पोखरा/ पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयमा छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ । कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच विभिन्न विधामा खेलकुद आयोजना गरि पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको सीप विकास तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड माविका निर्देशक माधवशरण उपाध्यायले बताए ।
कार्यक्रमको उद्माघाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २९का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले साविक लेखनाथका विद्यालयहरुका लागि खेलकुदको विकासका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले ४ दिनसम्म हुने कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । यस्तै व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछानेले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना प्रदान गरे । छैटौं डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिताको आज भएको सेभेन ए साइड फुटबल खेलतर्फ टिम आनन्द १२, अल स्टार १२, टिम सट, टिम कुशल दोस्रो चरणमा प्रवेश गर्न सफल भएको खेलकुद शिक्षक मनिष छेत्रीले जानकारी दिए ।
खेलकुदको पहिलो दिन सोमबार भएको सेभेन ए साइड फुटबल तथा छात्र तर्फ भलिवल, छात्र र छात्रा तर्फ टेबलटेनिस लगायतका खेलहरु खेलाईएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङले जानकारी दिए । खेलकुद प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ ।





