स्याङ्जा/आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ । बाला चतुर्दशीका दिन यही मंसिर १५ गते ’अन्धाअन्धी श्रवण कुमारको महिमा’ भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गर्न लागिएको गाउँपालिका प्रमुख विश्व पौडेलले जानकारी दिए ।
आँधीखोला गाउँपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक तिर्थस्थल श्रवणकुमार समाधि क्षेत्र परिसरमा प्रतियोगिता गरिँदैछ । सोही दिन सत्बिज छर्नेलगायत विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरिने छ ।
किंवदन्ति अनुसार आफ्ना दृष्टिविहीन बाबाआमालाई खर्पनमा बोकेर तीर्थाटन गराउन हिँड्ने क्रममा बाबाआमालाई तिर्खा लागेछ । नजिकै पानी नपाएपछि एउटा गुफामा राखेर पानी खोज्न जाँदा तलाउमा पानी भर्ने क्रममा राजा दशरथको वाण लागेर श्रवणकुमारको मृत्यु भएछ ।
जुन ठाउँमाा श्रवणकुमारको मृत्यु भयो सोही ठाउँमा नै पहिलो पटक भजन चुड्का प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा विजेता हुने टिमले १७ हजार, द्वितीयले १३ हजार, तृतीयले नौ हजार र सान्त्वनाले पाँच हजार रुपियाँ हात पार्नेछन् ।




