बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पानी नै कम पर्ने मुस्ताङको कागबेनीमा कसरी पस्यो भेलबाढी ?

पानी नै कम पर्ने मुस्ताङको कागबेनीमा कसरी पस्यो भेलबाढी ?


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०८०, सोमबार

पोखरा / मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए। कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र स्थानीयवासीको बाढी आएको सूचना पाएपछि भागदौड भयो।

‘खाना खाने तयारी गर्दै थियौं। बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पाकेको खाना छाडेर भाग्यौं,’ उनले भने, ‘यहाँका बुढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो पानी परेको बताउँछन्।’

आइतबार राति आएको भलबाढीले पर्यटकीयसँगै र धार्मिक महत्वको कागबेनी बजार क्षतिग्रस्त बनाएको छ। बाढीले इलाका प्रहरी कार्यालय, प्रभु बैंक बसेको भवन, अपर मुस्ताङ जोड्ने पक्की पुल, सामुदायिक विद्यालयमा क्षति पुर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार कालो लेदोसहितको बाढीले २२ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने अरू घरमा पनि क्षति पुगेको छ। पुल वगाउदा माथिल्लो मुस्ताङसंगको समबन्ध विच्छेद भएको छ ।

कागबेनीमा यति ठूलो भेलबाढी किन आयो ? 

मुस्ताङ तुलनात्मक रूपमा कम पानी पर्ने जिल्ला हो। जल तथा मौसम विज्ञान विभागको आँकडाअनुसार जोमसोम केन्द्रमा वर्षभरिमा औसत २९२.७ मिलिमिटर पानी पर्छ। विभागका अनुसार जोमसोमदेखि माथिल्लो क्षेत्रमा झन् कम पानी पर्छ।

वर्षातकै समयमा पनि मुस्ताङको तल्लो तटीय क्षेत्रमा कम पानी परेको तथ्यांक छ। विभागका अनुसार जोमसोम केन्द्रमा जुलाई महिनाभरि औसत ४६.८ मिलिमिटर र अगस्टभरिमा औसत ४३.९ मिलिमिटर वर्षा मापन हुन्छ।

केही वर्षयता मौसमले आफ्नो स्वभाव फेरेको छ। २०७८ असारमा मनाङसँगै सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पनि वर्षा खनियो। जलवायु विज्ञहरूले त्यसलाई हिमाली भेगको हाँडीघोप्टे वर्षा भएको बताए।

सिन्धुपाल्चोकको उत्तरपश्चिम भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले तल्लो तटीय क्षेत्र (किउल, चनौटे, मेलम्ची बजारलगायतका ठाउँ) खण्डहर बनायो। आइतबार राति कागबेनीमा पनि मनाङ र हेलम्बुकै जस्तो गेग्रानसहित भेलबाढी आएको छ।

तुलनात्मक रूपमा कम पानी पर्ने मुस्ताङका किन भेलबाढी आयो भनेर हामीले जल तथा मौसम विज्ञान विभागलाई नै सोध्यौं। विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनिल पोखरेलले बाढीको कारणको खोजी भइरहेको बताए। अहिलेसम्मको सूचना र तथ्यांकलाई विश्लेषण गर्दा माथिल्लो भेगबाट बगेर आउने खोला थुनिएर एक्कासि खोलिँदा भेलबाढीको रूप लिएको हुन सक्ने उनले औंल्याए।

‘जोमसोम स्टेसनमा प्राप्त सूचनालाई विश्लेषण गर्दा त्यहाँ माथिल्लो भेगबाट बगेर आउने खोला थुनिएको हुन सक्छ। थुनिएको खोला एक्कासि खोलिँदा भेलबाढीको रूप लिएको हुनसक्छ। यो हाम्रो प्रारम्भिक आकलन मात्रै हो,’ पोखरेलले  भने।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले खोला नथुनिएको बताए। तल्लो र माथिल्लो  थुम्क्याइलो भूबनोट वर्षा नथेग्ने प्रकृतिको छ। उनले शनिबारदेखि नै सिमसिम पानी परिरहेको र त्यही पानीले लेदो बगाएर ल्याउँदा भीषण बाढीको रूप लिएको र व्यापक क्षति पुर्‍याएको बताए।

‘मुस्ताङ वर्षात् कम हुने जिल्ला हो। अन्यत्रको तुलनामा यहाँ वर्षा नगण्य हुन्छ भन्दा हुन्छ। तर, केही दिनयता निरन्तर वर्षात् भएको थियो,’ उनले भने, ‘त्यही कारण अचानक भेलबाढी आउँदा ठूलो क्षति भयो।’

वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरूङले पनि तल्लो, माथिल्लो मुस्ताङमा पानी नै कम पर्ने बताए। कागखोला र आसपासमा बर्सेनि बाढी आउने भए पनि प्रकोप क्षतिको रूप लिएको थिएन। बाढीको जोखिम नदेखेरै तटीय क्षेत्रमा घर, होटल बन्ने क्रम बाक्लिएको थियो।

तर, आइतबार राति साढे ७ बजेतिर बाढी आउँदा तटीय क्षेत्र कागबेनी खण्डहर बनायो। कागबेनी पर्यटकीय रूपले मात्र नभई धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको ठाउँको हो। मुक्तिनाथ तीर्थाटनमा जानेहरू कागखोला र कालीगण्डकीको संगमस्थलमा नुहाएर पितृ तर्पण दिन्छन्।

कुशे औंसीमा त त्यस क्षेत्रमा ठूलै मेला लाग्छ। पश्चिमतिरबाट बगेर आउने कालीगण्डकी र उत्तरतिरबाट बगेर आउने ठाडो कागखोलाको किनारको बजार नै कागबेनी हो।  अहिले त्यही ठाडोखोलामा गेग्रानसहितको बाढी आएको गाउँपालिकाका प्रवक्ता गुरूङले बताए।

कागखोला भन्दामाथि धुङ खोला छ। बाढीको उत्पत्ति त्यतैबाट भएको स्थानीयको अनुमान छ। ठाडो खोलामा भेल आउँदा किनारका घर भत्काउनुका साथै अधिकांश घरमा बाक्लो लेदासहितको भेल पसेको गुरूङले बताए।

‘मुस्ताङका डाँडाँकाँडा माटैमाटाको ढिस्कोजस्तो छन्। सानो पानी पर्नेबित्तिकै लेदो बग्न थालिहाल्छ। लेदो बढ्दै गएपछि वरिपरिका ढुंगा सोर्ने हुँदो रहेछ। चारैतिरबाट आएको त्यस्तो भेलले बाढीको रूप लिँदा व्यापक क्षति पुर्‍याउँदो रहेछ,’ उनले भने।

जल तथा मौसम विज्ञान विभागका अनुसार लोमनथाङ, समर गाउँ र भी गाउँमा वर्षा मापन केन्द्र राखिएका छन्। पछिल्लो २४ घन्टामा ती स्टेशनमा मापन भएको वर्षाको विवरण प्राप्त भएको छैन। मौसम प्रतिकूल रहेकाले त्यहाँको तथ्यांक केन्द्रलाई उपलब्ध हुन नसकेको मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए।

हुमागाईंका अनुसार कागबेनी नजिकैको तल्लो स्टेसन, जोमसोममा पछिल्लो २४ घन्टामा २५.२ मिलिमिटर वर्षा मापन भएको छ। जुन औसतभन्दा निकै नै बढी हो। ‘हामीले कागबेनी आसपासका स्टेशनबाट जानकारी पाउन सकेका छैनौं। वर्षा मापन यन्त्र नै भेलबाढीमा बगे कि भन्ने आशंका छ,’ हुमागाईंले भने,‘हामी फोनबाट जानकारी लिने प्रयास गरिरहेका छौं।’

आइतबार साँझबाटै खोलाको सतह बढ्न थालेपछि स्थानीयहरू सुरक्षित स्थानतिर गएका थिए। जसका कारण पनि मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए। अहिले बाह्य जिल्लाबाट काम गर्न पुगेका १५० कामदारलाई तल जोमसोम झार्ने तयारी भइरहेको प्रजिअ केसीले बताए। विस्थापित ५० स्थानीयबासीलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको उनले बताए।

‘अवरूद्ध विद्युत सञ्चालन गर्न विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको छ। पक्की पुल नै बगाएपछि माथिल्लो मुस्ताङसँगको पहुँच पनि टुटेको छ। त्यसठाउँका काठेपुल हाल्ने कि अरू विकल्प के हुन्छ भनेर छलफल गर्दैछौं,’ गाउँपालिकाका प्रवक्ता प्रमेशले भने, ‘अहिले सुरक्षाकर्मीहरूले लेदोसहितको बाढी पसेको घरबाट सामानहरू निकालिरहेका छन्। खोलाको सतह घटिसकेकाले त्रास पनि कम भएको छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->