
स्याङ्जा / शाह बंशको कूल देवता र कूल मन्दिर मानिदै आएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठ मध्ये एक हो । कालीगण्डकी गाउँपालिका ३ मा रहेको वि.सं.१३५० सालमा स्थापना भएको हो । यहाँ मन्दिर स्थापनाबाट नै १५ बर्ष भित्रका चुडाकर्म गरेको राना मगर पुजारी रहने गरेको छ ।
आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बली चढाउने परम्परा रहेका छ भने भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गर्ने गरिएको छ । ३६५ दिन नै पुजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा रहेको यस मन्दिरमा एकादशी, औंशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन बली चडाउने गरिएको छ ।
नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दसैँको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ ।
यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबली दिने गरिएको छ । छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेबी मन्दिरमा होलिमा रङगरोगन समेत नगरिने मन्दिर समितीका अध्यक्ष प्रिथ थापाले बताए ।
धेरै वर्ष पहिला शाह बंशीय राजाहरुले राँगो छोडिदिने र राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बली चढाउने गरेको इतिहास रहेको छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने संभावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहेको छ ।
भारतको चितौरगढका चन्द्र बंशावली भट्टारक राजा ऋषी राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलम देवीको अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ । चितौरगढबाट आएका राणाहरुले डाँडोमा मन्दिर बनाई मुर्ती राखेको र पछि मुर्ती अलाप भएकाले आलमदेवी नामाकरण भएको मानिदै आएको छ ।
भारतीय ऋषी राणाका छोराहरु मिञ्चा खाँण र खाञ्चा खाँणमध्ये एकजनाले स्याङ्जाको नुवाकोटमा र अर्काले कास्कीकोट, तनहुँ हुँदै गोर्खासम्म राजा भएर राज्य गरेको र तिनै खाँणले पछि थर परिवर्तन गरि शाह लेखाउन थालेको किंवदन्ती रहेको छ ।
पहिला पहिला एकै दिन हजारौको संख्यामा बली दिने गरिएकोमा अहिले घट्दै गएको अध्यक्ष थापाले बताए । यहाँ दसैँको तथा अन्य बेलामा लाग्ने खर्च सबै बलीको बेलामा उठ्ने रकमबाट चलनउने गरिएको छ ।
महिलालाई प्रवेशमा रोक
बडादशैमा देवीको पुजाहुने यस आलमदेबी मन्दिरमा ठकुरी बाहेकका महिलाहरुलाई प्रवेशमा भने रोक लगाउने गरिएको छ । यहाँ मन्दिर प्रवेशको लागि पहिला पहिला एक जना मानिसनै बसेर रोक लगाउने गरेपनि पछिल्लो क्रममा बिगतमा जस्तो नरोकेको थापाले बताए ।
ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने अर्थात अनिष्ट हुने भन्ने सुन्दै आएको बताउदै थापाले बाहिरबाट आउने एक दुई जना मन्दिरमा प्रवेश गरेपनि बिगत देखिको प्रचलन जानेका स्थानीयहरु भने मन्दिरमा प्रवेश नगर्ने बताए । परम्मरा, सस्कृति र रितीरिबाजको हिसावले आफु अहिले सम्म मन्दिर भित्र नपसेको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले बताए ।





