पर्वत/पर्वतको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठको पाँच र छ गते आयोजना हुने भएको छ ।
प्रतियोगिता आयोजना हुने वा नहुने द्विवधाकाबीच जिल्ला खेलकुद विकास समितिले जिल्लाका सात वटै स्थानीय तहहरूबिच प्रतिस्पर्धा गराउने गरी जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरेको हो । समितिका अध्यक्ष जङ्गबहादुर पुन मगरका अनुसार जेठ पाँच गते बिहानैदेखि सदरमुकाम कुश्मास्थित बडागाउँ खेल मैदानमा प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगितामा १२ कक्षासम्म नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउने छन् । सहभागी हुने विद्यार्थीहरूको विवरण नेपाल सरकारको विद्यालय सफ्टवेयर इमिसमा भएको तथ्याङ्क अनुसारको हुनुपर्ने तथा इमिश अनुसार नभएर बाह्य व्यक्तिलाई विद्यार्थीको रूपमा ल्याएको भएमा खेलकुदको कानुन बमोजिम कारबाही गरिने अध्यक्ष मगरले बताए ।
प्रतियोगितामा एथ्लेटीक्स खेलतर्फ एक जना विद्यार्थीले ट्र्याक (दौड) तर्फ दुई वटा र फिल्डतर्फ एउटा विधामा वा फिल्डतर्फ दुई वटा विधामा सहभागी भएमा ट्र्याकमा एउटा विधामा खेल्न पाउने नियम राखिएको छ । तर ट्र्याक विधामा रिले दौड भने समावेश नगरिएको उनले बताए। कबड्डी खेलका लागि छात्रतर्फ ७० किलोग्राम र छात्रातर्फ ६५ किलोग्रामसम्म खेल्न पाइने छ ।
खेलमा विद्यार्थी सहभागी गराउने स्थानीय तहले आफ्ना खेलाडीहरूको व्यवस्थापन आफैले गर्ने भए पनि दर्ता शुल्कको रूपमा जिल्ला खेलकुद विकास समितिलाई २५ हजार रुपैयाँ बुझाउनुपर्ने भनिएको छ । उक्त रकम नबुझाउने स्थानीय तहका खेलाडीहरूलाई खेलमा समावेश नगरिने समितिको पत्रमा उल्लेख छ ।
प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी, एथ्लेटीक्समा छात्र÷छात्रातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर लामा दौड, रिले, हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो, सट पुट थ्रो, सितेरियो कराँते, तेक्वान्दो विधामा प्रतिस्पर्धा गराइने छ ।
राष्ट्र निर्माण र विकासमा विद्यार्थीको शारीरिक अवस्था विकास गर्न खेलकुदले निकै महत्व राख्ने भएकोले नेपाल सरकारले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वार्षिक कार्यक्रमको रूपमा सञ्चालन गर्ने गरेको अध्यक्ष मगरले बताए । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नको लागि स्थानीय तहहरूले विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउने उनको भनाइ छ ।





