आधुनिक नेपाली साहित्यमा करिब ६ दशक कलम चलाएका साहित्य साधना र वामपन्थी राजनीतिमा सक्रिय कवि दिनानाथ शर्माको ‘तरङ्ग’ कविता संग्रह सैद्धान्तिक राजनीतिक र वैचारिक लेखका अलावा दर्जनौं निबन्ध, नियात्रा र संस्मरणको प्रकाशन पश्चात् साहित्य प्रेमीहरुका हातमा प्राप्त कृति हो । बागलुङको बा.न.पा १२ अमलाचौरमा जन्मिएका साहित्यकार शर्मा नेकपा माओवादी केन्द्रका सांसद एवं पुर्व शिक्षा मन्त्री हुन् । कवि शर्माको तरङ्ग कविता संग्रहलाई यथास्थितिको समाज र मानवीय जीवनस्तर उपर प्रगतिपूर्ण सोचको प्रादुर्भाव भएको कृतिका रूपमा लिन सकिन्छ । समग्र समाज, राष्ट्र, राष्ट्रियता र नेपाली जनताको प्रगतिको कामना गर्ने प्रगतिशील कवि शर्माको यस संग्रहलाई प्रगतिवादका सैद्धान्तिक मान्यताका आधारमा यसरी विश्लेषण गर्न सकिन्छ ।
परिवर्तनको चाहना
प्रतिवादमा द्वन्द्वात्मक भौतिकवादले द्वन्द्व र गतिशीलता कै कारण पदार्थमा परिवर्तन ल्याउँछ, भन्ने मान्यता अनुरूप देशप्रेम, राष्ट्रियता, स्वाभिमान र आत्म रक्षाका लागि भरपुर आफ्नो जीवन समर्पित गर्दै समाज परिवर्तनका लागि निरन्तर लागि रहनुपर्ने भाव ’जन्म दिनको स्मरण’ कवितामा सम्प्रेषण गरिएको छ । मातृवात्सल्य पूर्ण भावलाई भावनात्मक रूपमा सजाइएको यस कवितामा मर्द भएर शत्रुका अगाडि आत्म समर्पण कहिल्यै नगर्नु, बरू देशभक्ति भावनाका लागि माटोको कसम खाएर मर्नु भनेर यसरी कवितात्मक रूप दिइएको छः–
‘बाबु मर्द भएर झुक्नुहुन्न बैरीका अगाडि
मर्नु बरू कायल नाम नगर्नु’
प्रेरणा जीवनको, दृढता लक्ष्यको…
कवितामा कविले आफ्नी ममतामयी माताको प्रेरणापूर्ण वाक्यांशलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ भन्ने उक्तिसम्मत् सम्मान गर्दै महान् विचार र राष्ट्रगौरवका निम्ति हामी नेपालीहरूले कहिल्यै पनि शत्रुका अगाडि झुक्नु हुदैन चाहे प्राणै दिन किन नपरोस् । जन्म दिने आमा र जन्म भूमिको रक्षाका लागि जस्तो सुकै युद्ध लड्न परेता पनि पछि हट्नु हुदैन । भन्ने भाव दर्शाइएको छ । त्यस्तै ‘लेख्न सके’ शीर्षकको कवितामा जसरी आमाको दुधको भारा तिर्नुपर्छ भनेर आफ्नो जीवनका सच्चा कर्महरूमा आमाको स्पर्श खोजिन्छ । त्यसरी नै यस जन्मभूमिको उन्नयनका लागि कृषि क्रान्ति गर्नुपर्छ । भन्दै कवि भन्छन्ः–
उर्वर छ बारी, भावनाको वाली लगाउन
मौसम सुरु भैसक्यो क्रान्तिको, कोर क्रान्तिको गीत
लेखनीले लेख्छ, लेख्न सके …
परिवर्तनकारीहरू रगत र पसिनाको मूल्य खोज्दछन् र नयाँ नयाँ सपनाहरू साँचेर आफ्नो जन्म भूमिलाई स्वर्ग बनाउँछन् भन्दै यस कवितामा ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ मानिसले उद्देश्य लिन सकेमा हरेक उद्देश्यहरू पूराहुने विश्वास राख्दछन् । समाजको उन्नतिका लागि मौसम अनुकूल भएको जनाउदै कविले राष्ट्र सेवा र समाज परिवर्तनका साथमा स्रष्टा सम्मानका लागि सबै एकजुट हुन यसरी आग्रह गरेका छन् ।
युद्धका सिपाहीहरू, नारिएका गोरूहरू
एकैछिन सिङ जुधाए पनि
फेरि पनि मिलेर जुवामा
लुरुलुरू हलो तान्नै पर्छ क्रान्तिको…
परम्परागत रूपमा नारिएका गोरूहरू भनेर नाम राखिएता पनि प्रतिकात्मक अर्थ बुझाउने यस कविताका पंक्तिहरूले क्रान्तिमा होमिएका तमाम नेपालीहरूले परिवर्तनका खातिर भोकभोकै लड्नु परेको पीडालाई एकातर्फ सङ्केत गरिएको छ, भने अर्कोतर्फ क्रान्ति सफल पार्नको लागि राजनैतिक रूपमा परम्परादेखि देशको तालाचावी समाएका पुराना अनुहारहरूलाई अबको अत्याधुनिक युगले पछ्याउन सक्दैन । विज्ञानले आविष्कार गरेका ट्याक्टर र टिलरहरू ती पुराना विचार र सिद्धान्तले चल्दैनन् भन्दै राजनैतिक पृष्ठभूमि परिवर्तनका लागि लड्ने योद्धाहरूको क्रान्ति एक दिन अवश्य सफल हुनेछ । अनि हली र गोठालाहरूले परिवर्तनको श्वास फेर्नेछन्, भन्ने परिवर्तनको चाहना कवितामा पाइन्छ ।
भविष्यप्रति आशा
प्रगतिवादको मान्यता अनुरूप सामन्तवाद पुँजीवादको अन्त्य भएपछि अब एउटा सुन्दर भविष्य आउँदै छ, भन्ने भविष्यप्रतिको आशा जागृत भएको कविता हो ‘नयाँ वर्ष’ कवितामा नेपालीहरूका सामु नयाँ वसन्त जस्तै अर्को नयाँ बहार आउँदैछ । जसले सबै नेपालीका भावनालाई समेट्ने छ । शोषक सामन्तीका जङ्गे पिल्लरहरू भत्कने छन् भनेर यसरी भनिएको छः–
नयाँ इतिहास रचेर
आउँनेछ नयाँ वर्ष प्रकाश छर्दै
सगरमाथा र धवलागिरिको चुचुरोमा
सिङ्गो एसिया महाद्वीपमा…
सामन्ती शोषकहरूका अजङ्ग पहाडहरूलाई भत्काउन खोज्ने हाम्रा पुर्खाहरूको बलिदानको सम्मान गर्नुपर्दछ । आजको समयमा सामन्तीका ती अजङ्ग पहाडका उचाइहरू घट्दै गइरहेका छन् । जुन बेला असमानताका पर्खालहरू भत्केर समानता छाउनेछ तब हाम्रो देशमा एकछत्र नयाँ बहार आउनेछ । चेतनाका किरणहरू सर्वत्र छाउँनेछन् भन्दै कवितामा भविष्यप्रति तीव्रतर आशा व्यक्त गरिएको छ ।
सर्वहारा वर्गप्रति सहानुभूति
प्रगतिवादको मान्यता अनुरूप सर्वहारा वर्ग एवं जनताप्रति तीव्र सहानुभूतिका स्वरहरू व्यक्त गरिएको कविता हो ‘के भोत’ यहाँ लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका क्रान्तिहरू र प्राप्त सफलताले जनताका इच्छा आकाङ्क्षालाई समेट्ने छन् । जब अन्याय र अत्याचार समाजबाट हट्ने छ तब मात्र नयाँ प्रभातको जन्म हुने छ भनिएको छः–
चिर्दै अत्याचार निशाको, सपना साचेर इतिहासको
नयाँ विहानी मुस्कुराउने छ, नरकङ्काल माथि उभेको
नरहे पनि राजतन्त्र, के भोत …
कवितामा निरङ्कुश शासन व्यवस्था चलाएर जनतामाथि अन्याय, अत्याचार र दुराचारी प्रवृत्ति लागु गर्न खोज्ने राजतन्त्र नभएर के भोत भन्दै गरिब, दुखी र उत्पीडित जनताका विरोधी सामन्ती शोषकहरूको अन्त्यमा दुखी हुनु हुदैन । युवाहरूले शासन गर्नुपर्छ । सबै जनता एकिकृत भई प्रगतिको पथमा हातेमालो गर्नुपर्छ भनिएको छ ।
इतिहास सचेतना र भविष्यप्रतिको आशा
प्रगतिवादमा इतिहास चेतना र भविष्यप्रतिको आशा मान्यता अनुरूप भूतकालीन समयबाट पाठ सिकेर वर्तमानमा भविष्यको गोरेटो खन्ने काम ‘कतै आकाशमा’ शीर्षकको कवितामा पाइन्छ । प्रगतिवादले आकाशमा उडान भर्ने स्वैरकल्पनाको विरोध गर्छ, यसर्थ यो कविता प्रगतिवादी चिन्तनका विरुद्ध देखिन्छ तर कवितामा भविष्यप्रति आशा व्यक्त गरिएको छ । संरचनात्मक रूपले स्वैरकल्पनात्मक देखाइए पनि कतिपय हरफहरूले संसारमा अन्याय, अत्याचार र शोषण व्याप्त छ । यी सबै सबैले दिक्क छु भन्दै कविले मानिस हुनुको नाताले सुन्दर, शान्त र पवित्र भूमिको आशा गरिएको भाव यसरी उल्लेख गरिएको छः–
अब मंगलले पुगेन मलाई, मानिस हुनुको नाताले
स्वर्ग भन्दा पनि माथिको संसार, उतै हराइ दिन मन लाग्छ …
मानवीय चेतनामा इतिहासप्रति सम्मान गर्दै नयाँ युगको थालनीका लागि पिता पुर्खाहरूले धुलौटो कोरेर गणितका सूत्रहरू पढ्थे, भन्ने विषयलाई प्रस्तुत गर्दै कविले तिनै चेतनालाई विस्तार गर्न पितापुर्खाका सङ्घर्षहरू स्मरण गर्न र भविष्यलाई मार्गदर्शन दिनका लागि कतै आकाशमा सयर गर्ने आशा कवितामा बताइएको छ । प्रगतिवादमा श्रमिक र पीडित वर्गलाई चेतना प्रदान गर्दै वर्गीय प्रेमको बाटोमा अन्याय र अत्याचार विरुद्ध विद्रोह गरिन्छ । यहीँ विद्रोहबाट प्राप्त हुने विजयोत्सवलाई कविले ‘रेखाचित्र’ नामक कवितामा समाजमा समानता र स्थायित्व प्राप्त भए पश्चात् गरिब जनताहरू भविष्यका पहरेदार बन्दै नयाँ सिपाहीका रूपमा छातेटोपी ढल्काउँदै आउनेछन भन्छन्ः–
आउँछ छातेटोपी ढल्काउँदै
खुकुरी भिरेर कम्मरमा
सिपाही भविष्यको
पहरेदार युगको…
क्रान्ति पछिको बिहानीलाई सम्बोधन र नयाँ नेपालको परिकल्पना गर्दै कविले युग सापेक्षित युवा वर्गले देशको वागडोर सम्हाल्ने छन् । अस्तित्व गुमाउँदै उमेरले गुमनाम अतिक्रमण गर्न लागेका बुढापाकाहरू टाइटेनिक जहाजको नियति पर्खेर बस्नु उचित हुँदैन भन्दै आकाशमा सयर गर्ने कुरा जनाएका छन ।
शोषणको विरोध
प्रगतिवादमा सर्वहारा वर्गप्रति सहानुभूतिका प्रकट गर्दै शोषण दमन र अत्याचारको खुलेर विरोध गरिन्छ । यहाँ ‘सभ्य समाजको मान्छे’ शीर्षकको कवितामा पूँजीपतिहरूले पार्टी सिद्धान्त र पहुँचका आडमा कानुनलाई हातमा लिएर शोषण गरिएको विषयलाई यसरी प्रस्तुत गरिएको छः–
छाडा असनको साँढे गल्लीमा छिर्ने गर्दछ
दोकानीहरूको माल लुटेर हिड्ने गर्दछ
लफङ्गाहरू पालेर बाहुबल देखाउँछ ।
गुण्डाराज चलाएर सिधा साधा खेदाउँछ …
इतिहासलाई परास्त गरेर भविष्यप्रति उत्तरदायी बनेको नेपाली समाजमा सभ्यताका नाममा खोक्रो आडम्बर देखाएर सामाजिक विकृति, विसङ्गति र दमनलाई प्रोत्साहन दिएको कुरालाई यहाँ इतिहासको कलङ्कका रूपमा व्याख्या गरिएको छ । कवितामा राजनैतिक विसङ्गतिप्रति व्यङ्गग्य गरिएको छ । यत्रतत्र आफ्ना गुण्डा कार्यकर्ताहरूलाई राजनीतिको विल्ला भिराएर कानुनलाई अन्धो बनाई निरीह महिला र सोझासाझा जनताको रोजीरोटी खोस्ने शासन पद्धतिका विरुद्ध यहाँ आवाज उठाइएको छ ।
सामाजिक विषमतालाई स्पष्ट उतारिएको ‘मूल्य चाहियो’ शीर्षकको कवितामा परम्परादेखि थिचोमिचोमा पारिएका नेपालीहरूले देशको शासन व्यवस्था चलाउने सामन्ती, फटाहा र राजनीति गर्ने नेताहरूलाई कटाक्ष गर्दै प्रजातन्त्र प्राप्तिदेखि वर्तमान समयसम्म आफ्नो जीवनको प्रवाह नगरी निरन्तर क्रान्तिमा होमिएका नेपालीहरूको अस्तित्व यसरी मागिएको छः–
आजभोलि माटोले, माग्न थाल्यो सडकमा
इतिहासको समीक्षा चाहियो, योगदानको ब्याज चाहियो
जीवनको मोल चाहियो …
हामी नेपालीहरू सधै डर, धक्की र शोषण, दमनको जर्जर अवस्था खपेर बस्नु हुँदैन, भन्दै कविले जनताहरू एकजुट भई सामन्तवाद विरोधी अभियानमा लाग्नु पर्ने जनाउँछन् । आफ्नो स्वार्थ पूर्तिका लागि गरिब, बेसहारा जनतालाई युद्धको भुमरीमा होमेर आफूले मोजमस्ती गर्ने राजनैतिक विषमताको विरोध गर्दै सचेत युवाहरूले इतिहासको समीक्षा, परिवर्तनको अनुभूति, स्वतन्त्रता र शान्ति चाहियो अनि रणभूमिको वेदना बिर्साउने श्वास चाहियो भन्दै प्रगतिशील आशा व्यक्त गरेका छन् ।
यसरी दीनानाथ शर्माका कविताहरूलाई हेर्दा विविधताभित्र समसामयिक विषयवस्तुहरूका साथमा प्रगतिप्रेम र राजनैतिक एवं सामाजिक विषयवस्तुहरू स्पष्ट रूपमा पाइन्छन् । सामाजिक रूपमा उत्पन्न भएका केही विषयलाई पनि कवितामा स्थान दिइएको छ । जसलाई शर्माले देखे भोगेको परिवेश मान्न सकिन्छ । यसका अलावा शर्माले आफू जन्मे हुर्केको र खाइखेलेको समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, कुसंस्कार र विकृति विसङ्गतिलाई नजिकैबाट देखेका, भोगेका र जीवन सङ्घर्षका क्रममा अनुभव गरेका प्रवृत्तिहरूप्रति विरोध र विद्रोह गरेका छन । परिवर्तनको चाहना र मानवीय मूल्यको खोजीमा दत्तचित्त शर्माले सामन्तवादी, पुँजीवादी प्रवृत्तिप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन् । उनका रचना धार्मिक अन्धविश्वास, आडम्बर, शोषण, दमन र अत्याचार मान्दैनन् । देशमा व्याप्त भ्रष्टाचारको नामोनिशाना मेटाएर समतामूलक समाज निर्माण गर्न खोज्ने उनले गरिब एवं सर्वहारा वर्गप्रति हुने शोषण दमनलाई मन पराउँदैनन् र यस्ता प्रवृत्तिप्रति तीव्र आक्रोश व्यक्त गर्दछन् ।
यसरी उनका कविताहरूमा हाम्रै आँखा वरपरको यथार्थ चित्र भेटिन्छ । गरिब जनताको कित्तामा उभिन चाहने शर्मा सुन्दर र स्वतन्त्र समाज निर्माणको लागि आशातीत रहेका छन् । उनले त्यस प्रकारको समाज निर्माणका लागि सबै एकजुट भएर वर्गसङ्घर्ष गर्न आह्वान गर्दछन् । श्रमजीवी, दलित, निमुखा, गरिब, उपेक्षित, उत्पीडित किसान, मजदुर, अपहेलित नारी र समाजमा पछि पारिएका सर्वहारा वर्गप्रति सहानुभूतिको भाव व्यक्त गर्ने र वर्गीय प्रेम दर्साउने शर्माका प्रशस्त कवितामा प्रगतिवादका मूलभूत मान्यताहरू पाइने भएकाले दीनानाथ शर्माका कविताहरू प्रगतिवादी सैद्धान्तिक अवधारणाका दृष्टिले अग्रस्थानका रचना मान्न सकिन्छ ।




