पोखरा/कालिका माविले कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा सिद्ध माविलाई ४ विकेटले पराजित गर्दै कालिकाले सो उपाधि रक्षा गरेको हो ।
पहिला ब्याटिङ गरेको सिद्धले पुरा २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । सिद्धका लागि रचना चौधरीले ४५ रन बनाइन् । कालिकाका बलरहरु पूर्णिमा गुरुङ र श्रद्धा गुरुङले समान ३ तथा अञ्जना सिंखडाले २ विकेट लिइन् ।
जीतका लागि १ सय ५ रनको लक्ष्य पछ्याएको कालिकाले १९ औं ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पार ग¥यो । कालिकाको जीतमा श्रद्धा गुरुङले अभिजित २६ तथा रिया गुरुङले २१ रनको पारी खेले । सिद्धका बलरहरु रेजिना गदलले २ तथा सञ्जिला राना मगरले १ विकेट लिइन् ।
प्रतियोगितामा कूल १ सय ४६ रन तथा ७ विकेट लिएकी सिद्धकी रचना चौधरी प्लेयर अफ द सिरिज बनिन् । २ सय ३ रन बनाएकी कालिकाका रिया गुरुङ वेष्ट ब्याटर तथा ९ विकेट लिइकी श्रद्धा गुरुङ उत्कृष्ट बलर भइन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा प्रतियोगिता आयोजना भएको हो ।





