मुलुकमा ब्याप्त आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण नेपाली समाज चिन्तित छ । निराश छ र अलमलमा पनि । यतिवेला हरेक दलका नेता कार्यकर्ताहरुमा एक किसिमको उकुसमुकुस छ । हिजो जुन शक्तिले गणतन्त्र ल्याएका थिए, उनीहरुलाई नै यो गणतन्त्र कसरी बचाउन सकिएला भन्ने चिन्ता बढी छ । प्रस्तुत छ, यसै सेरोफेरोमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसंग गरिएको कुराकानीको सम्पादित अंश :
एकीकृत समाजवादीले जागरण अभियान चलायो, के उद्देश्यले सुरु गरिएको थियो यो अभियान ?
गएको चुनावदेखि हाम्रो पार्टीबाट पलायन हुने/छाड्नेहरुको एउटै भनाइ थियो, एकीकृत समाजवादीसँग एजेण्डा छैन । खासगरी नेकपा एमालेले यसलाई अझ धेरै प्रचार गरिदिएको थियो । यसलाई हामीले तोड्न जरुरी थियो ।
दोस्रो, हाम्रा जस्ता मुलुकहरुको अस्थिरता वा संकट मुलभूत रुपले बेरोजगारी र कुशासनले आउँछन् भनेर गएको १५ वर्ष, अझ त्योभन्दा अगाडिदेखि भन्दै आएका हौं । एमालेको नवौं महाधिवेशनमा त हाम्रो मुलभूत एजेण्डा नै थियो । त्यहीकारण हामीले अब वाम राजनीतिको बाटो समृद्ध नेपाल, सुखी नेपाली हो भनेका थियौं । यसले मात्र गणतन्त्रको खुट्टा टेकाउन सकिन्थ्यो ।
गणतन्त्रलाई बलियो बनाउने भनेको गण तथा जनता बलियो बनाउने, तिनका प्रतिनिधि संस्थाहरु बलियो हुने हो, जहाँ जनताका प्रतिनिधि संस्थाहरुले आमरुपमा जनतासँग हिजोको जस्तो ठालु वा हाकिमको जस्तो सम्बन्ध होइन, गणतान्त्रिक सम्बन्ध हुन्छ । गणतान्त्रिक सम्बन्ध भनेको कोहीभन्दा कोही ठूलो छैन किनभने कोहीभन्दा कोही सानो छैन भन्ने सिद्धान्त गणतन्त्रको सिद्धान्त हो यो । यसरी जाँदा मात्र हाम्रो राजनीतिलाई वेरोजगारी उन्मुलन र सुशासनमा टेकाउन सकिन्थ्यो । यो काम पार्टी र राज्य शक्तिमा ओलीजीको उदयपछि टुट्यो । यसमै बढी विवाद थियो ।
०७५ सालको बजेटमा नै यो रोजगारी श्रृजना गर्नेतिर राष्ट्रिय पुँजी विकास गर्नेतिर जाँदैछ कि अहिलेकै यथास्थितिलाई कायम राख्दै भ्युटावर, पानी जहाज, चुच्चे रेलको उडन्त हवा गफतिर जाँदैछ भन्ने प्रश्न उठेको थियो । त्यो विवाद संसद विघटन र पार्टी विभाजनमा गएर टुंगियो । नेकपा समाजवादी बनिसकेपछि पनि त्यो टुटेको कडी हामीले जोड्न सकेका थिएनौं ।
तेस्रो, मुलुकको एजेण्डा प्रष्ट नभएपछि पपुलिस्ट, साम्प्रदायिक, अराजक तथा पुनरोत्थानवादीहरु जाग्छन्, संसारभर यस्तै भएको छ । हामीकहाँ पनि अहिले गणतन्त्र, गणतान्त्रिक नभएकाले संकटहरु आइरहेका छन् । र, आजको आर्थिक संकट, राजजीतिक अस्थिरतादेखि सामाजिक अस्थिरताको सम्भावना सबैले हामीलाई अब यसलाई एजेण्डामा लैजानुपर्छ भन्ने ठाउँमा पुर्यायो । र, वेरोजगारी उन्मुलन र सुशासन स्थापनालाई एजेण्डा बनाएर अभियानमा गयौं ।
कोणसभा बाहेक आम नागरिकसँग छलफल पनि गर्नुभयो होला, के पाउनुभयो उहाँहरुमा ?
सामान्यता हामी बिहान ११ बजेतिर यात्रा सुरु गर्थ्यौं र साँझ ५/७ बजे छोड्थ्यौं । बस्ने ठाउँमा पुगिसकेपछि र भोलिपल्ट यात्रा सुरु गर्नुअघि सम्भव भएसम्म त्यहाँ बुद्धिजिवी, विद्यार्थी, महिला, कृषकहरुसँग भेटघाट छलफल गर्यौं । उद्योगी व्यवसायीहरु हामीसँग छलफल गर्न आफैं जागरुक थिए ।
यस्ता छलफलहरुमा उद्योगी व्यवसायीहरुमा अलि बढी छटपटी देखियो र, राजनीतिक रुपमा हामीभन्दा एकदमै फरक रहेकाहरुले पनि हामीलाई चासोका साथ सुने । खुलेर आलोचना पनि गरे । सरकारमा भएकाले पनि होला, केही गर्छन् कि भन्ने विश्वास पनि होला, अझ एजेण्डाका कारण पनि होला । किनकी हाम्रो यात्रालाई वेरोजगारी अन्त्य गर्न कृषिलाई खुट्टा टेकाउने हो, उद्यमलाई संरक्षण गर्ने हो भन्ने मुद्दाले उहाँहरुलाई बढी छोएको पाएँ ।
अभियानले पार्टी कार्यकर्तामा रहेको अस्पष्टता कति सम्बोधन गर्न सक्यो जस्तो लाग्छ ?
पार्टीका कार्यकर्ता, स्थानीय नेताहरु, केन्द्रीय नेतृत्व तहमा पनि यसले जुन आशा, विश्वास सृजना गरेको छ, त्यो तहको विश्वास यो अभियानले मात्र सृजना गर्दैन कि भन्ने लागेको थियो । व्यक्तिगत रुपमा भन्दा मैले सोचेभन्दा राम्रो आशा विश्वास पार्टी कार्यकर्तामा पलाएको छ । यो पार्टी भित्रको आन्तरिक मामिलाका हिसाबले भन्ने हो भने हामीले धेरै राम्रो गर्यौं ।
तर यो मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने र त्यसका वरिपरि आजको राजनीतिलाई डोहोर्याउन सकेनौं भने त्यो आशा विश्वास धेरै लामो रहन सक्दैन । त्यसैले राष्ट्रिय राजनीतिको मुल मुद्दा बनाएर अगाडि जानुपर्छ भन्ने समीक्षा गरेका छौं र आगामी दिनमा हामी यसमा केन्द्रित हुन्छौं ।
तर कार्यकर्तामा भन्दा ठूलो असन्तुष्टि र आक्रोश त आम जनतामा छ, जुन आम निर्वाचनमा पनि धेरथोर देखिएको थियो । अभियानका क्रममा चाहिँ कस्तो पाउनुभयो ?
अस्थिरताका शक्तिहरु खासगरी धार्मिक, जातीय र क्षेत्रीय मुद्दाहरुमा जनतालाई फाटो पार्नेहरुबारे आमरुपमा जनता सचेत देखिन्छन् । समाजको मूल शक्तिप्रवाह त्यसको पक्षमा छैन । तर अहिलेको आर्थिक संकट, राजनीतिक अस्थिरता सबैले त्यो समाजको नेतृत्वकारी समुदाय अलि चिन्तित छ । केही जानेको, केही बुझेको, स्थानीय भए पनि अलि टाढासम्म हेर्ने, राष्ट्रिय तहमा सोच्ने वर्ग अलि निराश छ, अलमलमा छ । कांग्रेस, एमाले, माओवादी, हाम्रै जुनसुकै दलको साथीहरुमा एक खालको उकुसमुकुस छ । गणतन्त्रका शक्तिहरुले यो गणतन्त्र कसरी बचाउलान् भन्ने बढी प्रश्नहरु छन् ।
किनकी हाम्रो सम्पूर्ण राजनीति पपुलिष्ट र व्यक्ति केन्द्रित भयो । पुराना राजनीतिक दलका नेताहरुले ‘अझै धेरै भोट देऊ, मैले गर्छु’ भन्दै आएको हो । नयाँले सिकेको पनि यही हो । यसरी गर्छु भनेर आएको त होइन । पुरानाले सकेनन्, मैले गर्छु भनेको मात्र हो । यसले समाजमा भयंकर ठूलो प्रभाव पारेको छ ।
यो यात्रामा हामीले रोजगारी केन्द्रित भएर कसरी गर्न सकिन्छ भनेर गरेको तर्कलाई पत्याएका छन्, विश्वास गरेका छन् । कृषि र कृषकको संरक्षण, हरेक बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, योभन्दा बढीमा कृषकले बजारमा बेच्न पाउने, बेच्न सक्दैन भने राज्यले किनिदिने ग्यारेन्टी गर्ने । सम्पूर्ण कृषि व्यवस्थालाई पाँचदेखि सात वर्षमा यो नयाँ प्रारुपमा लैजान सकिन्छ । यसले कृषिमा आधारित उद्योगहरुको वातावरण बनाउँछ ।
औद्योगिकरण भएका मुलुकहरुले केही न केही आफ्ना सामर्थ्यलाई प्रयोग गरेका छन् । हाम्रो सामर्थ्य जलस्रोत हो । जल ऊर्जालाई यसरी सस्तो बनाउनुपर्छ, जसको अधिकतम उपयोगबाट आफ्ना उत्पादनलाई अरु मुलुकको उत्पादनसँग प्रतिस्पर्धी बनाउन सकुन्, त्यो तहसम्म हामीले उद्योगहरुलाई समेत संरक्षण गर्नुपर्छ । यसरी जाँदा खानी, कृषि, वन, पानी लगायत हाम्रा प्रारम्भिक उद्योग हुन् । रकेट, स्याटेलाइट लगायतका उद्योगको कुरा गर्यौं भने हामीलाई एजेण्डाबाट पर लैजान्छ ।
यसका लागि सुशासन चाहिन्छ । हरेक दल यस्तो बन्नुपर्छ कि जसभित्र भ्रष्ट नजन्मिउन् । संरचनागत र नीतिगत रुपमा पार्टी त्यसरी तयार हुनुपर्छ भन्ने तर्क आम रुपमा मानिसहरुले मन पराएका छन् । तर ‘यही पार्टीले गर्छ ?’ भनेर सोधेका छन् । ‘यिनै नेता हुन्, हिजो पनि भन्दै थिए’ भनेर शंका गरिरहेका छन् । अर्कोतर्फ एकीकृत समाजवादी सानो छ । यसले गर्दा हुन्छ त भन्ने प्रश्न उत्तिकै छ । बोलेर वा नबोलेर, कसैले ठूलै स्वरमा बोलेर पनि यही कुरा बताएका छन् ।
पार्टी कार्यकर्ता तहमा चाहिँ गणतन्त्रका शक्तिहरुले यो गणतन्त्र कसरी बचाउँछन् ? फेरि एउटा मुद्दामा एकैतिर आउँछौं त भन्ने उकुसमुकुस छ, सबैतिर प्रश्न छ ।
गणतन्त्रमथि प्रश्न उठ्नुमा त अहिले भएका प्रमुख पार्टी र त्यसको नेतृत्वमा बसेकाहरुको गतिविधि नै जिम्मेवार छ नि, होइन ?
मुख्यत पुराना पार्टीहरु, जसले हिजो पञ्चायत फालेपछि गणतन्त्र ल्याए, ती पार्टीहरु गणतन्त्र आएपछि जसरी हिँड्नुपर्ने थियो, त्यसरी हिँडेनन् । त्यसपछि मात्रै यो सम्पूर्ण प्रतिक्रिया उत्पन्न भएको हो । गणतन्त्रमा अनेक विकृतीहरु आए । खासगरी हिजो राजाले खाएका थिए, अब शक्तिमा पुग्ने अरुले खाने हो भन्नेजस्तो भयो ।
फेरि इतिहास हेर्ने हो भने सधैं यस्तो भएको छ । पहिले-पहिले ठूला-ठूला दास विद्रोह हुन्थे । दासहरुले जितिहालेमा मालिकहरुका हवेलीमा जाने, बस्ने, तिनका खाटमा सुत्ने गर्थे । संसारका किसान विद्रोहहरुमा पनि त्यस्तो देखियो । किसानहरुले विद्रोह गर्थे, पछि तिनै नेता गएर जमिन्दारका घोडामा हिँड्ने, तिनका हात्तीमा चढ्ने काम गर्न थाले । यो धेरै पहिलेदेखि राजनीतिमा चलिआएको प्रवृत्ति हो । हाम्रो पनि राणाहरुले भागै लगाएर खाएका थिए । राजाहरुले पनि एकखालको भागै लगाएका थिए । स्रोत सानो थियो, तर जति थियो, चुसेरै खाएका थिए । त्यो प्रवृति गणतन्त्रमा पनि सरेको छ ।
यसअर्थमा हिजोका पुराना प्रवृत्तिहरुले गणतन्त्र अशुद्ध भएको छ, गणतन्त्रमा विकृतीहरु आएका छन् । गणतन्त्रको शुद्धीकरण अबको राजनीतिको मुख्य केन्द्र बनाउनुपर्छ । यो भनेको के हो भन्नुहुन्छ, यो भनेको हरेक युगमा एउटा कार्यभार हुन्छ । आज गणतन्त्रलाई अझ फैलाउने, मजदुर, किसान, सिमान्त श्रमजिवी, यहाँ पढ्न नपाएर विदेश हिँडिरहेकाहरुलाई बाटो दिने हो । यो गणतन्त्र उनीहरुको जीवनमा आउनुपर्छ । महिला, जनजाति, दलितको जीवनमा गणतन्त्र आउनुपर्छ । बोल्ने स्वतन्त्रता पायौं भनेर मात्र पुग्दैन, रोजगारी, बस्ने-खाने अवस्था अर्थात जीवन गुणस्तरीय बनाउनुपर्छ । गणतन्त्रले आमरुपमा हिजोको तुलनामा आजको जीवनलाई गुणस्तरीय बनाउनुपर्छ, नयाँ जिन्दगी दिनुपर्छ । राजतन्त्रमा पनि त्यही जिन्दगी, प्रजातन्त्रमा पनि त्यही जिन्दगी, गणतन्त्रमा पनि त्यही जिन्दगी ? यो तरिकाले हुँदैन ।
राणाशाही फालेको पनि नयाँ जीवन बाँच्नका लागि हो । त्यतिबेलामा गीत सुन्नुस्, पर्चा पप्लेटहरु हेर्नुस्, नेताहरुको भाषण सुन्नुस्, राणाशाहीको जडताबाट हामी बाहिर निस्कनुपर्छ भन्ने थियो । ‘हामी स्वतन्त्र हुनेछौं, काम पाउनेछौं, उद्यम हुनेछ’ यही नारा हो हामीले २००७ सालमा लगाएको । यही कुरा राजाले २०१७ सालमा उठाए । ‘दलहरुले गरेनन्, यही काम गर्छु’ भनेर २०१७ सालको कदम चाले । मैले हेर्दा भूमिसुधारमा राजाले घुडा टेकेपछि राजतन्त्रले आफ्नो खाल्डो खनिसकेको थियो । कुनै न कुनै दिन राजतन्त्र जान्थ्यो । किनभने त्यस (त्यो भूमिसुधार) ले नयाँ जिन्दगी दिनै सक्दैनथ्यो ।
हामीले २०४७ सालमा प्रजातन्त्र ल्यायौं । त्यतिबेला हामीले गाएका गीत, लगाएका नारा, लेखेका पप्लेट, पर्चा घोषणामा यही नयाँ जिन्दगीकै कुरा छ । तर हामीले भएकै उद्यम बेच्यौं, नयाँ उद्यम खोलेनौं । केही भएन भन्ने त होइन, तर जनताले जिन्दगीमा महसुस गर्नुपर्ने गरी जुन तहमा कबुल गरेका थियौं, जनताले जसरी सोचेको थियो, त्यसरी भएन । जनताले भएकै कुरालाई पनि विश्वास गर्न छाडे । किनभने हामीले गरेर भएको हो भन्ने नै देखिएन ।
हामी राजनीतिकर्मीहरुको सादगी जिन्दगी, अझ भन्दा जनताको जस्तो देखिएन । राजनीतिमा लाग्नेहरुको जीवनस्तर ह्वात्त बढ्यो । पार्टीमा लागेका नेता, कार्यकर्ता, टाठाबाठाहरुको त भएको छ, हाम्रो भएन भन्ने असन्तुष्टि जनतामा थियो ।
भोको पेट भरिने तन्त्रले सुशासन खोज्छ, यसर्थ रोजगारीको सृजना र सुशासनको मुद्दामा केन्द्रित भएर गणतन्त्रको शुद्धीकरण अभियान चलाऔं ।
त्यही बेला राजा शक्ति हत्याउन लागे । अर्कोतिर माओवादीले पनि यही आक्रोशलाई भजायो । अन्ततः जाने परिस्थिति भयो, हामीले फेरि नयाँ जिन्दगीकै कुरा गर्यौं । यसअर्थ राणाशाही फाल्न लगाइएको नारा, त्यसबेला कबुल गरिएको नयाँ जिन्दगी बाँकी नै छ । यो गणतन्त्र त्यतापट्टी जानुपर्ने हो नि ।
तर अलिकति राणाका, अलिकति राजाका, अलिकति पार्टीका विकृतिहरुको उत्तराधिकार गणतन्त्रमा सर्दै आयो । त्यसैले गणतन्त्रको शुद्धीकरण गरेर त्यही नयाँ जिन्दगीको ग्यारेन्टी गर्नुपर्छ । यो भनेको रोजगारी सृजना गर्नुपर्छ, सुशासन ग्यारेन्टी गर्नुपर्छ ।
मानौं, कुनै दिन गणतन्त्रमाथि संकट आयो । चार दिन अथवा एक महिना गणतन्त्र जाला । त्यसपछि पनि कसैले नयाँ जिन्दगीको कबुल गर्ने नै हो । त्यसले झनै परिवर्तन दिन सक्दैन । किनभने धार्मिक मतान्धहरुको समूहले नयाँ जिन्दगी दिएको छ कहीँ ? यो बेकारको कुरा हो । क्षेत्रीय वा जातीय साम्प्रदायिक मतान्धले खास वर्ग, त्यसको सरदारलाई सजिलो बनाएको छ होला, तर राष्ट्रलाई नयाँ जिन्दगी दिन सक्दैन । त्यसैले गणतन्त्र नै यस्तो व्यवस्था हो, जसले आम रुपमा राजनीतिक एवं संवैधानिक रुपमा सबै जनताको नयाँ जिन्दगीको ग्यारेन्टी गर्छ । यस अर्थमा आजको एजेण्डा गणतन्त्रको शुद्धीकरण हो ।
ठीक भएन भन्ने त सबैले स्वीकार गर्छन् । तर मैले होइन, अरु मात्र सुधि्रनु पर्छ भन्ने सोच नै समस्या हो जस्तो लाग्छ । यो सोच रहेसम्म कसरी होला गणतन्त्रको शुद्धीकरण ?
प्रमुख पार्टीहरुको नेतृत्वको अस्पष्टता र नालायकीले अहिले मुलुकमा पपुलिष्ट र अरु शक्तिहरु आएका छन्, तिनीहरुको स्वर चर्को देखिएको छ । किनभने गणतन्त्र ल्याउने शक्तिहरु अहिले आफ्नै नेताहरुबाट निराश छन्, द्विविधामा छन् ।
तर एजेण्डा ठिक भयो भने यो उकुसमुकुसले गणतन्त्र शुद्धीकरणका लागि एउटा हलचल शुरु हुन्छ भन्न लाग्छ । यस्तो भनिहाल्नु कतिको राम्रो हुन्छ, तर केही महिना, करिव-करिव एक वर्षभित्रै गणतन्त्र शुद्धीकरणको राष्ट्रिय हलचल म क्षितिजमा देख्छु । किनभने गणतन्त्रमाथि चुनौती बढ्दै गइरहेका छन् । यो चुनौती बढ्दै गएको अवस्थामा गणतन्त्रवादीले आफ्ना नालायक नेताहरु र नालायक नेताहरुको स्वार्थ, तिनको नीति पछ्याएर बस्दैनन् । एउटा यस्तो बेला आउने छ, जतिबेला सारा गणतन्त्रवादीहरु एक ठाउँमा आउने छन् ।
जस्तो ०४६ सालमा हामी नै हो कांग्रेसको झण्डा बोकेर हिँड्ने, कयौं ठाउँमा कांग्रेसले हाम्रो झण्डा बोकेर हिँड्यो । गणतन्त्र ल्याउने बेलामा पनि हामी एक ठाउँमा आयौं । कसले कसको झण्डा बोके, अर्थ थिएन । सबैले गणतन्त्रको झण्डा बोकेका हौं भन्ने थियो । त्यसैले हिजो हामीले एकचोटी प्रजातन्त्रको झण्डा बोक्यौं, अर्को चोटी गणतन्त्रको झण्डा बोक्यौं । अब मुलुकले गणतन्त्रको शुद्धीकरणको झण्डा बोक्छ । एक वर्षभित्र मुलुकमा त्यो हलचल आउछ । त्यसले भित्र र बाहिर पनि बढार्छ, आजका पार्टीहरुलाई त्यसले ठेगान लगाउँछ । प्रश्न उठेका मानिसहरुलाई त्यसले किनारा लगाउँछ ।
हिजो हामीले नाकाबन्दीलाई पनि शानका साथ सामना गर्यौं, मान्छेहरुले सहजै पत्याएका थिएनन् । किनभने नेतृत्वमा द्विविधा थियो, नेतृत्वकै मान्छेहरु करबलले त्यहाँ पुगेका थिए । तर जनताको तहमा ठूलो समर्थन रह्यो, कसैले पनि सरकारमाथि प्रश्न उठाएन । भूकम्पका कारण हाम्रो करिब एक तिहाइ अर्थतन्त्र डामाडोल भएको थियो । त्यस्तो बेलामा समेत लड्यो यो नेपाली जात । त्यसैले म त्यो सम्भावना बलियो, प्रबल र शक्तिशाली देख्छु ।
त्यो भएन भने चाहिँ धार्मिक, जातीय वा अरु जेसुकै आवरणमा होस्, पुरातन वा साम्प्रदायिक शक्तिहरुले पनि नयाँ जिन्दगीको सपना देखाउन सक्ला नि त ?
नेपाल राष्ट्रलाई एकीकृत राखेर गणतन्त्र बाहेकको अर्को शक्ति आएर राज गर्छ भन्ने मलाई लाग्दैन, या त नेपाल विभाजित हुन्छ । किनभने जातीय हिसाबले हेर्ने हो भने यो चीन पनि होइन, सांस्कृतिक हिसाबले हेर्ने हो भने यो भारत पनि होइन ।
हामी यस्तो समाजमा छौं, जहाँ सबै अल्पसंख्यक छन् । समावेशीता आदि इत्यादिको सवालमा एक/दुई अंक तल/माथि होला । तर सबै जातजाति, भाषा, धर्म, क्षेत्र, लिंगको प्रतिनिधित्व हुने राज्यव्यवस्था गणतन्त्रमा मात्र सम्भव हुन्छ ।
एकीकृत नेपालमा गणतन्त्र बाहेकको अर्को पपुलिष्ट शक्ति आएर केही लछारपाटो लाउँदैन, नेपालमा राज गर्न सक्दैन । त्यसो भए त्यस्ता शक्तिहरुले नेपाल विभाजित गर्न सक्छन् ? वा अन्तर्राष्ट्रिय शक्तिले पनि हामीलाई विभाजित गर्लान् ? आजको भूराजनीतिमा त्यो सम्भावना पनि म देख्दिनँ । त्यसैले भविष्यप्रति आशावादी छु । गणतन्त्रले खुट्टा टेक्छ, गणतन्त्र शुद्धीकृत हुन्छ ।
त्यो कसरी शुरु गर्ने त ?
खासगरी नेपाली कांग्रेसभित्र नेतृत्वको कचिंगल छ, त्यहाँ रहेका दोस्रो पुस्ता यसमा फस्नु हुँदैन । जसका हिजो कांग्रेसभित्र आशा र विश्वास थियो, उहाँहरु अहिले ‘कोशी जस्तो हुन्छ, कोशी जस्तो हुन्न’ भन्ने जस्तो बहस देख्छु । ‘शक्तिमा म जानुपर्छ, तँ जान हुन्न’ भन्ने उही पपुलिष्ट शैलीको बहसमा हुनुहुन्छ । म कांग्रेसका दोस्रो पुस्ताका गणतान्त्रिक साथीहरुलाई रोजगारी र सुशासनमा आउन आग्रह गर्छु । कांग्रेसका आम कार्यकर्ताको एजेण्डा पनि यही हो ।
एमाले त हामीले बनाएकै पार्टी यस्तो हो । तलको ठूलो (करिब ७५ प्रतिशत) पंक्ती त्यसरी नै हुर्केको हो । नेतृत्वले त्यो बाटो बिरायो, दोस्रो पुस्ता भयंकर अलमलमा छ । तलको शुद्धीकरणको आवाज सुन्ने हो कि माथिको यथास्थितिको आवाज सुन्ने भन्नेमा अलमलमा छ । तल जान्छ ‘तपाईंहरुले भनेकै कुरा ठिक हो, हामी प्रयत्न गर्दैछौं’ भन्छ । माथि आउँछ र चाकडी गर्छ ।
माओवादी हिजोकै सैन्य संगठनका रुपमा माथिले जे भन्छ त्यही पछ्याएर जाने प्रचलनमा छ । त्यहाँभित्र भयंकर उकुसमुकुस छ । नेतृत्वले त्यो उकुसमुकुस सुन्नुपर्छ ।
हाम्रो पार्टीमा नेतृत्वमा खासै विवाद छैन, अब त झन् हामी स्पष्ट रुपमा एजेण्डामा गइसकेका छौं । र, धेरै कुरा हामी आफैंले पनि सुधार्नुपर्ने छ । हामीलाई समर्थन गर्ने जनताले जे सोचिरहेका छन्, त्यो हामीले दिन सकिरहेका छैनौं । यो त शुरुवात मात्रै हो, यसैमा सन्तोष गरेर बस्न हुँदैन । नीतिगत र सांगठनिक रुपमा अरु धेरै परिवर्तन गर्नुपरे पनि हामी तयार हुनुपर्छ ।
यो आ-आफ्ना पार्टीहरुको पनि रक्षा गर्दै लोकतान्त्रिक र वाम आन्दोलनको रक्षा गर्दै अघि जाने बाटो हो । यदि यो भएन भने अलि बल प्रयोग गरेर अर्को पुस्ता आउनुपर्छ । यसले अलि बढी क्षति गर्छ । किनभने हामीले बाटो रोकिदिँदा शुद्धीकरणको चाहनाले बल प्रयोग गर्छ । हामीले बाटो दियौं भने सहजै अगाडि जान्छ । यसर्थमा गणतन्त्रको शुद्धीकरण गर्छौं कि गर्दैनौं भन्ने हाम्रो पुस्ताको पनि परीक्षा हो ।
खास परीक्षा नै तपाईंहरुको पुस्ताको होइन र ?
दायित्वका हिसाबले तपाईंले भनेजस्तै हो । सम्भावनाको हिसावले पनि हामीले गर्दा बढी हुने हो । यसअर्थमा प्रजातान्त्रिक समाजवाद वा समाजवादका कुरा गर्नुस् वा बैज्ञानिक समाजवादका कुरा गर्नुस्, भोको पेटमा कुनै पनि तन्त्र टिक्दैन । त्यसर्थ यो मुद्दामा केन्द्रित होऊ । भोको पेट भरिने तन्त्रले सुशासन खोज्छ, यसर्थ रोजगारीको सृजना र सुशासनको मुद्दामा केन्द्रित भएर गणतन्त्रको शुद्धीकरण अभियान चलाऔं । मेरो पुस्ताका साथीहरुलाई मेरो अपिल त्यही हो ।





