
पोखरा/नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।
संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनकै प्रथम स्मृतिको दिन पारेर पोखरामा प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने टिम भने अनेरास्ववियुकै हुनुपर्ने तर राष्ट्रिय खेलाडी पनि समावेश गर्न पाइने छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७१ हजार १११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् । प्रतियोगितामा भाग लिन ७ हजार ५ सय रूपैयाँ दर्ता शुल्क तोकिएको अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले बताए ।
प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा हुने अनेरास्ववियु गण्डकीका सचिव सुरज सापकोटाले जानकारी दिए ।





