बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले खेलकुद विकासका लागि खेल प्रशिक्षकहरुको व्यवस्था गर्ने भएको छ । गाउँपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले छिट्टै खेल प्रशिक्षक नियुक्त गर्ने योजना रहेको सुनाए ।
विकास भनेको सडक र भवन मात्रै हो भन्ने मानसिकताबाट माथी उठेर गाउँपालिकाको चौतर्फी विकासका लागि पालिकाले आफ्ना कदमहरु अघि बढाईरहेको थापाले बताए । ‘खेलकुदको विकास लागि धेरै कोणबाट सोचिरहेका छौं, खेलकुदका लागि काठेखोला उर्वरभूमी हो’ थापाले भने ‘स्वस्फूर्त अभ्यासले जे–जति प्रगति भैरहेको छ त्यसमा सन्तुष्ट छैनौं, गाउँपालिका तहबाटै खेल प्रशिक्षकहरु छिट्टै नियुक्त गर्छौं ।’
सडक बनाउने, भवन बनाउने जस्ता योजना मात्रै सर्वसाधारणको प्राथमिकतामा पर्ने गरेको भन्दै थापाले सामाजिक र आर्थिक विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न पालिकाले योजना बनाउनुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले खेलकुद बालबालिका र युवापुस्ताको लागि अत्यावश्यक विधा भएको बताए । युवा र बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुदको विकास र प्रवद्र्धन आवश्यक रहेको उनले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले बोलेका थिए ।
बिहीबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सकिने छ । गाउँपालिकाको सामाजिक विकास शाखा, कला संस्कृति तथा खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भलिवल, कबड्डी, कराँते, एथलेटिक्सलगायतका विधाका खेलहरु हुने छन् ।
गाउँपालिका तहबाट छनौट भएका खेलाडिले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी जनाउने छन् । प्रतियोगितामा पालिका ११ विद्यालय सहभागी छन् ।





