बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रैथाने बाजा र गीत संरक्षणमा जुटेको लक्ष्य ब्याण्डको कथा अनि त्यो सपना

रैथाने बाजा र गीत संरक्षणमा जुटेको लक्ष्य ब्याण्डको कथा अनि त्यो सपना


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८०, आइतबार

पोखरा / बाजाहरुको राजा अरबाजो,सारङ्गी,मादल,खिन,ढोलकी,ढोल,दमाहा,धिमे,मुर्चुङगा अनि बाँसुरी ! यी नेपाली रैथाने बाजाहरु एकैचोटी बजेको देख्नुभएको छ ? के यी बाजाबाट निस्कने तालमा मालश्री र पुराना गीतहरु सुन्नुभएको छ ? छैन भने पोखराको लक्ष्य ब्याण्डका गीत सुन्नुहोस् ।

लक्ष्य ब्याण्डबारे जानकारी राख्नुअघि एकपटक सारङ्गी रेट्दै कर्खा र सवाइ गाउने झलकमान गन्धर्वको गाउँ बाटुलेचौर पसौं न त !

पोखरा-१६, बाटुलेचौर गन्धर्वहरुको गाउँ हो । कुनैबेला यहाँका गन्धर्वहरुको मुख्य हतियार सारङ्गी र मुख्य पेशा गायन थियो । मिलन–विछोड,सामाजिक विकृति,माया–पिरती अनि पहिलोर दोस्रो विश्वयुद्धले दिएका चोटका कथाहरु कहने उनीहरु नै थिए । समय बदलियो । गीत गाएरै पेट पाल्न मुस्किल भयो । जसोतसो पुख्र्यौली पेशा धानेकाहरुलाई पनि सशस्त्र द्वन्द्वले हिँडडुलमै अवरोध सिर्जना ग¥यो । बाध्य भएर उनीहरुले पेशा फेर्न थाले ।

यता, तत्कालीन पोखरा उपमहानगरपालिकाले उनीहरुमध्ये केहीलाई सरसफाइ शाखामा जागिर दियो । जागिरमा लागेकाहरुले सिर्जनामा ध्यान दिएनन् । पुर्खाबाट सीप,ताल र राग हस्तान्तरणको प्रक्रिया रोकियो । कहलिएको गन्धर्व बस्तीमा रित पु¥याएर गीत गाउने, सारङ्गी रेट्नेहरुको कमी भयो । परम्परागत सीप हराउँदै गएकोमा चिन्ता गर्नेहरुले सक्दो गरे तर त्यतिले मात्र पुगेन । सारङ्गी हराउँदै गएको भन्दै संगीत प्रशिक्षण केन्द्रले संचालनमा ल्याएको संगीत कक्षा,पोखराको सरसफाइ शाखाको कामसँगै सारङ्गीलाई नभुलेका धनबहादुर गायकहरुले परम्परा जोगाउन भरमग्दुर गरे । केही अध्येता र सहयोगी मनहरु पनि यो अभियानमा जोडिए ।

२०६७ सालतिरको कुरा हो बाटुलेचौर गन्धर्व बस्तीका केही किशोरहरुलाई पढाइसँगै संगीत सिक्ने अवसर जु¥यो । आवासीय सुविधासहित निशुल्क पढाइ र संगीत सिक्ने अवसर काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलले प्रदान गरेको थियो । पूर्ण नेपालीले यो अवसर जुटाएका थिए । सो अवसरको सदुपयोग गर्दै रञ्जन, समीर,विवेक, सुदीप, अभिनाष, विमल,खेवाल र अशोक गायक काठमाडौं पुगे । त्यहाँ उनीहरुले नेपाली संगीत क्षेत्रका हस्तीहरु पुरन नेपाली, उमेश पण्डित,योगेश गोपाली,ध्रुवेश रेग्मी,श्याम नेपाली भविन ढुंगानाबाट संगीतको ‘कखरा’ सिक्ने अवसर पाए । रगतमै संगीत दौडिएका किशोरहरुलाई माझिने अवसर थियो-त्यो ।

पछि, पोरखरा एकेडेमीको पोखरामै बसेर पढ्ने र संगीत सिक्ने अवसरले उनीहरुलाई पोखरा फर्कायो । पोखरा ब्याण्ड नै ब्याण्डको सहर पनि हो । ड्रम र गितारबाहेकका रैथाने बाजामा लत बसेका उनीहरुको ध्यान त्यस्तै बाजा बजाउने समूहतिर गयो । उनीहरुले ‘कुटुम्ब’ ब्याण्ड भेट्टाए । हातमा सीप,दिमागमा संगीतको लत र मनमा केही गरौं भन्ने भावना बोकेका उनीहरुले संगीतमै होमिने अठोटसहित ब्याण्ड बनाउ ।

एउटै टोलमा बस्ने ती किशोरहरुले ब्याण्डको नाम राखे–लक्ष्य । यो सन् २०१२ तिरको कुरा थियो । जन्मैदेखि बजाउन र गाउन जानेका युवाहरु प्रशिक्षणले माझिएका थिए । मुख्य कुरा त, आफ्ना पितापुर्खाले बोकेको सारङ्गी र उनीहरुले गाउने कर्खा र सवाइको महत्व बुझेका थिए । त्यसैले रैथाने धुन र बाजा संरक्षणलाई उनीहरुले गन्तव्य बनाए । ब्याण्डको लोगोमा नै सारङ्गीलाई केन्द्रमा थापना गरे ।

पोखरामा आयोजना हुने कार्यक्रमहरुमा कहिले एकल त कहिले सामूहिक प्रस्तुति दिँदै आएको यो समूहसँग फरक पृष्टभूमि तर चाहना एउटै भएका धीरज गुरुङ जोडिन आइपुगे ।
लमजुङमा जन्मेका, पोखरामा बढेका धीरजको संगीततर्फको झुकावको पनि छुट्टै कथा छ । उनी पोखराको फिस्टेल एकेडेमी पढ्थे । फिस्टेल भलिबलसहित खेलहरुमा कहलिएको स्कूल । भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी सिपोराको स्कूल भनौं न ! अझ यसो गरौं, धिरजको व्यक्तित्व बिर्सेर उनलाई पनि सिपोराको साख्खै दाइ भन्दिऊँ न !

हो, उनै धीरजलाई मिल्ने साथीले संगीत सिक्न जाऊँ भनेर घच्घच्यायो । धिरज पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको संगीत प्रशिक्षण केन्द्रमा साथीको साथी बनेर गए । तर, भइदियो कस्तो भने, साथीले संगीत सिक्न छाड्यो । उनी भने निरन्तर गइरहे । बाटो बदलियो । संगीतमोहले डोहो¥याएको बाटो हिँड्दै गर्दा उनी लक्ष्य ब्याण्डसँग जोडिए । संगीत सिर्जना र ब्याण्डको व्यवस्थापनको जिम्मा लिए ।

उनीहरुले बाटुलेचौरको पल्लोपट्टि रहेको गण्डकी बोर्डिङ स्कूल रोजे । यो सन् २०१२ तिरकै कुरा थियो । गीत गाउनुभन्दा अगाडि बाजाको चित्र देखाउने, बाजाको महत्व बुझाउने र त्यसबाट निस्कने ताल र सुरबारे जानकारी दिँदै लक्ष्यले पस्केको प्रस्तुतिले वाहवाही पायो ।

त्यसपछि लक्ष्यले आफ्नो लक्ष्य पच्छ्याउन थाल्यो । मौलिक बाजा र धुनहरु संग्रह गर्नुपर्छ । अरु त अरु ! गन्धर्वहरुले परम्परागत रुपले गाउँदै आएका र लोकप्रिय धुनहरु संगाल्नुपर्छ भन्ने अभियान सुरु भयो । लक्ष्यका सदस्यहरुले बुढापाकाको संगत थाले । उनीहरुले सारङ्गी रेट्दै गुन्गुनाउने गीतहरु बुझ्दै गए ।

‘कस्तो भएछ भने,गीत–संगीतको समृद्ध परम्परा भएको गन्धर्व समुदायमै सारङ्गी बजाउने र मौलिक गीत गाउने व्यक्ति हराउँदै गएछन् । अग्रजहरुले बहुमूल्य सिर्जनाहरु कि आफैंसँग लिएर गएछन्,कि केही बाठाटाठाले हत्याएछन्,’लक्ष्यका व्यवस्थापक धीरजले सत्य तर सुन्दा तीतोलाग्ने तथ्य सुनाउने क्रममा भने,‘आर्थिक अवस्था नाजुक हुँदाको बाध्यतामा कतिपय गीत संगीतहरु कौडीको मूल्यमा अर्काले आफ्नो बनाए पत्तो छैन तर सत्य के हो भने गन्धर्वसँग जे थियो,त्यो गतिलो मान्छेको हातमा नपुगेर लोपोन्मुख भयो । पूर्ण नेपालीजस्ता केही व्यक्तिको प्रयासले भला केही उपलब्धि हासिल भएको किन नहोस् !’

लक्ष्य के गर्दैछ त त ? संगीतमै होमिएर बाँच्न कठीन छ । लक्ष्यका सदस्यहरु चाहिँ पूर्णकालीन रुपले संगीतमै होमिएका छन् । बाँच्नको लागि उनीहरु रात्रिकालीन व्यावसायिक संगीत व्यवसाय वा अन्य सांगीतिक समूहको प्रस्तुतिमा जोडिँदै आएका छन् । तर, लक्ष्यकै लागि भने उनीहरुले रैथाने बाजा बजाएर मौलिक र लोपोन्मुख गीत–संगीत संकलन र गाउँदै आएका छन् । यही उपक्रममा उनीहरुले दशैं–तिहार र हर्षमा गाइने मालश्री धुन सिर्जना गरे । मौलिक असारे गीत पनि रेकर्ड गराए ।

‘मालश्री हाम्रो संस्कृति हो भनेर यसको सिर्जना गरियो, असारे गीत लोप हुनै लागेको थाहा पायौं,जोगानुपर्छ भनेर रेकर्ड गरेर राख्यौँ,’धिरज भन्छन्,‘ यो असारे गीत पनि कस्तो भभने, यसमा चण्डी र सेलोको मिश्रण छ । पूर्वमा गाइने चण्डी र तामाङ समुदायको सेलो मिसाएको यस्तो मौलिक सिर्जना राष्ट्रको सम्पत्ति बन्छ भन्ने हाम्रो सोच हो ।’

उनीहरु विभिन्न अग्रज सर्जकका गीतहरुको ‘कभर गीत पनि बनाउँछन् । आफ्ना सिर्जना बजारले माग्दैन भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । काम गर्दा कठीनाइ पनि उस्तै छ । कतिसम्म भने, उनीहरुले मालश्री धुन रेकर्ड गराए । तर, म्युजिक नेपालले चोरीको आरोप लगायो । ‘

ए बाबा ! नेपालीहरुले हर्षको बेला गाउने गीत पनि कहीँ कसैको हुन्छ, यो त लोकसंगीत पो भयो त,सवैले मुखमुखै गाउने र बजाए पो यसको संरक्षण हुन्छ,’धीरजको तर्क छ ।
लक्ष्यलाई चाहिँ अवरोधको पर्वाह छैन । उनीहरुले अहिले पुराना सर्जकहरुको मौलिक सिर्जना संग्रहको अभियान पनि चलाएका छन् । अस्ति भर्खरै उनीहरुले ९२ वर्षीय खिमबहादुर गन्धर्वका केही गीत रेकर्ड गरे । ९२ वर्षीय खिमबहादुरजस्तै अन्य सर्जकहरुको सिर्जना मर्न नदिने र पुस्ता हस्तान्तरण गराउनुपर्ने लक्ष्यको धारणा छ ।

‘हाम्रा अग्रजका सिर्जनाहरुलाई राष्ट्रको सम्पत्तिको रुपमा बुझ्नुप¥यो । पुस्ता हस्तान्तरण हुनुप¥यो । गन्धर्व समुदायकै कुरा गर्दा यहाँ एउटा पुस्ताले गीत गाउनै छाडेको अवस्था छ, हामी सानो पुस्तालाई सिकाउँदै छौँ, धीरजले भने । अहिले ४५÷४६ जना बालबालिकाहरु सिकाइ कक्षमा रहेको उनले सुनाए । उनी यत्तिमै रोकिएनन् । नेपाली गीत–संगीतको संरक्षणको जिम्मेवारी लिएका संस्थाहरु पनि सुस्ताएको टिप्पणी गरे । धीरजकै भनाइ मान्ने हो भने,संरक्षणको जिम्मेवारी लिएकाहरुलाई के गर्नुपर्छ भन्ने चाहिँ थाहा छ रे तर नगर्ने रोगले उनीहरु थलिएका छन् रे !

यद्यपि, केही व्यक्ति र संस्थाको अभियानलाई चाहिँ उनले खुलेर प्रशंसा पनि गरे । अरबाजो संरक्षणमा जुटेकी लोचन रिजाल हुन् कि सारङ्गी संरक्षणका पूर्ण नेपाली । उनीहरुलाई राज्यले कम सम्झेको धीरजको बुझाइ छ ।

अरबाजोलाई भालेबाजा भनिन्छ । पहिले पानी नपर्दा यो बाजा बजाइन्थ्यो रे । पानी परोस् भनेर आकासतिर फर्काएर अरबाजो बजाउँदा पानी पथ्र्यौ भन्ने जनविश्वास छ, लक्ष्य ब्याण्डले अहिले यो बाजाको प्रयोग बढी गरिहेको छ । संरक्षणकै निम्ति लक्ष्यले यो कदम चालेको धीरजले बताए ।

लक्ष्यले आफ्नै एल्बम निकालेको छैन । रैथाने बाजा र संगीत संरक्षणको अभियान चलाइरहेको छ । दूरदराजका गाउँलेहरुले मनोरञ्जनको लागि गीत संगीतसम्मको पहुँच बढाउन सक्दैनन् भन्ने उनीहरुको ठम्याइ छ । त्यसैले लक्ष्य समूह सांगीतिक कार्यक्रम लिएर गाउँतिर पुग्छ । गाउँले र त्यहाँका स्कूले भाइबहिनाहरु सामु रैथाने बाजाको महत्व बुझाउँदै गीत सुनाउँछ । लक्ष्यले अहिलेसम्म गण्डकी र धौलागिरि क्षेत्रमा २२ वटा ठाउँमा यस्ता सांगीतिक प्रस्तुति दिइसकेको छ ।

यो अभियानमा केही निजी संस्थाहरुले सघाउँछन् । बाँकी खर्च लक्ष्यले आफैं जुटाउँछ । कसरी त ? सामाजिक कार्यक्रमको लागि प्रस्तुति दिँदा शुल्क नलिने लक्ष्यले व्यावसायिक कार्यक्रममा बजाएको भने शुल्क लिन्छ । त्यसबाट बचेको रकम सीमान्तकृत समुदायको लागि खर्चन्छ । लक्ष्यले यही उपक्रममा स्याङ्जाको एउटा स्कूलमा अध्ययनरत भूकम्पपीडित विद्यार्थीका लागि सहयोग जुटाएको छ । दृष्टिविहीनलाई सघाएको छ । निजी विद्यालयहरुका संगीत र बाजा सिकाउने कामलाई पनि लक्ष्यले निरन्तरता दिएको छ ।

जिप्सी कल्चर अर्थात् गाउँदे हिँड्ने संस्कृति नेपालकै हो भन्ने धिरजको दाबी छ । विदेशीहरुले नेपालबाट सिके अनि उनीहरुले त्यसलाई संरक्षण गरे,लेखे जसले गर्दा उनीहरु अगाडि देखिएको बुझाइ धिरजको छ ।

अहिले यो समूहले विदेशीहरुसँग पनि सहकार्यको हात बढाएको छ । लेकसाइडमा भेटिएका पोल्याण्डका नागरिक इगोर स्प्लोस्कीसँगको भेटपछि ह्याप्पी अर्केष्ट्राको अवधारणा जन्म्यो । सवै देशका लोकगीतहरु संग्रह गर्ने र सँगै गाउने यो ह्याप्पी अर्केष्टा« भएको धिरजले बताए । यो समूहले हालै डियर एण्ड नियर एल्बम निकालेको छ । म्युजिकमा धेरै क्याटगोरिज हुन्छ । विदेशतिर लोकगीतलाई कन्ट्रीसङ भनिन्छ ।

धीरजका अनुसार ह्याप्पी अर्केष्ट्राले नेपाली मौलिक लोकगीत, अरबतिरका धुनहरु, भारतीय संगीत र गीतहरु अनि पोल्याण्ड र इजरायलका गीत संगीत मिसाएर एउटा एल्बम निकालेको हो । लामो समय लेकसाइडमा बसेर म्युजिक सिकाउँदै आएका पोल्याडका नागरिकसँगको भेटले जुराएको यो समूहमा चाहिँ यी ५ वटै देशका कलाकार सम्मिलित हुन्छन् ।, दूरदराजका गाउँमा गीत सुनाउँछन् ।

‘यो भनेको समान विचार भएकाहरुको अन्तर्राष्ट्रिय सहकार्य हो, यही उपक्रममा हालै पोल्याण्डमा रहेका समूहका सदस्यले त्यहाँ रहेका नेपालीमाझ दशैंमा सांगीतिक प्रस्तुति दिए, विदेशीको मुखबाट नेपाली गीत सुन्दा हाम्रा दाजुभाइ मख्ख परेको थाहा पाएको छु,’धिरजले सुनाए । यही अभियानअन्तर्गत यो महिना ह्याप्पी अर्केष्ट्राले नेपालका विभिन्न सहरमा प्रस्तुति दिने कार्यक्रम पनि छ ।

लक्ष्य ब्याण्डसँग गर्नुपर्ने काकको फेहरिस्त लामो छ । तर, बाध्यता पनि उस्तै छन् । पुराना गीत संग्रह नगरौँ, हराउला भन्ने पीर ! गरौँ, कसैले आफ्नो भन्देला भन्ने डर ! ‘यहाँ धेरै भ्रम चिर्न बाँकी छ, हाम्रा रैथाने संगीतको संरक्षणमा जुट्नु छ,’धीरज भन्छन्,‘लक्ष्य ब्याण्ड यो अभियानमा निरन्तर लागिरहन्छ । गीत संरक्षण गर्ने नै हो । सानालाई सिकाउने नै हो । यो अभियानको क्रममा संगीतलाई कसैले आफ्नो घरको सम्पत्ति भन्नुभएन । कसैले ग¥यो,सिक्यो भने पनि त्यो म्युजिक सिकेको हो भन्ने बुझ्नुप¥यो ।’

त्यसो त, नयाँ सिर्जना र एल्बम निकाल्ने लक्ष्य त छँदैछ । त्यसका अलावा देशव्यापी कन्सर्ट गर्ने अनि देशदेशावरको यात्रा गर्ने लक्ष्य पनि थाँति नै छ । धीरज भन्छन्,‘हामीलाई तत्काल लोकप्रिय हुने रहर छैन बरु नेपालको मौलिक गीत संगीत सवैको होस् भन्ने चाहिँ मनमा गढेको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->