बागलुङ/दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधिका लागि नेपाली सेनाको श्रीमेहर गण र बागलुङ सुधार केन्द्र भीड्ने भएका छन् ।
सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लब र श्रीमेहर गणले आदर्श स्पोर्टस् क्लबलाई पराजित गर्दै फाइनल भीडन्त पक्का गरेका हुन् । फाइनल खेल शुक्रबार दिउँसो १ बजे बाङेचौर खेल मैदान हुदैछ ।
बिहिबार सम्पन्न पहिलो खेलमा बागलुङ सुधार केन्द्रले रुद्रेपिपल युवा क्लबलाई २–१ गोलले पराजित ग¥यो । क्यामरुनी खेलाडि साम्बा ओस्कारको गोलबाट बागलुङ सुधार केन्द्रले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफको ४५ औं मिनेटमा केन्द्रका डिफेन्डर आशिष केसीले प्रहार गरेको फ्रि–किकलाई साम्बा ओस्कारले आर्कषक गोलमा परिणत गरेका थिए । गोल खाएपछि आक्रमक खेलेको रुद्रेपिपलका लागि स्ट्राइकर अभिषेक गुरुङले बराबरी गोल फर्काएका थिए । निकै प्रतिष्पर्धात्मक खेलको अतिरिक्त समयमा बागलुङ सुधार केन्द्रका बरदान न्युरेले निर्णायक गोल गरे । साम्बा ओस्कारले दिएको पासमा न्युरेले आर्कषक गोल गरेका थिए । न्युरे म्यान अफ दि म्याच घोषित भए ।
यस्तै, बिहिबारै सम्पन्न दोश्रो सेमीफाइनल खेलमा आदर्श स्पोर्टस् क्लबलाई २–१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन श्रीमेहर गण फाइनलमा परेको हो । गणको जितका लागि गणका रामशरण चौधरीले अतिरिक्त समयमा निर्णायक गोल गरे । चौधरीले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए ।
खेल शुरु भएको २ मिनेटमै गोल खाएपछि सम्हालिएको आदर्श स्पोर्टस् क्लबका लागि १९ औं मिनेटमा सुरेन्द्र गुरुङले बराबरी गोल फर्काएका थिए । यसअघि प्रकाश निरौलाले श्रीमेहर गणका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने जेसिज बागलुङका अध्यक्ष गणेश महतोले जानकारी दिए ।









