पोखरा/पोखरामा बिहिबारदेखि नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्डहलमा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन गण्डकीले कोशी प्रदेशमाथि संघर्षपूर्ण जीत निकालेको छ । तीन पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले कोशीलाई ३–१ को सेटमा हराएको हो । कोशीले गण्डकीलाई कडा चुनौती दिएको थियो । पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट समेत २५–२१ जितेको थियो । तेस्रो सेट भने २२–२५ ले गुमाएको थियो । चौथो सेटमा पनि गण्डकीलाई निकै दबाबमा राखेपनि कोशीले उक्त सेट २५–२० ले गुमायो ।
जीतपश्चात आफ्नो प्रतिक्रिया दिदैँ गण्डकीका कप्तान सञ्जुविक्रम शाहले विदेशी खेलाडीसँग तालमेल नमिल्दा ब्लकमा निकै समस्या आएको सुनाए । उनले टिम सेट हुन नपाएका कारण पहिलो खेलमा सोचे जस्तो हुन नसकेको सुनाए । ‘हाम्रो आजको खेल भनेजस्तो भएन । टिम सेट हुन पनि पाएन । विदेशी खेलाडीको जुन खेल हो त्यो खेल देखिएन र हामीले पनि राम्रो प्रदर्शनी गर्न सकेनौँ,’ उनले भने, ‘अबको खेलमा यि सबै कुरा मिलाउने प्रयास गर्नेछौं ।’
हेल्प नेपालले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगाएको छ । हेल्प नेपालले ३०–२८, २५–२१ र २५–२० को जित निकालेको हो । त्यसअघि भएको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–१९,२५–१६,२५–१६ को सहज जित निकालेको हो ।
यस्तै महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ । पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७, २५–१३ ले खेल आफ्नो पक्षमा पारेको हो । एपिएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले २५–१०,२५–१०, २५–१५ को सहज जित निकालेको हो ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।





