काठमाडौं/साफ यु–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेल निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइबेकरमा पुगेको थियो । टाइब्रेकरमा बंगलादेशले बाजी मार्यो । टाइब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारे । भारत यसअघिका तीन संस्करणको विजेता टोली हो ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । नेपाल र बंगलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।






