बागलुङ/ तीनदिनदेखि जारी खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार तंग्राम, ढोरपाटन र ताराखोला दोश्रो चरणमा प्रवेश गरेका छन् ।
बागलुङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आयोजित खेलमा सोमबार तंग्राम खेलकुँद समितिले काठेखोला गाउँपालिकालाई पराजित गरेको हो । तंग्रामले काठेखोलाविरुद्ध २५–२१ र २५–२३ को सोझो सेटमा जित हात पारेको हो । दोश्रो खेलमा ढोरपाटन नगरपालिकाले कान्छा कन्स्ट्रक्सनलाई पनि सोझो दुई सेटमै पराजित ग¥यो । ढोरपाटनले २५–१६ र २५–२१ को सेटमा जितेको खेल संयोजक किसोर छन्त्यालले जानकारी दिए ।
सोमबारै भएको तेस्रो खेलमा ताराखोला गाउँपालिका बिजयी भएको छ । ताराखोलाले बागलुङ नगरपालिकालाई २५–१६ र २५–२३ को सेटमा पराजित गरेको हो । दोश्रो चरणका खेल बुधबारदेखि हुनेछन् । मंगलबार भने धवलागिरि बहुमुखी क्याम्पस र तित्याङ खेलकुद समिति, गलकोट नगरपालिका र बरेङ गाउँपालिका तथा होटल माउन्टेन भ्यू र बडिगाड गाउँपालिका बीच हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगितामा जैमिनी नगरपालिकाले भने सुरुवाति जित हात पारिसकेको छ ।
महोत्सवमा जिल्ला भित्रका खेलाडीको प्रवद्र्धनका लागि पालिका, क्लब तथा स्थानीय खेलकँुद समितिका बीच भलिबल प्रतियोगिता राखिएको थियो । खेल जित्नेले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पनि पाउने छन् । त्यसबाहेक दोश्रो चरणमा प्रवेश गर्नेलाई आयोजकले खानेबस्ने व्यवस्थापन पनि गरिदिएको छ ।





