सडक सञ्जालमा जोडिएपछि गुमानाम जस्तै बनेको ढोरपाटन पर्यटकीय हब बन्दै गएको छ । कुनै समय फरक विश्वजस्तै लाग्ने ढोरपाटन क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिँदा त्यहाँका रैथानेहरुको जीवनशैलीमा पनि परिवर्तन आएको छ । विशेषत आलु खेती र पशुपालनको लागि घुम्ती बसाई गर्ने त्यहाँका बासिन्दाहरुको सदियौं देखिको प्रचलन जीवित छ ।
ढोरपाटनमा पर्यटक लक्षित घरबास र होटलहरु विस्तार भएका छन् । त्यसले पर्यटकलाई सहजसंगै स्थानीय रोजगारमा जोडिन पाएका छन् । काठैकाठले बनेका मौलिक घर, आफ्नै भेषभूषा, भाषा, मौलिक संस्कृति, छेन्तुङ बौद्व गुम्बा, बुकी क्षेत्र, ढोरबाराही, उत्तर दिशामा बग्ने उत्तरगंगा नदी, ढोरपाटन उपत्यका र पशुपालनले जो–कोहीलाई मोहित बनाउँछन् ।
ढोरपाटनको बुकी क्षेत्रमा बिहानी प्रहरमा बादल तथा कुहिरोले ढाकिरहन्छ । हावा चलेर बादल हटेपछि ढोरपाटन मनमोहक देखिन्छ । माघ÷फागुनमा ढोरपाटनको तल्लो भेगसम्म हिउँ पर्दा स्थानीय ६ महिना बुँकी र ६ महिना औलतिर बसाई सर्ने गर्छन् । पहिले बुर्तिवाङ बजारबाट एक दिनको पैदल यात्रापछि ढोरपाटन पुगिन्थ्यो । अहिले बुर्तिवाङबाट ढोरपाटन–सालझण्डी सडक भएर ३ घण्टामै ढोरपाटन उपत्यका पुग्न सकिन्छ ।
सिकारको लागि प्रख्यात आरक्ष रुकुम, म्याग्दी र बागलुङ जिल्लामा फैलिएको छ । विश्वका चर्चित शिकारी वर्षेनि लाखौं खर्चेर नाउर र झारलको शिकार गर्न ढोरपाटन पुग्ने गर्छन् । जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा दुर्लभ वनस्पति, उच्च पहाडी सिमसार क्षेत्र, स्तनधारी वन्यजन्तु, चराचुरुङ्गी, नाउर, झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन् ।




















