बागलुङ/ बागलुङ नगरपालिकाको आयोजनामा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुँद प्रतियोगितामा सनराइज आवासीय माविले सबैभन्दा धेरै स्वर्णपदक जितेको छ ।
मंगलबार बेलुकीसम्मका खेल सकिंदा सबैभन्दा धेरै ७ स्वर्ण, ६ रजत र १ कास्य पदक जितेर सनराइजले शिल्ड उचालेको हो । बिजेता खेलाडीलाई बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले मेडल र प्रमाणपत्र बितरण गरे ।
बाङगेचउरमा आयोजित भलिबल खेलमा विश्वकर्माले सिगाना मावि तित्याङलाई २३–२५, २५–१६, १३–२५, २५–१३ र १५–६ को सेटमा पराजित ग¥यो । फाइनल प्रवेशका लागि विश्वकर्माले विद्यामन्दिर माविलाई र सिगानाले अमर आदर्श माविलाई पराजित गरेको थियो ।
छात्रातर्फको खेल भने विद्यामन्दिर माविले जितेको छ । बिद्यामन्दिरले रुद्रे पिपल माबिलाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा जित हात पारेको थियो । बिद्यामन्दिर फाइनल प्रवेश गर्न चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र रुद्रेपिपलले फाइन यात्राका लागि धौलागिरि बहिरा आवासीय माविलाई जितेको थियो । भलिबलमा छात्रातर्फ धौलागिरी बहिरा मावि र छात्रतर्फ विद्यामन्दिर मावि तृती भए ।
प्रतियोगितामा गणेश मावि ६ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेर दोश्रो भएको छ । धवलागिरि बहिरा माबिले ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ । चिल्ड्रेन लाइफ बोर्डिङले ४ स्वर्ण ५ रजत र ११ कास्य पदक जितेको छ । सिगाना मावि तित्याङले ५ स्वर्ण, जनताधन माविले ४ स्वर्ण पदक जितेका छन् । बुधबार मात्रै खेलको अन्तिम तालिका आउने भएको छ ।





