पोखरा/पोखरा १९ लामाचौरमा सुरुभ भएको ११ औ महिला तथा दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशको दुबै टिम पराजित भएका छन् ।
नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा हरितालिका (तीज) को अवसर पारेर आयोजना गरेको प्रतियोगितामा मोफसलमा बलियो मानिने गण्डकी प्रदेशको पुरुष टिमले हार व्यहोरेको हो । यस्तै अन्तिम समयमा महिलातर्फ यु–१९ का खेलाडी सम्मिलित गरेर बनाएको गण्डकीको टिमले समेत हार व्यहोरेको छ ।
इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा सुरुभएको प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको छ । एपिएफले पहिलो र दोस्रो सेट २५–१४ र २५–१४ मै हरायो । तेस्रो सेट भने २६–२४ ले गण्डकीको पक्षमा रह्यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५– १३ ले हराउँदै पहिलो जित निकाल्यो ।
दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई सोझो सेटमा हरायो । डायमण्डले २५–१४, २५–१२ र २५–१७ को सेटमा हरायो । जीतसँगै एपिएफ र न्यु डायमण्डले समान ३–३ अंक जोडेका छन् ।
पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि प¥यो । तेस्रो सेट २५–१६ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
दिनको अन्तिम खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगायो । पहिलो सेट २५–१७ को जित निकालेको पुलिसले दास्रो सेटमा २५–२१ जित निकाल्यो तेस्रो सेट निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भएपनि गण्डकी खेलमा फर्कन सकेन । तेस्रो सेटमा पुलिसले ३०–२८ को जित निकाल्यो । एपिएफ र पुलिसले ३–३ अंक जोडेका छन् ।
राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ चार र पुरुषतर्फ चार टिम सहभागी भएका छन् ।
यसपटक विभागीय क्लब त्रिभुवन आर्मीले खेलमा सहभागिता जनाएन । महिलातर्फ गण्डकी प्रदेश, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागि छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ खेल हुनेछन् । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।





