सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उपाधि रक्षा गर्ने दाउमा कास्की, खोस्नेमा स्याङ्जा

उपाधि रक्षा गर्ने दाउमा कास्की, खोस्नेमा स्याङ्जा


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

पोखरा/डिफेण्डिङ च्याम्पियन कास्की र स्याङ्जा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको उपाधिका लागि बिहीबार आमने–सामने हुँदैछन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा जारी प्रतियोगिताको उपाधिका लागि घरेलु टोली कास्की र स्याङ्जा भिड्ने भएका हुन् ।
लिग कम नकआउटको आधारमा भएको खेलको समूह बी तर्फ स्याङ्जाले बुधबार नवलपुरलाई हराएसँगै फाइनलमा कास्कीको भेट पक्का गरेको हो । फाइनल प्रवेशको प्रतिस्पर्धासमेत रहेको उक्त खेल अघिसम्म नवलपुर तालिकाको शीर्षस्थानमा रहेको थियो । स्याङ्जाले दुई जित १ बराबरी (वर्षाको कारण खेल रद्ध संगै पर्वत र स्याङ्जाले अंक बाडेको खेल) गर्दै कुल ५ अंकका साथ समूह विजेता बन्न सफल भएको हो ।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले हराउँदै स्याङ्जा फाइनल प्रवेश गरेको हो । फाइनल पुग्न निकै दबावका बीच टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो । नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए । भने, कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । त्यस्तै सुदीप अर्यालले १२ रनको योगदान दिए । पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो । स्याङ्जाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरमा १३ रन खर्चिएर २ विकेट हात पारे ।
यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो । स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य पार ग¥यो । स्याङ्जाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले नट आउट रहँदै ११ रन बनाए ।
नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । दीपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए ।
सोही समूहको प्रतिष्ठाको लडाइँमा पर्वतले बाजी मारेको छ । पर्वतले गोरखामाथि ५१ रनको जित हासिल गरेको हो । पर्वतका कप्तान अमृत गुरुङले ५३ रनको अर्धशतकिय पारी खेले । उनले आफ्नो अर्धशतक पुरा गर्न ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
यस अघि टस जितेर ब्याटिङ रोजेको पर्वतले १९.४ ओभरमा ११२ रन जोड्यो । विकास क्षेत्रीले १३ र सुदर्शन कुँवरले १० रनबाहेक अन्य खेलाडी सस्तैमा समेटिए ।
गोरखाका मेहुल श्रेष्ठले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । भने, प्रविद्ध बज्रचार्य र पंकज पाण्डेले समान २–२ विकेट लिए । जवाफी ब्याटिङका लागि उत्रिएको गोरखा १४.१ ओभरमा ६१ रनमै अलआउट भयो ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनोटसमेत रहेको प्रतियोगितामा समूह ए बाट तीन खेलमा तीन जितसहित ६ अंकका साथ कास्की यस अघि नै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसँगै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->