकाशले उज्यालो पारी चित्त शुद्ध पार्नु नै धर्म हो । हिन्दु धर्मका अद्येता, अनुयायी र धर्म ग्रन्थहरुमा धर्मलाई आध्यात्मिक विचारका रुपमा मानिन्छ । धर्मलाई निष्ठा र मनुष्यको सात्विक उत्थान गर्ने प्रमुख तत्वका रुपमा पनि लिइन्छ । पुराणहरुमा धर्मलाई प्रेम र भक्तियुक्त सेवा मानिन्छ । नेपाली समाजमा हिन्दु धर्मलाई पाँच ‘ग’ (गुरु, गाई, गायत्री, गंगा, गीता)मा आस्था राख्नु र तिनको उपासना गर्नु नै धर्म हो भनिन्छ । त्यसै गरी ‘धर्मो रक्षती रक्षितः’ भनेर धर्मको रक्षा गर्नुहोस् धर्मले तपाईको रक्षा गर्दछ । भनेर धर्मको परम् स्थान स्थापित गरिएको छ ।
हिन्दु धर्म परापुर्वकालदेखि अनुसरण गरिदै आएको धर्म हो । वैदिककालदेखि भनौ या ढुङ्गेयुगदेखि आजको अत्याधुनिक युगसम्म आइपुग्दा हिन्दु र हिन्दुत्वको वास्तविक सत्यले विश्वलाई आकर्षित गराएको छ । विगतमा भारत वर्षभित्रका भुभागहरुमा मात्र वैदिक सत्य सनातन धर्मको व्याख्या हुने गरेकोमा अहिले विश्वका कैयौं देशमा हिन्दु धर्म संस्कृतीका विषयमा चर्चा हुने गरेको छ र उल्लेख्य रुपमा अनुशरणसमेत हुने गरेको छ । अनन्त कालदेखि नेपाली समाज हिन्दु धर्मले देखाएको बाटोमा अभिप्रेरित थियो । नेपाली समाजमा हिन्दुत्वमाथी आक्रमण भई रहदा पाश्चात्य जगतका धेरै देशमा हिन्दु धर्मको चर्चा परिचर्चा हुने गरेको विभिन्न सञ्चार माध्यमबाट अवगत हुन्छ । नेपाली समाजमा जातिय मुद्दा उठाएर जातियताको आडमा कृश्चियन (ईसाइ) धर्मको विस्तार गरिएको पाइन्छ ।
नेपालीहरुले आफ्नो धर्मको विपरित अर्थ लगाएका छन् तर पाश्चात्य मुलका मानिसले हिन्दु र वैदिक धर्म संस्कृतिको रहस्य खोज्दै छन् । फलस्वरूप वैदिक संस्कार र संस्कृतिले व्यापकताको रुप लिदैछ । हिन्दु धर्मका मुल खम्बा बनेका गिता, वेद, पुराण, दर्शन, उपनिषद् र नीतिशास्त्रहरुले मानिसलाई जानअन्जानका गल्ती सच्याउने गरि मार्गनिर्देशन गर्दथे र गर्दै आएका पनि थिए । तिनै नीति र धार्मिक मान्यताअनुरूप समाजलाई हिंडाउने प्रयत्न पहिलेका ऋषिमहर्षिहरुले गर्दथे । समाजको न्यायीक हतियार पनि धार्मिक विधि र पद्धति नै थिए । नीति विपरित काम गर्ने मानिसलाई भगवानले दण्ड दिनुहुन्छ भनेर डर पैदा गरिन्थ्यो । जस्का कारण मानिसले नराम्रा काम र विचार परित्याग गर्दथे । फलतः समाज धर्म कै कारण सबल बन्ने गरेको थियो । तर अहिले विद्यमान समाजमा धार्मिक विधिविधान, तिनै नीतिशास्त्र र ऋषि वचनको बेवास्ता गर्दा समाज अस्थिर बनेको छ । समाजमा अन्याय, अत्याचार, चोरी, हत्या, हिंसा र बलात्कारका घटना हुने गरेका छन् ।
पहिले खराब कर्म गरे पाप लाग्छ भन्थे, पापको डरमा मानिसले नराम्रा काम गर्दैनथे । मानिसहरूले नीतिशास्त्र र धर्मानुसार आहारव्याहार गर्दथे । प्राकृतिक जडिबुटीको प्रयोग गर्दथे र निरोगी हुन्थ्ये तर अहिले धर्मविपरित काम गर्दै जादा समाजमा असंख्य समस्याहरू पैदा भएका छन् ।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको विनास कलियुगको अन्त्यमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरिएको पाइन्छ । भागवत महापुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको छ । करिब ५००० वर्षअघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन् ।
वेदव्यासले रचना गरेका चार मुख्य वेद र चार उपवेदसहित ८ ओटा वेद, १० ओटा प्रमुख उपनिषदसहित १०८ उपनिषद छन । १८ पुराणमध्ये कलियुगमा सर्वश्रेष्ठ मानिएको श्रीमद् भागवत् महापुराण हो । पुराणको द्वादशस्कन्धअन्तर्गत दोस्रो र तेस्रो अध्यायमा शुकदेव स्वामीका मुखारवृन्दबाट उच्चरीत यावत् भविष्यवाणीहरुले वर्तमानमा सत्यता प्रमाणित गरेका छन् । तिनै सत्यता र महान् वाणीहरुले वर्तमानमा प्रश्रय पाएका छन् । हिन्दु धर्मलाई अवैज्ञानिक भनि धर्म विरोधी निराधार प्रसङ्ग औलाएर सामाजिक विखण्डन गराउन खोज्ने धर्म परिवर्तनकारी तत्वहरुलाई यी महान् वाणीहरुले केही रहस्य र हिन्दु धर्मभित्रको वैज्ञानिकता स्पष्ट पार्छ । पहिलेका ऋषि महर्षिहरुले आफ्नो ज्ञान, ध्यान र तपस्याको प्रभावले भविष्यमा हुने घटनाहरूको वर्णन गर्थे । हो यस्तै भागवत महापुराण तथा अन्य नीति शास्त्रहरुमा गरिएका कलियुग सम्बद्ध भविष्यवाणीहरु छन्, जुन भविष्यवाणी र रहस्य सत्ययुगमा गरिएका थिए तिनै रहस्यहरुले कलियुगमा पुर्णता पाएका छन् । जो यस प्रकार छन् ।
‘ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया’
जब कलियुगको समयावधि थपिदै जानेछ तब समाजमा धर्म, सत्यता, स्वच्छता, सहिष्णुता र दया जस्ता सामाजिक मर्यादाका शक्तिहरु नष्ट भएर दिनानु दिन समाज कलङ्कित बन्नेछ भनेर भविष्यवाणी गरिएकोमा अहिले यथार्थ सावित भएको पाइन्छ । फलस्वरूप समाजमा न्याय र सत्यता विलयको लयमा अगाडि बढिरहेका छन् । यसयुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो र उत्तम वस्तु हुनेछ, मानिसको प्रतिष्ठा धनमा सिमित हुनेछ । ‘वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः’ धनबिनाको मानिसलाई कमजोर बनाइनेछ । ‘धर्मन्यायव्यवस्थायां कारणं बलमेव हि’ कानुन र न्याय, बल र धनमा पैचो लगाइनेछ । एक रथका दुई पाङ्ग्रा मानिएका स्त्री र पुरुष सामाजिक व्यवहार बिर्सिएर शारीरिक आकर्षणमा लिप्त हुनेछन् भनेर ‘दाम्पत्येऽभिरुचिर्हेतुर्मायैव व्यावहारिके’ यसरी सप्रमाण प्रस्तुत गरिएको थियो । फलस्वरूप मानिसको वर्तमान चरित्र पशुको जस्तो हिंस्रक देखिन थालेको छ ।
गाउँ र शहर चोर तथा फटाहहरुको नियन्त्रणमा रहनेछन् । नास्तिकहरुले वेदको गलत व्याख्या गरेर धर्मको मर्ममाथी बल प्रहार गर्नेछन् । नेताहरुले देश र जनताको अस्तित्व संकटमा पार्नेछन् । पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन् । आफ्नो जीविकोपार्जन राम्रो गर्न नसकेर आफैले आफैलाई निराशाको भुमरीमा डुलाएका दुखी मानिसहरुलाई समाजले हिनभावले हेर्नेछ र उस्को मर्यादामा प्रश्न उठाएर उस्लाई थप कमजोर बनाइनेछ ।
‘अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः’ जुन व्यक्ति बनावटी र दैचिउरे प्रवृत्ति अङ्गालेर बोल्न सक्छ, अनावश्यक रुपमा गफ हाँक्न सक्छ तिनै व्यक्तिलाई समाजले विद्वान ठान्नेछ भनेर गरिएको भविष्यवाणीले पनि वर्तमानमा सत्यता पाएको छ । समाजमा गरिब मानिसहरु अधर्मी मानिनेछन् । धनिले सम्पत्तिको आडमा धर्मलाई आफ्नो अस्तित्वमा लिनेछन् । ‘अनाढ्यतैवासाधुत्वे साधुत्वे दम्भ एव तु’ छल र कपटपुर्ण व्यवहारलाई सद्गुण मानेर सत्ता सम्हालिनेछ ।
मानिस लगायतका सजिव प्राणीहरुको मुल लक्ष्य सम्पन्नता हुनेछ, भनेर गरिएको भविष्यवाणी यस श्लोकले स्पष्ट पार्दछ । ‘उदरम्भरता स्वार्थः सत्यत्वे धाट्यमेव हि’ त्यसैगरी भुँडि भर्ने जीवको एक मात्र लक्ष्य हुनेछ र जो कठोर छ ऊ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्न सक्छ, ऊ नै विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ ।
यसैगरी समाजमा बस्ने मानिसहरूमा एक अर्कोमा र शत्रुताको वितृष्णाको भाव निकट हुनेछ । जस्ले गर्दा सामाजिक सद्भाव विग्रनेछ र समाज अनेकानेक समस्याको भागिदार बन्नेछ । ‘दाक्ष्यं कुटुम्बभरणं यशोऽर्थे धर्मसेवनम्’ उच्च पदमा हुनेहरु आफन्त इष्टमित्रको सेवामा तल्लीन हुनेछ । आफ्नाको रक्षा नै धर्म मानिनेछ । जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरुमध्ये जसले आफुलाई शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ । धर्मले जोगाएको नेपाली समाज धार्मिक अखण्डताको भुमरीमा फसेपछि कलियुगको
अन्त्य सम्ममाः–
‘आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम्’ प्राकृतिक असन्तुलन अतिवृष्टी, अनावृष्टी, अल्पवृष्टि र अनिकालका कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन् । ‘शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः’ खडेरीले गर्दा सबैकुरा नष्ट हुनेछन् । भने मानिसहरू हताहत मृत्युको शिकार बन्नेछन् । त्यसैगरी ‘अनावृष्ट्या विनङ्क्ष्यन्ति दुर्भिक्षकरपीडिताः’ मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन् । यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन् । जस्का कारण समाजमा विभिन्न किसिमका विसङ्गतीहरु उत्पन्न हुनेछन् र पृथ्वी विलयको लयमा अगाडि बढ्नेछ ।
यिनै विविध समस्याको चपेटामा परेको मानवको उच्चतम आयु ‘त्रिंशद्विशतिवर्षाणि परमायुः कलौ नृणाम्’ ५० बर्ष हुनेछ ।
जन्म र मरणको चक्र दीर्घकालीन समय नरहदा सामाजिक मर्यदा, रीतिरिवाज र परम्परा नष्ट हुनेछन् फलस्वरूप समाजमा नास्तिक प्रवृत्ति र धर्म परिवर्तनको खेलले प्रश्रय पाउनेछन् । ‘क्षीयमाणेषु देहेषु देहिनां कलिदोषतः’ कलियुगका मानिसहरुले कमजोर शरीर भएका वृद्ध आमाबुबाप्रती घृणा भाव प्रकट गर्नेछन् । जस्ले गर्दा वृद्दवृद्दाहरुका दैनिकी कालको पर्खाइमा रहनेछन् । ‘पतिं त्यक्ष्यन्ति निर्द्रव्यं भृत्या अप्यखिलोत्तमम्’ । साहुमहाजन एवं सरकारका कर्मचारी भनौ या कामदरहरुले धनको मुख ताक्ने छन् जब धन सकिदै जान्छ तब कामदारहरुको शत्रुताको भाव प्रकट गर्नेछन् ।
मानवीयताको क्रुरतापुर्ण व्यवहार प्रदर्शन गर्ने सामन्ती शासकहरुले धनको घमण्ड गर्ने छन् र पुस्तौदेखि कायम सम्बन्धहरुलाई माटोमा मिलाउने छन् । ‘धर्मं वक्ष्यन्त्यधर्मज्ञा अधिरुह्योत्तमासनम्’ संकारविहिन अधर्मी मानिसहरुको हातमा दान दक्षिणा गरिनेछ । जसलाइ धर्म, संस्कृति र परम्पराको बारेमा रतिभर ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ । र, धर्मको मर्म विपरीत कर्म गर्नेछन् । यस युगमा मानिसले थोरै थोरै रुपैयाँको लागि पनि वैमनस्यता गर्नेछन् । ‘कलौ काकिणिकेक्प्यर्थे विगृह्य त्यक्तसौहृदाः’ रुपैयाँका लागि गरिएका शत्रुता र क्रोधीपनले मानिसमा वैरभाव उत्पन्न हुनेछ । ‘त्यक्ष्यन्ति च प्रियान् प्राणान् हनिष्यन्ति स्वकानपि’ मानिसहरूले मित्रवत् सम्बन्धलाई त्याग्नेछन् र हिंस्रक प्रवृत्ति देखाउँदै आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन् । चार युगमध्येको चौथो युग यस कलियुगमा समाजका सामन्ती शोषकहरुको बोलवाला चल्नेछ । समाजमा रहेका धार्मिक तथा साँस्कृतिक मठमन्दिर, पाटिपौवा र सार्वजनिक सम्पत्तिमा चोर, फटाहा र दलालहरुले वर्चस्व जमाउने छन् । जो संग बल छ त्यसैको पञ्जामा समाज रहनेछ । सम्पन्न व्यक्तिले जे गर्यो त्यही धर्म मानिनेछ, जे बोल्यो त्यही न्याय र जे निर्देशन दिन्छ त्यही नै सामाजिक व्यवस्था भनेर मानिनेछ ।
यसरी चार युगको अन्तिम युगमा पुराणहरुको सार अठार पुराणमध्ये अन्तिम पुराण श्रीमद्भागवत महापुराणमा गरिएका यी विभिन्न भविष्यवाणीहरु यथार्थ र सत्य मानिएका छन् । समाजमा धर्म, न्याय, वंश परम्परा र रीतिरिवाजहरु माथी चारैतिरबाट आक्रमण हुनेछ । सत्यलाई असत्यले घेराबन्दी गर्नेछ । समाज एकछत्र हुने खानेको हुनेछ । हुँदा खानेहरुको अस्तित्व समाप्त हुनेछ । मानिसहरूले मित्रवत् सम्बन्धलाई धनसंग तुलना गर्नेछन् । समाज धनवालाको नियन्त्रणमा रहनेछ । धार्मिक कार्यहरू आडम्बरीपनको साक्षी बनाइनेछन् । संस्कारविहिन मानिसहरुलाई शुद्ध मानिनेछ । आफ्नो धर्म, संस्कृति र परम्पराको बलि चढाएर विदेशी संस्कृतिको नक्कल गरिनेछ र धर्मको मर्मविपरीत कर्म गर्नेलाई अभियन्ताको तक्मा लगाइनेछ । व्यापार व्यवसाय कालोबजारीमा डुब्नेछ । देशभक्त नागरिकलाई बन्दी बनाइनेछ र चोर तथा फटाहहरुले सरकारको कामकार्य नियन्त्रणमा लिनेछन् । देशको मुल कानुन र न्यायलाई, बल र धनसंग पैचो लगाइनेछ । आदि इत्यादि ।




