पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालमा विदेशी र आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । विश्वकै सुन्दरमध्येको फेवातालमा पछिल्लो ९ वर्षको तथ्यांक हेर्दा ८ वटा दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाए । दुई साताअघि पोखरामा हावाहुरीका कारण डुङ्गा दुर्घटना भयो । राज्यले विपद व्यवस्थापन समिति समेत बनाएको छ । दुर्घटना न्यूनीकरण तथा सम्भावित दुर्घटनाबाट जोगाउनका लागि टावर राखिएको छ । के यी प्रबन्धहरु काफी छन् त ? ढोरपाटनकर्मी विजय नेपालीले फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीसँग सोधे–डुंगा सयर सुरक्षित कसरी बनाउने ?
भर्खरै हामी कसैले नसोचको अकल्पनीय दुर्घटना हुन पुग्यो । घटनाप्रति फेवा डुङ्गा व्यवसायी समिति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । यो दुर्घटनालाई हेर्दा चालक नलगेको देखिएको छ । चालक लगेको भए सायद त्यो घटना हुने थिएन् । चालक चिनेको साथी भएकाले डुङ्गा लगिएको रहेछ । एकै परिवारका पाँच सदस्य आउनुभएको रहेछ । उहाँहरुले प्याडल बोट लग्नुभएको हो । ठूलो हावाहुरी लागेपछि उहाँहरु तालको किनारमा पुग्नुभएको रहेछ तर पनि दुर्घटना भयो ।
फेवातालमा अहिलेसम्म कति डुङ्गा दुर्घटना भए र कतिको मृत्यु भयो ?
अहिलेसम्म कति डुङ्गा दुर्घटना भए भन्ने ठ्याक्कै तथ्याङ्क त मसँग छैन् । तर केही दिनअघि समाचारमा देखे अनुसार चाहिँ ९ वर्षमा फेवातालमा ८ वटा दुर्घटना भएका रहेछन् । जसमा ९ जनाले ज्यान गुमाएका रहेछन् । यो डुङ्गा दुर्घटनाको मात्रै हो तीबाहेक अन्य घटनाहरु पनि भइराख्छन् ।
भनेपछि ताल असुरक्षित हो ?
हैन । सुरक्षित छ । सम्भावित जोखिमलाई ध्यान दिइएको छ । सुरक्षा प्रबन्ध गरिएको छ र उद्धार टोली पनि क्रियाशिल छ । केही दिनअघि जुन डुङ्गा दुर्घटना भयो, त्यतिबेला घटना घटेको करिब १० मिनेटभित्र हाम्रा भाइहरु त्यहाँ पुगेका छन् । उहाँहरुले उद्धार गर्नुभएको हो ।
फेवातालमा कति डुङ्गा छन्, अवस्था कस्तो छ ?
फेवातालमा चल्ने ७६७ वटा डुङ्गा छन् । ती सबै डुङ्गा व्यवसायी समितिमा आबद्ध छन् । अवस्था त सबैको राम्रो नै छ । किनकि, यो पानीमा हुने भएकाले यसको मर्मत संभार गर्नैपर्ने हुन्छ । अर्को कुरा, पर्यटकीय क्षेत्र भएकाले पनि हामीले सुरक्षालाई पनि ख्यालमा राख्ने गरेका छौं । त्यसैले डुङ्गा सबै राम्रो छ ।
उद्धारको कुरा आउँछ । वाच एण्ड रेस्क्यु टावर पनि नजिकै छ, टावरबाट नजिकै हुँदा किन ढिला भयो ?
हामीले १० मिनेटमा उद्धार गरेको हो । उहाँहरुले हेङगर लिएर जानुभएको थियो । डुङ्गा पल्टिएको अवस्थामा थियो । पाँचै जना डुङ्गा तल च्यापिनुभएको थियो । हेङगरको सहायताले डुङ्गा तान्दा चारजना माथि उत्रनुभयो । लाइफ ज्याकेट लगाउनुभएकै थियो । छत्रीमा अड्किनुभएको रहेछ । २० मिनेट जति अड्किएपछि पानी खानुभएको रहेछ बेहोस हुनुभयो । रेस्क्यु गरेर अस्पताल लगेपछि डाक्टरले मृत्यु भएको भन्नुभयो ।
फेवाताल कसरी सुरक्षित छ त ? यहाँका डुङ्गा कत्तिको सुरक्षित छन् ? तपाईंहरुका योजना के छन् ?
पहिला पनि सशस्त्र प्रहरीको टावरमा साइरन थियो । हावाहुरी चल्नुभन्दा पाँच दश मिनेट अघि त्यो साइरन बज्ने गथ्र्यो । दुर्घटना हुनसक्छ है भन्ने हेतुले साइरन बजाइन्थ्यो । त्यो बजेपछि सबै डुङ्गा सुरक्षित स्थानतर्फ लाग्थे । अहिले चाहिँ यो साइरन बिग्रिएको छ । साइरन बनाउनु उहाँहरुको मात्र दायित्व होइन्, हामी डुङ्गा व्यवसायीको पनि हो । साइरन व्यवस्थापनका लागि अब हामी पनि लाग्नेछौं । साइरन बनाएर हुन्छ वा नयाँ किन्ने हो, त्यसतर्फ ध्यान पुगेको छ । म के कुरा जानकारी गराउन चाहन्छु भने, पोखरामा जुन डुङ्गा दुर्घटना भयो त्यसले जीवन बीमा पनि गर्नुपर्छ भन्ने सोच आएको छ ।
कसको गर्ने ?
चालक र यात्रु दुवैको । यसका लागि इन्स्योरेन्स कम्पनीहरुसँग सहकार्य गर्नेछौं ।
महानगर र प्रशासनको विपद् व्यवस्थपन सम्बन्धि समिति पनि छ । पूर्वतयारीका योजना पनि बन्ने गर्छन् तर साइरन विग्रिएको कुरा अवगत भएको छ कि छैन ?
खबर त भएको छ । साइरन विग्रिएको छ भनेकै हो । यसको जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । सशस्त्रको एसपी साबलाई मैले अस्ति नै पनि भनेको थिएँ । अनि सइ साबले भन्नुभएको थियो ।बनाउनलाई बाहिर नै पठाउनुपर्छ । छलफल गरेर मात्रै अघि बढ्ने छौं ।
उद्धारसम्बन्धी तयारी चाहिँ कस्तो छ ?
सेनाको रेस्क्यु टिम छ । सशस्त्रको पनि छ र हामी डुङ्गा व्यवसायीको पनि छ । हाम्रो पनि एउटा मोटरबोट छ । सुरक्षा निकायको पनि मोटरबोट छ । हामीले मोटरबोट भएकाले उद्धार गर्न सकेका हौं । त्यो बोट नभएको भए सायद हामीले अन्य चार जनालाई समेत गुमाउँथ्यौ ।
सबैले पौडी खेल्न जान्दैनन् । यस्तो अवस्थामा दुर्घटना भयो भने कसरी उद्धार हुन्छ त्यससम्बन्धी तपाईहरुका सुझाव !
पहिलो कुरा त हामीले चालक विना डुङ्गा दिदैनौं । दोस्रो कुरा भनेको यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटको व्यवस्था छ । लाइफ ज्याकेट अनिवार्य हो । नलगाइ डुङ्गा चढ्न पाइँदैन । विशेष गरी फागुन, चैत, वैशाख र जेठमा । कतिपय अवस्थामा डुङ्गा चालकलाई पनि ज्ञान हुँदैन् । कस्तो अवस्थामा के गर्ने भन्ने कुराको । तर, डुङ्गा चलाउने ज्ञान भने छ । जब चालक र लाइफ ज्याकेट विना डुङ्गा लैजान्छन्। तब दुर्घटना हुने सम्भावना बढी हुन्छ । चालक र ज्याकेट विना यात्रुलाई डुङ्गा नदिने भनि निर्णय पनि गरेका छौं । हामी त्यसमा कार्यान्वन गर्न प्रतिबद्ध छौं ।





