बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा तर्फको लामो दूरीका दौडमा विद्यामन्दिर माविकी ज्ञानदेवी रोकाले स्वर्ण पदक जितेकी छिन् ।
रोकाले छात्रातर्फको १ हजार ५ सय मीटर र ३ हजार मिटरको दौड जितेकी हुन् । दौडमा उनको अगाडि कुनैपनि खेलाडी टिक्न सकेनन् । उक्त प्रतियोगितामा त्रिभूवन माविकी संझना शर्मा द्वितीय र सिद्धार्थ शिक्षा सदनकी एन्जिला लिम्बु तृतीय भइन् ।
प्रतियोगिताको ३ हजार मिटर दौड प्रतियोगिताको छात्रतर्फको उपाधि सिगाना मावि तित्याङका रवि सुनारले जितेका छन् । सोमबार बिहान भएको खेलमा चिल्ड्रेन लाइफ बोर्डिङका गणेश केसी द्वितीय र त्रिभूवन माविका रमित परियार तृतीय भए । त्यसअघि भएको १ हजार ५ सय मीटर दौड प्रतियोगितापनि छात्रातर्फ विद्यामन्दिरकी ज्ञानदेवी रोका नै प्रथम भएकी थिइन् । त्रिभूवन माविकै सम्झना पौडेल द्वितीय र जनता–धन माविकी अनुषा पौडेल तृतिय भएकी थिइन् ।
छात्र तर्फको १ हजार ५ सय मीटर दौडमा आदर्श बिद्यामन्दिरका अनुप जिसी प्रथम, सिगाना माबि तित्याङका रवि बिक द्वितीय र गणेश माबिका हरि रोका तृतीय भएका थिए । सोमबार एथलेटिक्सतर्फका एकसय मीटर, दुइसय मीटर, ४ सय मिटर लगायतका खेल पनि सम्पन्न भएका छन् ।
छात्राछात्राको सटपुट, भाला लगायतका खेल पनि सम्पन्न भएका छन् भने छात्रछात्रा तर्फको कबड्डी खेल सुरु भएका छन् । सेमीफाइनल र फाइनल तहका खेल भने मंगलबार हुने आयोजक बागलुङ नगरपालिकाले जनाएको छ ।





