शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कहिले आउला स्टारलिङ्कको इन्टरनेट ?

नेपालमा कहिले आउला स्टारलिङ्कको इन्टरनेट ?


  • ढोरपाटन संवाददाता
  • चैत्र ४ २०८१, सोमबार

पाेखरा/ भुटानमा स्टारलिङ्क स्याटलाइट इन्टरनेट सेवा चलाउन थालेको इलोन मस्कको स्पेसएक्सले भारतका दुई दूरसञ्चार सेवा प्रदायकसँग पनि समझदारी गरेपछि नेपालमा उक्त कम्पनीले कहिले सेवा सुरु गर्ला भन्नेबारे चर्चा भइरहेको छ ।स्पेसएक्सले दुई वर्षअघि नै नेपालमा स्याटलाइट इन्टरनेट सेवा चलाउनेबारे चासो व्यक्त गरेको थियो । इलोन मस्क र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गत मङ्सिर ७ गते ’भर्चुअल’ कुराकानी पनि भएको थियो ।

तर स्टारलिङ्कको वेबसाइटमा राखिएको उसको सेवासम्बन्धी नक्सामा ’नेपालमा सेवा सुरु हुने मिति थाहा नभएको’ उल्लेख छ । नेपाली अधिकारीहरू पनि उक्त कम्पनीको नेपालमा सेवा सञ्चालनबारे स्पष्ट विवरण दिन सकिरहेका छैनन् । स्पेसएक्सको सेवालाई भारतमा ल्याउनका लागि त्यहाँका दुई ठूला टेलिकम कम्पनी भारती एअरटेल र रिलायन्स जिओले ऊसँग यसै साता समझदारी गरेका छन् ।

भारती एअरटेलले गत मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी दिएको थियो भने त्यसको भोलिपल्ट रिलायन्स जिओले पनि त्यस्तै जानकारी सार्वजनिक ग¥यो । ती दुई कम्पनीसँग समझदारी भए पनि हालसम्म स्टारलिङ्कले भारतमा नियामकबाट सञ्चालन अनुमति पाएको छैन । भारतमा मस्कको उक्त कम्पनीको सेवालाई लिएर सुरक्षा चिन्ता पनि रहेको विवरण आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार भारतीय दूरसञ्चार कम्पनीका सञ्चालकहरू स्याटलाइट फ्रिक्वेन्सी सीधै कसैलाई दिने कार्यको विरोध गर्ने गर्छन् । उनीहरूले त्यस्तो फ्रिक्वेन्सी लिलामी हुनुपर्नेमा जोड दिएका छन् । तर मस्कले भने त्यस्तो लिलामी पद्धतिको आलोचना गर्ने गरेका छन् । स्टारलिङ्कको बेवसाइटमा राखिएको उसले सेवासम्बन्धी विवरण देखाउने नक्सामा दक्षिण एशियाली मुलुकमध्ये भुटानमा उसको सेवा सुरु भइसकेको देखिन्छ । त्यसबाहेक भारत र पाकिस्तानमा नियामकको अनुमति लिन बाँकी रहेको उल्लेख छ भने भने बंगलालादेश र श्रीलङ्कामा यसै वर्षभित्र सञ्चालन हुने जनाइएको छ ।

भुटान इन्फर्मेशन कम्यूनिकेशन एन्ड मिडिया अथरटी (बीईसीएमए)ले स्टारलिङ्कलाई विदेशी लगानी भएको इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रूपमा अनुमतिपत्र जारी गरेको थियो । उसले स्टारलिङ्कको सेवा लिएबापत लाग्ने स्वीकृत शुल्कको विवरण पनि वेबसाइटमार्फत् सार्वजनिक गरिदिएको छ । स्पेसएक्सले सन् २०२३ मै त्यसै वर्षभित्र नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा सोधखोज गरेको थियो । त्यसै वर्ष स्पेसएक्सले आफ्नो वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गर्दा नेपाललाई पनि राखेको थियो ।

त्यस बेला नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले स्पेसएक्सका प्रतितिधिले अनलाइन माध्यममा अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेको बीबीसीलाई बताएका थिए । उनीहरूले त्यस बेला स्पेसएक्सका अधिकारीहरूलाई नेपालमा सेवा सञ्चालनको प्रक्रियाबारे जानकारी दिएको जनाएका थिए । नियामक निकायका पदाधिकारीहरुले नीतिगत र कानूनी बाधाहरू भएकाले स्पेसएक्सलाई हालसम्म स्पष्ट जबाफ नदिइएको सङ्केत गरेका छन् ।

यद्यपि उनीहरूले ‘स्पेसएक्सले औपचारिक रूपमा हालसम्म नेपालमा कुनै प्रस्ताव राखेको वा निवेदन नदिएको’ बताउँदै आएका छन् । ‘हालसम्म स्टारलिङ्कले नेपालमा सेवा सुरु गर्ने वा त्यसका लागि भनेर कुनै पनि औपचारिक निवेदन हामीलाई दिएको मेरो जानकारीमा छैन,’ नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्यालले भनेका छन् । सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले स्टारलिङ्कबारे हालसम्म मन्त्रालयमा कुनै पनि विषयमा छलफल र कुराकानी नभएको बताए ।

‘अन्यत्र कुराकानी भएको वा उच्च राजनीतिक तहमा कुराकानी भइरहेको हुन सक्छ तर त्यसबारे मलाई जानकारी भएन,’उनले भने ।

अनुमतिका लागि ’नीतिगत’ बाधा

स्पेसएक्सलाई नेपालमा सेवा सुरु गर्नका निम्ति मुख्य चुनौतीका रूपमा दूरसञ्चार क्षेत्रमा नेपालमा लगानीसम्बन्धी नीति देखा परेको जानकारहरू बताउँछन् ।

नेपालले कुनै पनि विदेशी लगानीकर्ताको शतप्रतिशत लगानीमा दूरसञ्चार सेवा सञ्चालनको अनुमति दिने गरेको छैन ।दूरसञ्चार सेवामा न्यूनतम २० प्रतिशत स्वदेशी लगानी हुनैपर्ने नीतिगत प्रावधान र अभ्यास रहेको छ । दूरसञ्चार नीति, २०६० मा दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरिनेछ। यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनु पर्ने उल्लेख छ । यद्यपि, ऐनमा भने त्यस्तो प्रावधान राखिएको छैन ।

तर, मस्कले त्यस्तो साझेदारीमा इन्टरनेट सेवा सुरु नगर्ने अडान राख्ने गरेका छन् र नेपालमा पनि उनका प्रतिनिधिहरूले त्यस्तै जानकारी दिएको अधिकारीहरू बताउँछन् । त्यस्तो अवस्थामा नेपालले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानीसम्बन्धी नीतिनियम परिवर्तन गर्नुपर्ने हुन्छ ।

नेपालमा स्टारलिङ्कको सेवा सुरु हुनुपर्छ भनेर लामो समयदेखि पैरवी गरेको सार्वजनिक रूपमै बताउँदै आएका इन्टरनेट सेवा प्रदायक वर्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल भन्छन्,‘मुख्य समस्या भनेकै वैदेशिक लगानीको प्रावधान र फ्रिक्वेन्सीमा देखिएको छ ।’

नेपालमा स्याटलाइट इन्टरनेट सेवा चलाउनका लागि फ्रिक्वेन्सीको आवश्यकता पर्छ र त्यस्तो फ्रिक्वेन्सी कसरी दिने भन्नेबारे कतिपय प्रावधान अस्पष्ट रहेको जानकारहरूले बताएका छन् । यी समस्याहरू सरकारले चाहेमा सहजै फुकाउन सक्ने अग्रवालको बुझाइ छ ।

‘नेपालको दुर्गम क्षेत्रमा इन्टरनेट सेवा पु¥याउन स्टारलिङ्क विकल्प हो । त्यसैले यो यहाँको आवश्यकता हो भनेर मैले भन्दै आएको छु तर त्यतातर्फ सहजीकरण हुन सकिरहेको छैन,’ उनले भने ।

‘स्टारलिङ्क वा त्यस्तै स्याटलाइट इन्टरनेट सेवाका लागि नीतिगत बाधाहरू हटाउनेबारे सरकारले के गर्दै छ ?’ भनी सोधेको प्रश्नमा सञ्चार मन्त्रालयका प्रवक्ता ठाकुर भन्छन्, ‘यो मात्र होइन, दूरसञ्चार क्षेत्रमा धेरै नीतिगत समस्या रहेका छन् । त्यसलाई समाधान गर्न ऐन संशोधनबारे मन्त्रालयले आन्तरिक छलफल गरिरहेको छ ।’

स्टारलिङ्कको इन्टरनेट सेवा सस्तो छ ?

नेपालमा केही विगतदेखि नै केही कम्पनीहरूले स्याटलाइट इन्टरनेट सेवा दिँदै आएका छन् ।

तर। त्यो सीमित मात्रामा मात्र रहेको दूरसञ्चार प्राधिकरणको विवरणले देखाउँछ । नेपालमा विशेष गरी पर्वतारोहणलाई लक्षित गर्दै त्यस्तो सेवा दिने गरिएको छ ।नेपालमा चलेका कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको जिओ स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने गरेका छन् । सार्वजनिक भएका विवरणहरूका अनुसार स्टारलिङ्कको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ । अन्य स्याटलाइट जिओस्टेशनमा माथि छन् ।
दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिङ्क इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ । यो प्रविधिमा स्याटलाइटबाट सीधा सम्पर्क स्थापित हुन्छ ।

त्यसले गर्दा हाल नेपालमा उपलब्ध स्याटलाइट इन्टरनेटको तुलनामा स्टारलिङ्कको सेवा निकै सस्तो पर्न सक्ने तर ‘ब्रोडब्यान्ड इन्टरनेट’का तुलनामा निकै महँगो पर्ने बताइन्छ ।

स्टारलिङ्कको इन्टरनेटको शुल्क कस्तो हुन्छ भन्ने हामी भुटानमा उसले सुरु गरेका ’प्याकेज’का आधारमा पनि गर्न सक्छौँ ।

उदाहरणका लागि, भुटानमा उसले घरायसी ’लाइट प्लान’ अन्तर्गत हरेक महिना तीन हजार भुटानी मुद्रामा सेवा उपलब्ध गराएको देखिएको छ ।त्यो भनेको नेपाली रुपैयाँ झन्डै ४,८०० हुन्छ । यो २३ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको स्पीडको मूल्य हो । तर भारतमा योभन्दा सस्तो मूल्यमा उसले इन्टरनेट सेवा उपलब्ध गराउने सम्भावना रहेको ठानिएको छ । ग्राहकको संख्या तथा कुनै पनि देशमा स्टारलिङ्कको सेवा चलाउन सम्झौता गरेका कम्पनीका आधारमा पनि त्यसको शुल्क घटीबढी हुन सक्छ ।

नियमित शुल्कसँगै स्टारलिङ्कका उपकरणहरू जडान गर्नका लागि पनि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ । स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ ।यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ।

स्टारलिङ्कका भूउपग्रहहरू एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन् । विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ । स्टारलिङ्कले हजारौँ भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->