सिर्जना विकास केन्द्रको आयोजनामा पोखरा रंगशालामा सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता संचालन भएको छ । ३८ वर्षअघि सुरुभएको प्रतियोगिता बिचमा रोकिए पनि पुनः संचालनमा आएको छ । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ भलिबलमा बहिरा विद्यालयको पनि सहभागिता रहेको छ । २५ वर्षदेखि बहिरालाई पढाउँदै आएका संस्थाका सचिवसमेत रहेका भिमप्रसाद सुवेदीसँग दोभाषेमार्फत् ढोरपाटनकर्मी विजय नेपालीले राखेका प्रश्नहरुको सम्पादित अंश ( सं.)
पाँचौं सिर्जना कपमा सहभागिता कस्तो छ ?
उत्साहपूर्ण रुपमा सहभागिता भएको छ । हिजो (मंगलबार) कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीलाई आमन्त्रण गरेका थियौं। सहर्ष स्वीकार गर्दै उहाँ आइदिनुभयो । ४५ टिमको सहभागिता छ । जसमा छात्र ३० र छात्रा १५ टिम रहेका छन् । यो सहभागिता पोखरामा हुने सामुदायिक विद्यालयतर्फ एकै खेलमा अत्यधिक हो । यसमा बहिरा विद्यार्थी खेलाडीहरुको समेत सहभागिता रहेको छ ।
विगत र अहिलेमा प्रतियोगितामा के भिन्नता पाउनुहुन्छ ?
विगतमा भन्दा अहिले परिस्कृत भएर आएका छन् । तत्कालै प्रचार गर्न पनि सकेनौं । दूरदराजका विद्यालयका सहभागिता गराउन सकेनौं । आजभन्दा पाँच वर्षअघिकै प्रतियोगितामा समेत सहभागिता निकै न्यून थियो भने अहिले धेरै सहभागिता रहेको छ । अझै एक महिनाअघि प्रचार गर्न पाएको भए ऐतिहासिक सहभागिता हुने रहेछ ।
यो संस्थाले ३ दशक अघिनै भलिबल रनिङ शिल्ड गरेको रहेछ नि ?
हो । हाम्रो संस्थाले विद्यालयको खेलकुद विकासमा सहयोग पु¥याउने र सामुदायिक विद्यालयमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्ने हेतुले नै यो प्रतियोगिता आयोजना गरेका हौं । पहिला रनिङशिल्ड गरे पनि बीचमा साथीहरुको सक्रियता पनि त्यति भएन र संस्थाको आर्थिक अवस्था पनि राम्रो रहेन । पैसा अघि लगाउन सके जहाँसुकै ढोका खुल्छ । पैसा भएन र त्यतिबेला हाम्रो ढोका बन्द भयो ।
त्यो समयमा भलिबल गर्ने योजना कसरी आयो ?
म २०४४ सालको सदस्य भएन् । त्यो भन्दाअघि नै प्रतियोगिता आयोजना भएको हो । वीरेन्द्रमान विजुक्छेको संयोजकत्वमा युवा सर्कलले आन्तरिक रुपमा संस्था गठन गरेर प्रतियोगिता संचालन भएको हो । बीचमा रोकियो । खेलकुदमार्फत् संस्थाको छवि पनि बढ्छ भन्ने सोचका साथ पुनः नयाँ तरिकाले संचालन गरेका हौं । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्छाँै भन्ने उदेश्य लिएका छौं । अब एकेडेमी पनि संचालन गर्ने सोच बनाएका छौं ।
सामुदायिक विद्यालयस्तरीय प्रतियोगिता गर्नुकै कारण चाहिँ के ?
निजी विद्यालयहरुमा वर्षेनी खेलकुद महोत्वस हुँदै आइरहेको छ । विद्यालयभित्रै स्पोट्र्स मिटदेदि प्याब्सन, एन प्याब्सनले प्रतियोगिता संचालन गर्दै आइरहेका छन् । उनीहरु सक्षम छन् । रकम पनि संकलन गर्न सक्छन् । त्यहाँ धनीका छोराछोरीहरु पढ्ने गर्छन् । तर,गरीबका छोराछोरी पढ्ने भनेको त सामुदायिकमै हो । दूरदराजमा रहेका विद्यार्थीहरु सामुदायिकमै पढिरहेका छन् । प्रतियोगितामा सहभागी हुन नपाएका विद्यार्थीहरुले पनि अवसर पाउन् र सामुदायिक विद्यालयको खेलकुद विकास होस् भन्ने हाम्रो चाहना हो । हामीले प्रतियोगितासँगै हरेक वर्ष उत्कृष्ट खेलाडी बन्ने सम्भावना बोकेका खेलाडीहरुलाई छात्रवृत्ति पनि दिएका छौं ।
अहिले बहिरा विद्यालयको पनि सहभागिता भएको छ, हो ?
हजुर हो । छात्र र छात्राको टिम समावेश भएको छ । छात्राको टिमले हार व्यहोरेको छ भने छात्रहरुको टिम बाँकी छ । उनीहरु खेलमा सहभागिता हुनु नै ठूलो कुरा हो । किनकि उनीहरुलाई चुनौती छन् । सुन्दैनन्, प्रशिक्षण छैन् तैपनि सहभागिता जनाउनु भएको आफैमा ठूलो हो । उनीहरुलाई पनि हामी खेल्न सक्छौं । खुल्ला रुपमै प्रतिस्पर्धा गर्न सक्षम छौं भन्ने भावना जगाउनका लागि सहभागिता गराएको हो । आगामी दिनमा उनीहरु राम्रा खेल्छन भन्ने अपेक्षा छ ।
बहिरा विद्यालयमा पढाउनुहुन्थ्यो ?
हो, पढाउँथेँ अहिले अवकास पाएर बसेको छु । ०५३ साल श्रावण १ गतेदेखि पढाउन थालेको हुँ ।
कसरी सम्भवन भयो बहिरा विद्यार्थीलाई पढाउन ?
यो संस्था हामीले स्थापना गरेको हो । तत्कालीन समयमा म सदस्य थिएँ । त्यतिबेला ७ जना विद्यार्थी र २ जना शिक्षक स्वर्गीय ओम शेरचन र सूर्यमोहन बरालले भाडामा संचालन गर्नुभएको थियो ।
अनि सिर्जना विकास केन्द्रले त्यसलाई संरक्षण गर्दै गरेको हो । त्यो बेला बहिराहरु शिक्षाबाट बञ्चित थिए । गण्डकी बहिरा संघ २०४६ सालमा स्थापना भयो त्यो भन्दा ११ वर्षअघि नै हाम्रो संस्था स्थापना भएको थियो । २०३७ साल अजोज २५ गते स्थापना भएको हो । सामाजिक काम गर्ने संस्था भएकाले शैक्षिक क्षेत्रमा अघि बढेको हो ।
त्यतिबेला हामीले ८ कक्षा पढाउने स्वीकृति लिन ७८ हजार रुपैयाँ जिल्ला शिक्षा कार्यालयमा बुझाउनु परेको थियो त्यो उठाएर नै दिएका हौं । तत्कालीन अवस्थामा बीए पास गरेको म मात्रै थिएँ । मेरो शैक्षिक प्रमाणपत्र पेश गरेर अनुमति लिएका थियौं । मैले २५ वर्ष २ महिना २ दिन पढाएँ । दोभाषेको तालिम लिएर पढाएको हुँ ।
तपाईँ दोभाषे पनि कसरी बन्नुभयो ?
आफैले स्थापना गरेको संस्था । तत्कालीन सिर्जना युवा क्लबबाट अहिले सिर्जना विकास केन्द्र भएको छ । म त्यतिबेला कार्यालय सचिव पनि थिएँ । त्यतिबेला मलाई तपाईं स्कुलतिर जानुहोस् तपाईंलाई खर्चपानी पनि हुन्छ रोजिरोटीका लागि पनि राहत हुन्छ भनियो । भाषा पनि सिकेँ र भाषा सिकेपछि शिक्षक भए ।
दोभाषे नहुँदा बहिरालाई स्वास्थ्य लगायत विभिन्न काममा बाधा आउने गरेको भन्ने गुनासो छ नि ?
गुनासो भन्दापनि यो जटिल समस्या हो । दोभाषेको कमी छ। सरकारको तर्फबाट दोभाषेको व्यवस्थापन हुनु आवश्यक छ । विरामी भएर जचाँउन जाँदा, नागरिकता वा कुनै सरकारी कार्यालयमा सिफारिस लिन जाँदा समेत उनीहरुलाई निकै समस्या छ । सबै निकायमा नभएपनि प्रमुख र आवश्यक क्षेत्रमा दोभाषेको व्यवस्थापन गरिदिने हो भने उनीहरुको जीवन सरल तरिकाले नै अघि बढ्ने थियो । दोभाषे हुन पनि सहज छैन् । तीनवटा भाषाको ज्ञान त हुनैपर्छ । नेपाली, अंग्रेजी र सांकेतिक भाषा । मानौँ, तपाईँ हामी नै चाइनिज वा कुनै नसुनेको भाषा बोल्ने ठाउँमा गयो भने कस्तो हुन्छ ? बिरानो लाग्छ । हामीलाई गाली गरेको हो या मार्छु भनेको या सम्मान गरेको बुझ्दैनौँ । बहिराहरुलाई पनि उस्तै हो, दोभाषे नहुँदा ।





