सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुरुष टि–२० क्रिकेट : कास्की समूह विजेता बन्दै फाइनलमा

पुरुष टि–२० क्रिकेट : कास्की समूह विजेता बन्दै फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८१, सोमबार

पोखरा/पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की जिल्ला प्रवेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘ए’तर्फ भएको आफ्नो अन्तिम खेलमा तनहुँलाई ७७ रनले हराउँदै कास्की समूह विजेता बनेको हो । आफ्नो अपराजित यात्रा कायम राखेको कास्कीले कुल ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो ।
१७२ रनको विजयी लक्ष्य पाएको तनहुँ १८ ओभरमा ९४ रन जोड्दै अलआउट हुन पुग्यो । तनहुँका दिनेश बुढाले ४१ रनको योगादन दिदा कप्तान समिर कंडेलले २२ र दिपेश अधिकारीले १८ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो रन जोड्न सकेनन् ।
कास्कीका लागि कृष्ण पौडेलले उत्कृट बलिङ गर्दै ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । विपिन खत्रीले ४ ओभरमा १५ रन खर्चेर समान ३ विकेट लिए । त्यस्तै सुभास भण्डारीले २ विकेट र नितेश गिरीले १ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको कास्कीले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । खेलको म्यान अफ दि म्याच समेत रहेका कास्कीका अर्जुन कुमालले ३५ बलमा सात चौका दुई छक्का प्रहार गर्दै व्यक्तिगत ५८ रनको योगदान दिए भने, त्यस्तै अभिषेक थापा नट आउट रहँदै ११ बलमा २ छक्का र एक चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै कास्कीका सोहेल कुंवरले २३, मुस्कान थापाले ११ र सिब्रिन श्रेष्ठले १० रनको योगदान दिए । तनहुँका लागि चन्द्रकान्त पौडेल, प्रदीप अर्याल, दीनेश वुढा मगर र अलिक श्रेष्ठले समान १–१ विकेट लिए ।
समूहमा ‘ए’मै भएको प्रतिष्ठाको खेलमा बागलुङ २९ रनले विजयी भएको छ । ७७ रनको विजयी लक्ष्य पछ्याएको म्याग्दी १६.१ ओभरमा ४७ रनमा अलआउट भए । बागलुङलाई जित दिलाउन संचार निउरेले ६ विकेट लिए । उनले चार ओभरमा १० रन मात्रै खर्र्चिए । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि ब्याटिङ गरेको बाग्लुङ १८.१ ओभरमा अलआउट हुँदै ७६ रनमात्र जोड्न सफल भएको थियो । म्याग्दीका हरि सुवेदीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ विकेट लिए । प्रतियोगिताअन्तर्गत आजबाट समूह ‘बी’ तर्फको खेलहरु हुनेछन् । समूहको पहिलो खेल पर्वत र नवलपुरबीच हुनेछ भने दोस्रो खेल स्याङजा र गोरखाकाबीच हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->