पोखरा/ सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहने भएको छ ।
बिहीबारदेखि पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको २२ औं संस्करणमा पुरस्कार राशीमा समेत वृद्धि भएको छ । प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत् जानकारी दिदैँ क्लबका अध्यक्ष सुरज गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको बताए ।
उनले सहारा एकेडेमी संचालनार्थ आयोजना हु्ँदै आइरहेको प्रतियोगितामा एक विदेशी, तिन विभागीय एक मोफसल र आयोजक गरि १० टिमको सहभागिता रहेको जानकारी दिए । सहारा क्लबबाट एकेडेमीका ६ खेलाडीले खेल्ने समेत उनको भनाइ थियो । प्रतियोगितामा साविक विजेता एपिएफ क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, संकटा क्लब, चर्च ब्वाइज युनाइटे क्लब, युएसएको भुटनिज युथ स्पोट्र्स क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लबको सहभागिता रहेको बताए ।
क्लबका महासचिव रामजी प्रसाद अधिकारीले यो वर्षको विजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख रुपैयाँ प्रदान गरिने जानकारी दिए । उनका अनुसार प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा १ लाख रुपेयाँ थप गरिएको हो । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई समान २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । फेयर प्ले टिमलाई १० हजार र सेमिफाइनल खेलसम्मका म्यान अफ दि म्याचलाई ८ हजार रुपैयाँ तथा फाइनल खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलिग इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगिताबाट एक करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी तथा एक करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पुस १४ देखि २३ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रिक्वाटर तथा क्वाटर तथा क्वाटर फाइनलको टिकट दुई सय, सेमिफाइनल चार सय र फाइनलको पाँच सय रुपैयाँ कायम गरिएको छ । सिजनल टिकट दुई हजार रुपैयाँ कायम गरिएको महासचिव अधिकारीले जानकारी दिए ।
सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्तलाई
यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कार अनन्त तामाङलाई प्रदान गरिने भएको छ । राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैया सहित सम्मानपत्रले सम्मान गरिने छ । यसअघि उक्त पुरस्कार बाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट सम्मानित भइसकेका छन् ।





