बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तरकारी-अन्नबाली जोगाउन झन्डा र बुख्याचाको प्रयोग

तरकारी-अन्नबाली जोगाउन झन्डा र बुख्याचाको प्रयोग


  • आश गुरुङ
  • माघ ८ २०७९, आइतबार

लमजुङ / क्व्होलासोंथर गाउँपालिका-८ तामु गाउँकी लक्ष्मी गुरुङले फलाएको तरकारी बालीमा चराचुरुंगी पल्कियो । मकैबालीमा बाँदर लाग्यो । चराचुरुंगी र वन्यजन्तु मार्न नपाइने भएपछि गाउँ समाजमा यसबारे छलफल भयो । उनीहरूले धपाउने अथवा तर्साउने उपाय निकाले ।

लक्ष्मीका अनुसार खेतबारीमा उनीहरूले निगालोमा हावा चल्दा चल्ने गरी पुरानो खदा (स्वागतमा प्रयोग गरिने), बोरालगायत काटेर राख्न थाले । खेतमा मानिसको ‘बुख्याचा’ बनाएर राख्न थाले । ‘बालीनाली सबै खाइदिए पनि दुःख गरेको कामै भएन । अहिले अलिअलि जोगिएको छ’ उनले भनिन् ।

उनका अनुसार अलैंची, केरालगायत बालीको छेउछाउ पनि झन्डा बनाएर राखिएका छन् ।

तामु गाउँ वनजंगलले घेरिएको छ । कूल ४२ घर छन् । गाउँमा तरकारी बाली फलाउने गरेका स्थानीयले बेंसीमा भने धान र मकै फलाउँछन् । त्रिदेवी आमा समूहका अध्यक्ष कुमारी गुरुङका अनुसार अहिले तरकारी बाली लगाइएको छ ।

काउली, बन्दा, आलु, केराउलगायत तरकारी बाली अहिले बारीमा छन् । वनजंगल छेउका बारीमा लगाइएका तरकारी जोगाउन विभिन्न रंगका झन्डा बनाएर राखिएको उनले बताइन् । ‘झन्डा राखेन भने हामी त भोकै पो हुन्छौं । अहिले तरकारीबालीमा लगाएका छौं । बर्खामा धान, मर्क र कोदो जोगाउन मान्छेजस्तो (बुख्याचा) बनाएर राख्छौं’ उनले भनिन् ।

तामु गाउँ करिव १ सय २० वर्षअघिको मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने यो गाउँमा बन्यजन्तु र चराचुरुंगी मार्न र चोरीशिकारी गर्न पाइँदैन । एक्यापअन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष दूधरास गुरुङका अनुसार वन्यजन्तु र चराचुरुंगीलाई मार्न नपाउने भएपछि गाउँले जुक्ति निकालेका हुन् ।

‘पहिले पहिले वन्यजन्तु र चराचुरुंगीलाई धपाउँदै मारिन्थ्यो । एक्याप आएपछि मार्न नपाइने भयो’ उनले भने । उनका अनुसार २०५६ मा भुजुङ (क्व्होलासोंथार ४) मा एक्याप स्थापना भएपछि बन्यजन्तु र चराचुरुंगी मार्न नपाउने र चोरीसिकार गर्न नपाउने नियम आएको हो ।

‘जंगली जनावर र चराहरूले पहिला पहिला त खासै दुःख दिने थिएन । अहिले त घरघरै आउन थालेको छ’ उनले भने, ‘यो बारे एक्यापको बैठकमा पनि भनेको छु । तर, के गर्नु, मिल्दैन (वन्यजन्तु र चराचुरुंगी मान), मिल्दैन भन्छ ।’

तामु गाउँका वासिन्दाको खेत मिदिमखोला किनारसम्म छ । खेतबारी वरपर सबै ठाउँको सिमानामा वनजंगल छ । वडाअध्यक्ष सन्तोष घलेका अनुसार यहाँका नागरिक प्रमुख पेशा भनेको खेतीकिसानी हो । प्रमुख बाली मर्क, धान र कोदो हो ।

तरकारी बालीमा आलु, काउली, बन्दा, रायो, केराउलगायत फलाउँछन् । ‘पहिले खेतीबाली रुँघ्न भन्दै बास बस्न समेत गइन्थ्यो । पछि पछि वन्यजन्तु र चराचुरुंगीले खेतीबाली खान अलि कम भयो । अहिले झन् धेरै आउन थालेको छ,’ उनले भने, ‘आफ्नो बाली जोगाउन सवैले उपाय अपनाएका छन् ।

अहिले यो विभिन्न रंगका झन्डा राख्ने कार्य पनि प्रभावकारी हुँदैछ । तर, यसले पनि पूर्ण मात्रामा वन्यजस्तु र चराचुरुंगी बारीमा आउन भने रोकिएको छैन । उनले अब बेला-बेलामा ठूला-ठूला आवाज दिने मेसिनको आवश्यक परेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->