बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगितामा छात्र र छात्रातर्फको भलिबल खेलको फाइनल समीकरण पूरा भएको छ ।
मंगलबार बिहान भएका खेलमा छात्रतर्फ विश्वकर्मा मावि र सिगाना मावि तित्याङ फाइनल प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि विश्वकर्माले विद्यामन्दिर माविलाई सेमीफाइनल खेलमा पराजित गरेको थियो । जितका लागि विश्वकर्माले ३०–२८, २३–२५ र २५–२१ को खेल खेल्यो । फाइनल प्रवेश गरेको तित्याङले भने अमर आदर्श माविलाई २५–१३ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।
छात्रा भलिबलको फाइनल खेलमा विद्यामन्दिर मावि र रुद्रे पिपल मावीि खेल्ने भएका छन् । विद्यामन्दिरले चिल्ड्रेन लाइफ बोडिङ स्कुललाई २५–६ र २५–८ को सोझो सेटमा पराजित गर्यो । रुद्रे पिपल माविले धौलागिरि बहिरा विद्यालयलाई २१–२५, २५–२० र २५–१८ को सेटमा पराजित गरेको भलिबल खेल व्यवस्थापन समितिका सदस्य प्रकाश थापाले बताए ।
प्रतियोगिताकै आकर्षणको रूपमा मंगलबार आयोजित जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल प्रतियोगितामा कर्मचारीले जितेका छन् । राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगितामा सबैको सहभागिता बढाउन खेल आयोजना गरिएको थियो ।
‘प्रत्येक कर्मचारी र जनप्रतिनिधिले अपनत्व लिएर खेलहरु सञ्चालन गराउन आफ्नै फुटबल पनि राखिएको हो,’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘नगरमा खेलको आर्कषण बढाउन पहल गरिरहेका छौं ।’ निर्धारित समयमा बराबरी खेल भएपछि पेनाल्टी सुटआउटमा कर्मचारीले दुईकाविरुद्ध तीन गोल हानेका थिए । कर्मचारीका लागि भक्तबहादुर परियार, शिव शर्मा र सौगात बोहराले एकरएक गोल गरे । जनप्रतिनिधितर्फ सुरज बोसेल र अर्जुन सापकोटाले गोल गरेका हुन् । विजयी टिमलाई मेडल र प्रमाणपत्र वितरण गरियो ।





