पोखरा/गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ ।
खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका सचिब प्रकाश पौडेल, सदस्य सचिब श्रीधर शर्मालगायतले पुरस्कृत तथा प्रशसापत्रले सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले खेलकुद विकासका लागि लगानी बढाउन प्रतिवद्ध रहेको जनाएका छन् । मुख्यमन्त्री पाण्डेले भने,‘ प्रदेश सरकार खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीहरुको जिवन शुनिश्चित गर्न प्रयासरत छ ।’
मुख्यमन्त्री पाण्डेले खेलकुद क्षेत्र बाट अझै पनि जिविकोपार्जन विषयमा प्रश्नहरु यथावत रहेको धारणा अघिसार्दै त्यसतर्फ वातावरण बनाउनसमेत प्रदेश सरकार प्रयासरत रहेको बताए ।
सामाजिक तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले खेलकुदबाट नै भविष्य छ भन्ने विषय अहिलेको प्राथमिकताको विषय रहेको उल्लेख गर्दै तीनतह बीचको सरकार खेलकुद विकासमा अघि बढेको बताए ।
पुरस्कृत हुने खेलाडीहरु मध्ये व्यक्तिगत इभेन्टतर्फ स्वर्ण, रजत र काश्य पदक बिजेतालाई क्रमश नगद रु ७, ५ र ३ हजार तथा टिम गेम्सतर्फका लाई क्रमश नगद रु ५, ३ र २ हजारका दरले पुरस्कृत गरिएको थियो ।





