स्याङ्जा/ नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढ्दो छ । नेपालले क्रिकेटमा छलाङ मारिरहेको छ । विश्व क्रिकेटका शक्तिराष्ट्र भारत र पाकिस्तानसामु नेपाली पुरुष क्रिकेट टोलीको प्रदर्शनले खेलप्रेमी हौसिए । त्यही बेला नेपाली महिला क्रिकेट टिमले विश्वकप एसिया क्षेत्रको छनोट खेलिरहेको थियो । पुरुषमा जस्तै महिला टिमले पनि टी–२० विश्वकप खेल्ने यात्रा अघि बढाइरहँदा भदौमा सेमिफाइनलमा थाइल्याण्डसंग ४६ रनले हार व्यहोर्दै विश्वकपको यात्रा टुंग्यायो । उक्त टोलीमा गण्डकी प्रदेशका दुई खेलाडी थिए सृष्टि जैसी र अञ्जली विश्वकर्मा । सृष्टि कास्कीकी खेलाडी हुन् भने अञ्जली स्याङ्जाकी । स्याङ्जा जिल्ला गण्डकी प्रदेशको एक मात्र त्यस्तो जिल्ला हो, जसले महिला क्रिकेटमा ठूलो खेलाडी उत्पादन गर्दै आइरहेको छ । ग्रासरुट लेभलबाट खेलाडी उत्पादनमा जोड दिएको स्याङ्जाले अहिले यु–१९ विश्वकपमा नेपाली राष्ट्रिय टोलीको सपना देखिरहेको छ । जिल्ला, प्रदेश छनोट हुँदै राष्ट्रिय टिममा खेलाडी छनोट गराउने स्याङ्जाको लक्ष्य छ ।
त्यही लक्ष्य अनुरुप अहिले स्याङ्जा जिल्ला क्रिकेट संघले ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न गरेको छ । सन् २०२४ मा हुने यु–१९ महिला विश्वकप एसिया छनोट खेलका लागि स्याङ्जा जिल्लाले जिल्लागत छनोटका लागि खेलाडी तयार गर्न ट्यालेन्ट हन्टको आयोजना गरेको हो ।
क्रिकेट पूर्वाधार नभएपनि हरेक विधालयमा पुगेर नै कार्यक्रम सञ्चालन गरिरहेको छ । खेलाडी छनोट गर्दै फुटबल मैदानमै क्रिकेटको प्रशिक्षण हुन्छ । त्यही फुटबल मैदानबाट निस्किएका खेलाडीहरुले नै गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् ।
०७६ सालबाट महिला खेलाडी उत्पादनमा लागेको स्याङ्जामा अहिले ३५ जना नियमित प्रशिक्षण गर्ने खेलाडी छन् । यसको नेतृत्व गरिरहेका छन् स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले । विना पूर्वाधार स्याङ्जाबाट क्रिकेटमा लागेका थापा पूर्वराष्ट्रिय खेलाडी हुन् ।
‘क्रिकेटलाई अघि बढाउ भनेर प्रशिक्षण सुरु गराएका हौं । हामी खेल्दा वातावरण थिएन । हामीलाई पनि लगिदियो हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो पूरा भएन । भावि पुस्ताले त्यो दुःख नपाओस भनेर हामीले क्याम्प चलाएका हौं,’ उनी सुनाउँछन्, ‘हामीले पनि सुुरुवात पुरुष खेलाडीबाटै गरेका हौं तर पछि महिला खेलाडी उत्पादनमा पनि जोड दियौं ।’ महिला खेलाडी उत्पादन गर्न विधालयमा जाँदा सुरुसुरुमा उनीहरुले विद्यालयबाट एउटै जवाफ पाउँथे त्यो हो ‘यहाँ छैन्,खेल्न सक्दैनन् ।’ स्याङ्जा पुतलीबजारबाट सुरु क्याम्प स्याङजामा फैलिँदै छ । अधिकांश विद्यालयमा क्रिकेट सिकाइन्छ । नपुगेको विद्यालयमा त्यही कार्यक्रम लिएर जाँदा सहजै स्वीकार गर्छन् । ‘सुरुसुरु सुरुमा हामीलाई निकै कष्ट थियो । छात्राहरुलाई क्रिकेट सिकाउँछौ भन्दा विद्यालयले मान्दैन्थे । यहाँ छैन् भनेर प्रिन्सिपलले भन्ने गर्थे । हामीले बलिङ÷ब्याटिङ सिकाउँछौ भन्दै मनाउन निकै मिहिनेत गर्नुप¥यो । तर, अहिले राम्रो खेल्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने बढ्ेका छन् ।’ खेलेर के पाइन्छ भन्नेहरुका लागि उदाहरण बनिरहेको छ स्याङ्जाको क्रिकेट । चार वर्षमा नै स्याङ्जामा क्रिकेट मोह बढेको छ । गण्डकी प्रदेशको टिममा अहिले पनि स्याङ्जाका ९–१० जना खेलाडी छन् । ‘क्रिकेट पुर्वाधार त छैन । फुटबल ग्राउन्ड मै प्रशिक्षण गराइरहेका छौं । पीच नभएपछि म्याटमा खेलाइन्छ । पूर्वाधारका लागि पालिकाहरुसँग पहल गरिराखेका छौं । जनप्रतिनिधि खेलप्रेमी नभएपछि गाह्रो हुँदो रहेछ ।’
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले एक व्यक्तिले नै समाज परिवर्तन गर्न सक्ने बताउँछन् । क्षेत्री भन्छन्, ‘एक जना व्यक्तिको मिहिनेतले त्यतिधेरै फरक पार्दो रहेछ । हामीकहाँ (प्रखेप) मा पनि ट्यालेन्ट हन्ट भनेर दुई वर्षसम्म निरन्तर १०÷१० लाख रुपैयाँ बजेट थियो । हामी त्यसको लागि ग्राउन्डलेभल मै जानुपर्ने हो । तर, यहाँ न आफू गर्छन् न अरुको सुन्छन् । दुःख लाग्दो कुरा त्यहि छ ।’ स्याङ्जाबाट अन्य जिल्लाले समेत सिक्नुपर्ने उनले बताए । स्याङ्जामाझैं हरेक जिल्लामा केही सम्भावना बोकेका खेलहरुको कार्यक्रम चलाउनुपर्ने सुनाए । त्यसो हुन सकेमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनी बताउँछन् ।
‘क्रिकेट खेलबाट महिला स–शक्तिकरण’ भन्ने नाराका साथ आगामी २०२४ मा आयोजना हुने यु–१९ महिला वल्र्डकप एसिया छनोटमा नेपालको टिममा गण्डकी प्रदेशका खेलाडी तयारी गराउने उदेश्यले प्रथम महिला उपमेयर कम आयोजना गर्न लागेको छ । आगामी कात्तिक १५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले १५ हजार तथा तेस्रो र सान्त्वना टिमले क्रमशः पाँच हजार र दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर, विकेटकिपर, फिल्डर र उदियमान खेलाडीले समान दुई÷दुई हजार रुपैयाँसँगै पुरस्कार प्राप्त गर्नेछन् भने, जुनियर उदियमान खेलाडी (१० जनाले) पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।





