पोखरा/ स्पेनी क्लब कासेरेन्योले मैत्रीपूर्ण खेलमा गण्डकी ११ लाई ३–० गोलअन्तरले हराएको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै कासेरेन्योले सहज जित निकालेको हो । शान्तिका लागि फुटबल भन्ने नाराका साथ आयोजना गरिएको मैत्रीपुर्ण खेलमा कासेरेन्यो हाबी देखियो । स्पेनका पूर्वराष्ट्रिय खेलाडीद्धय डे ला रेड र मिचेल कार्रिलेरोसहित मैदान उत्रिएको कासेरेन्योले गण्डकी ११ लाई आक्रमणको कुनै अवसर दिएन । गण्डकीले दोस्रो हाफमा केही सुधारिएको खेल देखाए पनि त्यो रक्षापंक्तिमै सीमित रह्यो ।
खेल सुरु भएको ५८ सेकेन्डमै कासेरेन्योका कापाको पासमा गार्सिले राइस साइडबाट गरेको लो क्रस बलमा गण्डकीका गोलरक्षक दिप कार्कीले उत्कृष्ट डाइभ गर्दै बचाउ गरे । तेस्रो मिनेटमा भेट्रान खेलाडी मिचेलको पासमा गार्सिको प्रहार क्रसबार नजिकैबाट बाहिरिदाँ अग्रता लिनबाट चुक्यो । चौथो मिनेटमा गार्सिकै क्रसलाई गण्डकीका डिफेन्डर जिवन गुरुङले बचाउ गर्दा पहिलो कर्नर पायो ।
गार्सिले प्रहार गरेको कर्नरमा सामु म्याचोनको हेडर प्रहारलाई डिफेन्डर कमल थापाले विफल पार्दा कासेरेन्योको अर्को अवसर खेर गयो । ८ औं मिनेटमा रियल मड्रिडबाट युरो कप खेलिसकेका पूर्व खेलाडी डे ला रेडको प्रहारलाई गोलरक्षक दिप कार्कीले बचाउ गरे । २३ औं मिनेटमा कारमेलोले कासेरेन्योलाई अग्रता दिलाए ।
उनले डिएरिया नजिकैबाट गरेको फितलो प्रहारले जालि चुमेको थियो । २८ औं मिनेटमा भेट्रान खेलाडी मिचेलले अग्रता दोब्बर पारे । सामुले डे ला रेडलाई दिएको पासमा डे ला रेडले मिचेलाई ब्याक फ्लिक पासमा मिचेलले सहजै गोल गरे । खेलको ८९ औं मिनेटमा कासेरेन्योका ब्रेमुले गोल गर्दै सहज जित दिलाए । उक्त खेलमा गण्डकीले खासै प्रहार गर्न सकेन ।
खेलपश्चात ढोरपाटनकर्मीसंग कुराकानी गर्दै जुनियर राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ र रन्दिप पौडेलले युरोप फुटबलको अनुभव बटुलेको बताए । पोखरेली खेलाडीसमेत रहेको श्रेष्ठ र पौडेलले खेल्न पाउनुलाई ठूलो अवसरको रुपमा व्याख्या गरे । फरवार्ड खेलेका सुमित श्रेष्ठले उनीहरुको खेल र नेपालको खेलमा धेरै फरक पाएको सुनाए । ‘हामीले धेरै सिक्नुपर्ने रहेछ । उनीहरु हरेक दिन फुटबलमै बिताउँछन् हामी दुई चार दिन प्रशिक्षण गरेर मैदान उत्रिन्छौ’, उनले भने,‘यो बाट नेपाली फुटबलले पाठ सिक्नुपर्ने रहेछ । नियमित प्रशिक्षण भएमा अब युवा खेलाडीले उच्च प्रदर्शनी गर्न सक्छौ । हामीलाई निरन्तर प्रशिक्षणको खाचोँ देखियो ।’
यस्तै रन्दिप पौडेलले निकै राम्रो अनुभव भएको सुनाए । उनले युरोपेली टिमसंग खेल्दा निकै दबाब महसुस भएको र खेलमा पूर्ण शक्ति लगाएर खेलेको बताए । ‘हामीले हाम्रो हन्ड्रेड पर्सेन्ट दिएका हौं । निकै दबाब महसुस भएको थियो । उहाँहरुको फुटबल खेल्ने शैली र हाम्रो धेरै फरक छ । हामीले अब फुटबलमा नयाँपन ल्याउन आवश्यक ठानेँ’ उनले भने,‘अब धेरै प्रतियोगिता हुने र खेलाडीलाई सद्यैँ प्रशिक्षणमा व्यस्त बनाउने हो भने हामी पनि शसक्त हुने रहेछौं ।’
खेलकुद मन्त्री राजिव गुरुङ गण्डकीको टिममा
मैत्रीपूर्ण खेलमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ समेत मैदान उत्रिएका थिए । उनले स्पेनी क्लब कासेरेन्योसंगको मैत्रीपूर्ण खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका हुन् । राष्ट्रिय तथा ए डिभिजन खेलाडीले भरिएको गण्डकीको टिमलाई हौसला प्रदान गर्न मन्त्री गुरुङ समावेश भएका हुन् । कासेरेन्यो मंगलबारमात्रै स्पेनबाट पोखरा आएको हो ।
स्पेनी टिममा लुइस अगुआडो गार्सिया, रुयमान आर्टेगा गार्सिया, सर्जियो एनरिके बर्मुडेज फेरेरेस, अल्बर्ट कापार्रियोस र्गुजमान, अल्भारो क्लायसि मारिन, करिम एल कोउन्नि, माइकल लिभान फर्नान्डेज टमायो, मिगुले गार्सिया लुसियो, समुएल गोमिस मेन्डे, समुएल गोन्जालेज मार्टिनेज, फ्रान्सिस्को डेभिड ग्रेन्डे सेर्रेनो, अल्फोन्सो, जोसे एन्टोनी, कर्मेलो, म्यानुएल, पेड्रो जिसस, ड्यानिएल, रुवेन सोलानो, लुइस फर्नान्डो र ओसमने रहेका थिए ।
यस्तै गण्डकी ११ को टिममा अनिल गुरुङ, दिप कार्की, राजा बाबु मगर, मान बहादुर तमाङ, आशिष गुरुङ, रन्दिप पौडेल, जिवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योन्जन, विशन गुरुङ, जया गुरुङ, कमल बहादुर थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, शान्त बहादुर गुरुङ, लक्ष्मण रुचाल, सुवास गुरुङ रहेका थिए ।





