०७२ को भूकम्पपछि हामीले कति सिक्यौँ, कति सुधार गर्यौँ ?
पहिलो भूकम्पपछि हामीले उद्धार, उपचार, राहत र व्यवस्थापनबारे धेरै सिक्यौँ । अहिलेको भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट सहयोग वितरण भइरहेको छ । जिल्लाले पालिका र पालिकाले वडामार्फत राहत वितरण गरिरहेका छन् । यो हामीले विगतबाटै सिकेका हौँ । अहिले भूकम्पपछि तथ्यांक संकलन पनि निकै व्यवस्थित भएको छ । मृतक, घाइते, भत्केका संरचना आदिको तथ्यांक स्थानीय तहले संकलन गरिसकेका छन् । अब प्रभावित क्षेत्रमा छिटै पुनर्निर्माण हुनुपर्छ र भूकम्पप्रतिरोधी संरचना बन्नुपर्छ भन्ने अवधारणा बलियो बनेको छ ।
यस्ता विपत्तिको सामना गर्न हामी किन तयारी अवस्थामा रहन सकेनौँ ?
हामी तयार नरहेको होइन । तयार रहन राहत सामग्री ‘स्टोरेज’ गरी राख्नुपर्ने हुन्छ । त्यस्ता सामग्री लामो समयसम्म स्टोरेज गरेर राख्दा खेर जाने सम्भावना पनि हुन्छ । तर, जेजस्तो भए पनि अबका दिनमा हामीले प्रत्येक जिल्लामा कम्तीमा पाँच हजार त्रिपाल मौज्दात राख्नुपर्ने देखिन्छ । यति गर्न सकियो भने देशभर जहाँ आवश्यक परे पनि तत्काल नजिकको जिल्लाबाट समेत लगेर वितरण गर्न सकिन्छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणजस्ता संरचनालाई नीतिगत औजारका साथ साधन, स्रोतसम्पन्न बनाउनुपर्छ ।
अहिले राहत वितरणको अवस्था कस्तो छ ?
सन्तोषजनक नै छ । सबैले भनेजति पर्याप्त राहत त पाउनुभएको छैन । तर पनि वितरण व्यवस्थित भएकाले सबैतिर पुगिरहेको छ । कतिपय दुर्गम स्थानमा सेनाको एमआई हेलिकोप्टर बस्न सक्ने स्थानसमेत नभएकाले राहत सामग्री पु¥याउन कठिनाइ भइरहेको छ ।





