सरकारले फागुन १ लाई जनयुद्ध दिवसको रुपमा मनायो । १० वर्षे सशस्त्र जनयुद्धको समयमा हजारौंको योद्धाले ज्यान गुमाए । दिवस मनाउँदै गर्दा कतै विरोध र कतै समर्थन पनि भए । त्यहि युद्धका एक सिपाही जो गिरफ्तार पश्चात धादिङको गजुरी स्थित ब्यारेकबाट हतियार नै लिएर भागेका थिए । तिनै माओवादी नेता, पत्रकार, लेखक तथा तत्कालीन लडाकु राजु क्षेत्रीसँग जनयुद्धको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश ( सं.)
जनयुद्ध दिवसको दिन त खुसी हुनुभयो होला !
माओवादी अध्यक्ष प्रचण्ड, जो अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ उहाँको अगुवाइमा फागुन १ लाई जनयुद्ध दिवसको रुपमा मनाउने सरकारले निर्णय घोषणा गरेको छ । यो दिवस सांकेतिक रुपमा उत्पीडत समुदायको लडाइँको विजयको रुपमा मनाउनु ठीक हो । तर, यतिले मात्र पुग्दैन् । नेपालमा राजनीतिक आन्दोलनले गर्न नसकेका थुप्रै कामहरु अझै गर्दै जानुपर्छ । त्यो काममा अघि बढ्नुपर्छ ।
दिवस आलोचनामुक्त रहेन । समर्थन र विरोध दुबै भयो नि !
युद्ध मर्ने र मार्नेबीचको संख्याको कुरा हो । संसारभर युद्धको इतिहासमा नमारेको वा नमरेको इतिहास छैन् । युद्ध आफ्ना स्वार्थका लागि होइन् । यो हाम्रा मात्रै कुरा होइन् । आज जे प्राप्त गरेका छौँ, सबै तिनै १७ हजार मानिसको देन हो । १० वर्षको लडाईंले यति ठूलो परिवर्तन ल्यायो । क्रान्तिबाहेक परिवर्तन सम्भव थिएन
तीन दशक पुग्नै लाग्दा जनयुद्धको चर्चा चल्यो कसरी हेर्नुहुन्छ ?
नेपाल राजनीतिक हिसाबले २०७९ सालसम्म आइपुग्दा थुप्रै राजनैतिक घटनाहरु घटे । थुप्रै संघर्षहरुको बीचको जनयुद्ध एउटा ठुलो संघर्ष रह्यो । त्यसले नेपालको राजनैतिक सामाजिक आन्दोलनहरुलाई सही दिशा दिन सबैभन्दा बढी भूमिका खेलेको हो । करिब–करिब सबै विश्लेषक यसमा सहमत हुनुहुन्छ ।
जनयुद्धलाई कसरी सम्झनुहुन्छ ?
जनयुद्ध तत्कालीन परिवेशमा सामान्तवादविरुद्ध नेपालका उत्पीडित जाति वर्ग, समुदायले लडेको लडाइँ हो । मुख्यतयः सामन्तवादी उत्पादन सम्बन्धले नेपालको अर्थ व्यवस्थालाई एक ठाउँमा गाँजेर राख्यो र समाज रुपान्तरणमा गति प्रदान गर्न सकेन । यसलाई नफालेसम्म अघि बढ्न सकिन्न भन्ने राजनीतिक निष्कर्षका साथ माओवादी युद्धमा आएको हो ।
तपाईँ युद्धमा कसरी जोडिनुभयो ?
म त्यतिबेला कानूनमा स्नातक गर्दै थिएँ, । ल क्याम्पसमा पढ्थेँ । मलाइ लाग्यो– समाज कानूनले होइन, राजनीतिले अघि बढ्छ । जुन देशमा राजनीतिक,सामाजिक व्यवस्था र सबै व्यवस्थाहरु सुचारु भएका छन् त्यहाँ मात्रै कानूनले काम गर्छ । राजनीति नै बेठीक ठाउँमा रहेको बेलामा राजनीतिक हिसाबले समाजलाई ठीक ठाउँमा ल्याउनुपर्छ भन्ने बुझेका कारणले म युद्धमा आएको हुँ ।
त्यतिबेला तपाईंलाई गिरफ्तार गरियो । कस्तो थियो त्यो समय ?
२०५६ सालमा पोखरामा जनपक्षीय पत्रिकारिता, खासमा माओवादीलाई समर्थ गर्ने हिसाबले पत्रकारिता सुरु ग¥यौँ । राष्ट्रिय स्वाभिमान साप्ताहिकमार्फत् । माओवादी आन्दोलनलाई सहयोग– समर्थन गर्ने र यसको पक्षमा प्रचार गर्ने सबैलाई आतकंकारी देखिसकेपछि राज्यले गिरफ्तार ग¥यो । म लगायत थुप्रै साथीहरुलाई ।
गिरफ्तार गरेर कहाँ लग्यो ?
त्यहाँबाट हामीलाई फूलबारी ब्यारेक लग्यो । ९० दिन राख्यो । पूरै सिमेन्टमा सुतायो । चुट्नसम्म चुट्यो । त्यसपछि ब्यारेकबाट जेलमा ल्यायो । शान्ति प्रक्रिया सुरु भएपछि जेलमा ल्यायो अनि छुट्यौं । त्यसको तीनचार महिनापछि पुनः समात्यो । त्यतिबेला चाहिँ धादिङबाट समातेको हो । अनि गजुरी ब्यारेक लग्यो १३ महिला चिसो भुइँमा राख्यो । त्यसपछि हामी सेनाको हतियार कब्जा गरेर ब्यारेकबाट भाग्याँै ।
सेनाको ब्यारेकमा कसरी राखिएको थियो ?
इतिहास साहसिक घटना भनेपनि तत्कालीन अवस्थामा सामान्य नै लाग्दो रहेछ । त्यो बेला तत्कालको आवश्यकताले गर्दा ठूलो घटना भयो । अहिले सम्झँदा त्यो निकै ठूलो घटना लाग्छ । किनभने, पहिला ९० दिन र पछि १३ महिनासम्म चिसो सिमेन्टमा आखाँमा कालोपट्टी, हात पछाडी बाँधिएको, खुट्टामा जन्जिर (फलामको सिक्री) बाँधेर अन्धकारमा राखिएको थियो । त्यतिबेला त्यहाँबाट कसरी निस्कने भन्ने कुरामै ध्यान गइराखेको हुन्थ्यो । त्यहाँबाट निस्कने कुरा र बाहिर हिँड्ने कुरा हाम्रो लागि सामान्य थियो, त्यतिबेला । किनभने मृत्यु स्वीकारेर हिँडेको मान्छे, जसै मार्छन् भन्ने थियो । एक दिन न एक दिन त मार्छ यहाँभित्र भन्ने मनमा आउँथ्यो । तर, त्यहाँबाट निस्कँदै गर्दा त्यस्तो ठूलो काम गरेँ जस्तो लाग्दैन् । माओवादी दश वर्षे जनयुद्धको पेरिफेरीमा जुनजुन घटनाहरु भयो, त्यो घटनामा यो एउटा प्रतिनिधि घटनामात्रै हो । प्रतिनिधि घटनामात्र रहेकाले यो घटनामा जोडिएका हामीहरु पनि प्रतिनिधि पात्र मात्रै हौं । अहिले चाहिँ गर्व अनुभव हुन्छ ।
कसरी भाग्नु भएको थियो ?
त्यो बडो गज्जबको कहानी छ । पोखरामा रहेका मिडियाकै साथीहरुले पोखरामा समातिएका यी–यी व्यक्तिहरु पोखरा फूलबारी ब्यारेकमा छन् । यिनीहरुलाई सार्वजानिक गर भनेर मिडिया र परिवारको तर्फबाट पटक–पटक दबाब पुगेपछि यहाँबाट लुकाउनका लागि हामीलाई गजुरी (धादिङ) लिएर गए । गजुरी लिएर जाँदै गर्दा सेनाका उच्च पदकालाई बाहेक अरुलाई हामी को हौं भन्ने थाहै भएन् । किनभने बाहिर एक्सपोज हुन्छ भनेर । हामीलाई लिएर जाने बित्तिकै तिमीहरु को हौ भनेर प्रश्न गरियो । अनि हामीलाई थाहा भयो कि, सामान्य सिपाहीलाई हामी को भन्ने थाहा रहेनछ । त्यसपछि हामीले हामी सामान्य झोले मान्छे हौं । म आफूलाई पत्रकार हुँ, अन्यलाई उहाँहरु सामान्य मान्छे हुन,् अनावश्यक दुःख दिन यहाँ ल्याएको हो भनेर भनेपछि उनीहरुले हामीलाई गर्ने व्यवहार असाध्यै सामान्य भयो । त्यही बीचमा एक जना साथीले आफ्नै टोलको एकजना सिपाहीलाई चिन्नुभयो र ऊ मार्फत् परिवारसँग सम्पर्क जोड्नुभयो । त्यसपछि खानपिनका सामान र लत्ताकपडाहरु ल्याउने काम भयो । घरबाट रकम पनि आउन थाल्यो । त्यसपछि त्यहाँ ड्युटीमा खटिने सेनाहरुलाई हामीले चिया वा खाना खाऊ भनेर पैसा दिने, सहयोग गर्ने काम गर्न थाल्यौँ । त्यो गर्दागर्दै त्यहाँ एउटा आत्मीय माहोल बन्यो । त्यसपछि हामीले उनीहरुलाई कताबाट जान्छौ, कताबाट आउँछौ भनेर सोध्न थाल्यौँ । सिपाहीहरुलाई त्यतिबेला सधैँ मेन गेटबाट बाहिर जान दिदैनथ्यो । त्यही भएर पनि उनीहरु लुकेर जाने आउने गर्थे । जुन कुरा हामीले मेसो पाएका थियाँै । त्यो भित्री बाटो हामीले पत्ता लगायाँै । त्यसपछि हामीले सिपाही सबभन्दा कम कहिले र बढी कहिले हुन्छन् र रंगीन (रमाइलो) माहोल कहिले हुन्छ भन्ने पत्ता लगाएपछि दशैंलाई टार्गेट ग¥यौँ । त्यो दिन आयो तर सम्भव भएन । त्यपछि तिहार कुरेर बस्यौँ । तिहारलाई हामीले अन्तिम मिति बनाएर योजना बुन्यौँ । त्यो ब्यारेकमा करिब साढे दुई सय सिपाही थिए । त्यो दिनमा बढीमा १५ जना सिपाही हुन्छन् अरु सबै बाहिर हुन्छन् चाडवाडको माहोलमा भन्ने हामीले थाहा पायौँ । त्यही दिनमा भयो के भन्दा बाहिर भैलो खेल्दै थिए । हामी भएको ठाउँमा तीनजना सिपाही थिए । ती मध्ये एकजना टीका लगाउन गएको थियो । अर्को एकजनालाई केही पैसा दिएर हामीलाई चुरोट ल्याइदेऊ । तिमि रक्सी खाएर आऊ भनेर तीन सय रुपैयाँ दियौँ । त्यतिबेला एक जनामात्रै बाँकी रह्यो । तिनी थिए– हरि निरौला । हामीले खाना खाने बेलामा हात खोलिएको थियो त्यहि मौकामा उसलाई अँठ्याइ हाल्यौँ । अनि तँलाई कि मार्दिन्छाँ,ै कि चुप लाएर बस भन्यौँ । चुप लाएर बसेनस् भने मार्दिन्छु भनेपछि ऊ चुप लाएर बस्यो । अनि हतियार कहाँ छ ? यहाँ छ । बम कहाँ छ ? यहाँ छ । माइनिङ कहाँ छ ? यहाँ छ । काट्ने ठाउँ कहाँ छ ? यहाँ छ, भनेर उसले सबै भनेपछि उसैलाई अघि लगाएर उसको हतियार खोसेर भण्डारमा पुगेर हतियार खोसेर त्यही चोरबाटो हुँदै त्रिसुलीमा निक्ल्यौँ । एक किलोमिटर अघि आएपछि बुलौंदी पुल छ । त्यहाँसम्म पुगेपछि सिपाहीलाई छाडिदियौँ । उनीहरुको हेलचेक्रयाइँको कारणले नै हामी भाग्न सफल भयौँ त्यतिबेला ।
त्यतिबेला दिने यातना कस्तो थियो ?
ब्यारेकमा हुनु र यातना नहुनु भन्ने कुरा सम्भव हुँदैन । युद्धको बेलामा ब्यारेक भनेको युद्धकै पार्ट हो । बाहिर भएका घटनाले त्यहाँभित्र प्रभाव पार्छ । हामी जुन बेला भाग्यौँ, त्यो बेला त्यही ब्यारेकमा फौजी तालिम चलिरहेको थियो । त्यो तिहारको दिनमा चौथो दिन थियो । सातौँ दिनमा हामीलाई मार्दैछ भन्ने कुराको ठाउँसहितको सूचना आएको थियो । जसै मार्ने भएपछि यहाँ किन बस्ने भनेर पनि भाग्यौँ । खासमा भाग्नुको कारण पनि त्यही हो । किनभने हामीलाई १३ महिनासम्म अन्धकार कोठामा थुनेर राखेको थियो । हामीहरुको हालत ठीक थिएन् । अवस्था नाजुक नै थियो । हामी सातजना थियौं ।
अहिले तपाईंसँगै जेलमा भएका साथीहरु कहाँ छन् ?
ती साथीहरु मध्ये एकजना एमालेमा जानुभयो । गत निर्वाचनमा चितवनबाट प्रदेशसभामा पनि उठ्नुभयो । प्रकाश खनालजी त्यो टिमको कमान्डर पनि हुनुहुन्थ्यो । उहाँ कमरेड बादलको टिमसँग एमालेमा जानुभएको हो । एकजना साथी बद्री खड्का दोलखा काटागुटी वडा ५ को उहाँ चाहिँ मारिनुभयो । उहाँलाई पछि समातेर मारियो । एकजना दुबई हुनुहुन्छ । ठाकुर दाई गाउँतिर हुनुहुन्छ । कृषि गरिरहनुभएको छ । दुई जना साथी चितवनमा हुनुहुन्छ । म यहाँ छु ।
निकै सामान्य तरिकाले भन्नुभयो सहज थियो त ? के त्यतिबेला गरेको काम ठीक थियो भन्ने लाग्छ ?
अदम्य साहस भएकाहरुले मात्र इतिहासका ठूलाठुला राजनैतिक घटनाक्रममा आफूलाई हुल्न सक्छन् । सामान्य चेत भएको वा सामान्य साहस भएका त्यो आन्दोलनमा जान सक्दैनन् । किनभने मर्ने र मार्ने लडाइँको बेलामा कोही पनि मानिसहरु म बाच्छुँ भनेर त्यहाँ सचेततापूर्वक जान सक्दैन् । हामी ती मानिसमध्येका थोरै मानिसहरु हौं कि समाज बदल्नका लागि यो आन्दोलन बाहेक अर्को विकल्प छैन भन्ने निष्कर्षका साथ आन्दोलनमा गएका हौं । त्यो बेला आन्दोलनमा पाएका दुःख पनि आनन्द लाग्थ्यो । त्यहाँ भोकै हुदाँ पनि कुनै दुःख मनाउ थिएन । त्यहाँ लुगाफाटा नहुँदा, बस्ने खाने व्यवस्था नहुँदा पनि दुःख थिएन । जेलमा हुँदा पनि आनन्द नै लाग्थ्यो । आनन्द यो कारणले लाग्थ्यो कि, हामी ठूलो अभियानमा छौं । अभियानको सफलताका लागि हिँडीराखेका छौं भने त्यहाँ दुःखी लाग्ने कारण पनि थिएन् ।
व्यवस्था परिवर्तनको लडाइँ थियो ?
मुख्यतः समाजको उत्पीडित जाति, वर्ग समुदायको जीवन फेरियोस्, समाज फेरियोस र सबै मानिसहरु हाँस्न सकून्, कोहीमाथि अन्याय नहोस्, समानताका आधारित राज्य व्यवस्था होस भन्ने भावनाका साथ युद्धमा हिडेका हौं । हामी आफैंलाई त के थियो र ? हामी मध्यम वर्गीय मानिसहरुको केही थिएन् ।
।
जुन एजेन्डा बोकेर हजारौं शहीद भए ती एजेन्डा अहिले बिर्सिएको हो ?
माओवादी आन्दोलन एउटा संग्राम हो, लडाइँ हो । एकलौटी नेपालको सबै राजनीतिक आन्दोलनलाई नेतृत्व गरेर जाने अवस्था नभएपछि जनआन्दोलन २०६२÷०६३ भयो । आन्दोलन पश्चात सबै दलसँग सहकार्य गरेर अघि बढ्ने अवस्थाको सिर्जना भयो । यदि त्यसो नभएको भए ठूलो नरसंहार हुने थियो । लाखौं मानिसहरु मर्नपर्ने हुन्थ्यो । इतिहासमा यो सानो उपलब्धी हो । हामीले सानो उपलब्धीका लागि यो देशमा ठूलो नरसंहार आवश्यकता छैन भनेर गणतन्त्रको नारा अघि ल्याएको हो । त्यसमा राष्ट्रिय सहमति बन्यो । मलाई लाग्छ, त्यतिबेला त्यो लडाइँका बीचबाट यहाँ नआएको भए आज उपभोग गरेका अधिकारका कुराहरु सपनाजस्तै हुने थियो । आज बोल्न सक्ने, लेख्न सक्ने, आफ्नो अभिव्यक्ति स्वतन्त्र रुपले राख्न सक्ने अवस्था हुने थिएन् । तर जति हामीले सोचेका हौं त्यति भने पक्कै भएको छैन् । जनतामा निराशा छाउन थालेको छ ।
अहिले राजनीतिक परिवर्तमात्रै भएको देख्छौ जताततै निराशा मात्रै देख्छौँ त !
राजनीतिक परिवर्तन पछाडी सामाजिक र आर्थिक परिवर्तन आउँछ ।जनयुद्ध राजनैतिक परिवर्तनको युद्ध हो । सामन्तवादविरुद्ध सुरु गरेको युद्ध थियो । जब ०६२÷०६३ को आन्दोलन भयो त्यसपश्चात केही माओवादीका एजेन्डा, केहि कांग्रेस त केही एमाले वा सबै दलका एजेन्डामा राष्ट्र एक ठाउँमा आइसकेपछि माओवादीले सबै भनेजस्तो भएन । अहिले व्यवस्थामा समस्या छ । जतिसुकै राम्रो व्यवस्था ल्याएपनि त्यसलाई कसरी चलाउँछ भन्ने कुरा महत्वपूर्ण छ । अहिले केही बलियाले आफ्नो मुठीमा पारेका छन् । हजारौंको बलिदानबाट आएको परिवर्तनमा केही व्यक्तिहरुले लुटी खाने भाँडो बनाएका छन् । यसमा सचेत गराउन जरुरी छ ।
माओवादीका एजेन्डा बोकेर हिँडेको मान्छे आज आफैंले माओवादी छाड्नुभयो किन ?
कुरा त्यस्तो होइन् । माओवादी आन्दोलनको एउटा चरण चल्यो । जनयुद्धको चरणमा हामी युद्धमा थियौं । युद्धपछिको हाम्रो बुझाइ के हो भन्दा, नेपाली समाज अब नयाँ कोर्षमा जानुपर्छ । अब युद्ध गरेर हुँदैन । हजारौँको बलिदान खेर फालेर हुँदैन भनेर हिँडेका हौँ । सामन्तवादी उत्पादन सम्बन्धबाट मुक्त भएपछि पूँजीवादी उत्पादन गर्नुपर्छ भनेर लागेका हौं । अहिले माओवादीले दुई महत्वपूर्ण कुरा उठाएको छ । त्यो हो पार्टीको नाम र झण्डा परिवर्तन गर्ने ।यो कुरा त्यतिबेला नै डा. बाबुराम भट्टराईले उठाउनुभएको कुरा हो जुन आज सफल हुँदैछ । त्यो कुराले अहिले माओवादी र नेपाल समाजवादी पार्टी एकीकरण हुने प्रक्रियामा जादैँछ ।
अन्तिममा नसोधिएको तर भन्न मन लागेको केही …!
परिवर्तन क्रमागत रुपमा हुने चिजहरु हुन् । मानिसहरु सधैं आशावादी हुनुपर्छ आफ्नो व्यवस्थाप्रति, देशप्रति र राजनैतिक पार्टीप्रति । राजनैतिक घटनाक्रम जति स्थिर हुन्छ त्यतिनै समाज विकास हुन्छ । राजनीतिक इतिहासलाई टुक्रा गरेर, घृणा, अपमान गरेर समाज परिवर्तन हुँदैन । समाजको परिवर्तन गर्ने आम नागरिकले नै हो । यहाँ राजनैतिक आन्दोलनमा देखिएका समस्या र अपराधलाई दुरुत्साहन गर्दै जानुपर्छ । अनततः राजनीतिले नै देशलाई नेतृत्व गर्ने हो यही विश्वासका साथ हामी अघि बढौँ । धन्यवाद ।
प्रस्तुति : विजय नेपाली





