पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा माछापुच्छ्रे २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु हुने भएको छ । आयोजक समितिले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
पोखरा रंगशालाको टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथी भेट्रान्स उमेर सुमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए ।
आयोजक समितिका उपाध्यक्षसमेत रहेका चालिसेका अनुसार प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने छन् ।
ओपनतर्फ नेपालका शीर्ष वरियताका १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पत्रकार सम्मेलनमा जनाए । मेन्स सिंगलमा ३१ खेलाडी, उमन्स सिंगलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२ खेलाडी, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जनासहित सय बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनले बताए ।
कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले यो प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न २१ लाखभन्दा बढी खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने थापाले पत्रकार सम्मेलनमा बताए ।
ओपनतर्फ मेन्स तथा उमेन्स सिंगल्स विजेताले नगद ८० हजार उपबिजेताले ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ विजेताले नगद ३० हजार उपविजेताले १५ हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
३५ वर्षमाथिको सिंगल्स बिजेताले नगद ६० हजार उपविजेताले ३० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २० हजार उपविजेताले १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
४५ वर्षमाथिको सिंगल्स विजेताले नगद ४० हजार उपविजेताले २० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स विजेताले नगद २० हजार उपविजेताले १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने थापाले बताए ।





