शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

लोकतन्त्रको पर्खाइ

लोकतन्त्रको पर्खाइ


  • याम बहादुर थापा मगर
  • बैशाख ११ २०८२, बिहिबार

सुनिन्छ
लोकतन्त्र आयो,
२००७ सालमा जाग्यो,
२०४६ मा जनताले फेरि चिच्याएर बोलायो,
२०६२/०६३ मा फेरि जनसागर उठेर ल्यायो।
तर सोधौँ न मनैदेखि
कसको आगनमा आयो त्यो लोकतन्त्र ?
कसको चुल्होमा तात्यो त्यो शासनको घाम ?
गरिबको गाग्रीमा पानी छैन,
किसानको खेतमा मल छैन,
बिरामीको शरिरमा औषधी छैन,
श्रमिकको हातमा तलब छैन।
फूलबारीको सपना देखाउनेहरू
धुलो उडाउने बाटोमा हराए,
भोट माग्न आइपुगेका मुखहरू
निर्वाचन सकिएपछि नकाबझैँ ओझेलिए।
नेताहरू भाषणमा अगाडि,
तर व्यवहारमा जनताको पीध पछाडि।
जनता भने हिँडिरहेछन
चप्पल फाटे पनि,
अधिकार खोजिरहेछन
सुनिएको लोकतन्त्रको अनुभूति।
कहिले होला त्यो बिहान,
जहाँ लोकतन्त्र भोट मात्रै होइन,
चामलको झोलीमा,
पानीको धारा,
शिक्षाको ढोका,
स्वास्थ्यको सिटामोल पनि बन्न सकोस्?
हाम्रो पालामा नै हेर्न मन छ-
सडकमा होइन,
सपनामा होइन,
जनताको घर घरमा लोकतन्त्र हाँसिरहेको दृश्य।
त्यो दिन आउन सक्छ,
यदि राजनीतिमा सेवा छ,
शासनमा इमान छ,
अनि जनताको आँखाभित्र देश प्रेमको बात्सल्य छ।
(बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->