बागलुङ/ प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा शुक्रबारदेखि हुने ‘प्रेस चौतारी कप २०८०’ को ट्रफी सार्वजनिक भएको छ । २६ औं स्थापना दिवशको अवसरमा चौतारीले खेलको आयोजना गरेको हो ।
बिहिबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गरेका हुन् । उक्त अबसरमा खड्काले खेलकुद क्षेत्रको विकासले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए । उनले खेलकुदलाई राज्यले उपेक्षा गरेको टिप्पणी गरे ।
‘नारामा स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भनिएको छ तर खेल क्षेत्रलाई राज्यले बजेट समेत दिएको छैन’ खड्काले भने, ‘युवालाई कुलतबाट जोगाउन पनि खेल क्षेत्रको विकास चाहिएको छ ।’ चौतारीले भने स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारिता भन्ने नारा दिएको छ ।
शुक्रबारदेखि हुने खेलकालागि १२ टिमले भाग लिने अध्यक्ष सिर्जना पन्तले बताइन् । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताका लागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान पेश गरेका छन् । यो खेलका लागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने बताइएको छ ।





