
पोखरा/नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने जानकारी दिएको हो ।
नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो । संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ । यस वर्ष दशौं राष्ट्रिय खेलकुदको अनिश्चितता र मोफसलका प्रतियोगिताका कारण लिगको छनोटको रुपमा रहेको क्लब च्याम्पियनसिप आयोजना गर्न नसकेको संघले जानकारी दियो ।
लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् । दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार रुपैंया राखिएको छ ।
लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरस्कार रकम मात्र ३२ लाख रुपैंया रहेको प्रतियोगिताको कुल अनुमानित बजेट ९० लाख रहेको छ । प्रमुख प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद रहेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले टिकटबाट ३०–३५ लाख उठाएर अन्य प्रायोजकबाट पनि सहयोगको अपेक्षा गरिएको जानकारी दिए । प्रतियोगितामा हरेक टिमले ३ विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।
भलिबल संघका सल्लाहकार तथा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले पोखरामा भलिबको ठूलो मेला हुनु खुसीको कुरा भएको बताए । उनले काठमाडौंको कभर्डहल पुनः निमार्णको क्रममा रहेकाले पोखरामा हुने भएको सुनाए । उनका अनुसार यसले भलिबलको विकासमा थप टेवा पुग्नेछ ।
‘पोखरामा हुनु खुसीको कुरा हो । हामीले संघले आयोजना गर्ने ठुला प्रतियोगिता पोखरामा गर्न पाउनु खुसीको कुरा हो यसले पक्कै पनि खेलकुदको विकासमा अहम भूमिका खेल्नेछ,’ उनले भने, ‘पोखराको कभर्डहलमा यो प्रतियोगिता आयोजना हुनेछ । यसले कभर्डहलभित्र समेत भलिबल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’





