स्याङ्जा/ आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।
१ करोड ३९ लाख १२ हजार १३१ रुपैयाँको लागतमा नयाँ भवन बनेको हो । २०७८ साल साउन ४ गते सम्झौता भइ २०७९ कार्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ वटा कोठासहित एउटा हल रहेको पालिकाले जनाएको छ ।
नयाँ भवनको गण्डकी प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले उद्घाटन गरे । उनले विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताए । ‘जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो,’उनले भने ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगारलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरूको चर्चा गरे ।
गाउँपालिकाका अ. सबइन्जिनियर सुन्दर पौडेलले संचालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीलगायतले बोलेका गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।




