पोखरा/पोखरा रंगशाला कस्को भन्नेमा केन्द्र र प्रदेश बिचमा जुहारी चल्ने गरेको छ । प्रदेश खेलकुद परिषद्ले पोखरा रंगशाला प्रदेशको मातहातमा रहनुपर्ने भन्दै दाबि गर्दै आइरहेको छ । तर, नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भने पोखरा रंगशाला केन्द्र सरकारको रहेको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोखरा रंगशाला केन्द्र सरकारको रहेको र त्यसका लागि यस वर्ष मर्मत संभारमा बजेट समेत विनियोजन गरेको सुनाए । ‘२०२७ मा पोखरामा हुने यु १९ महिला विश्वकप क्रिकेटले पर्यटकलाई समेत राम्रो हुन्छ । यहाँ क्रिकेट गर्ने उदेश्यकले मैले बजेटहरु व्यापक रुपमा अघि बढाएको छु । पोखरा रंगशाला केन्द्रको रंगशाला भएको हुनाले पहिला बजेटै थिएन आउने वर्षको अझ स्तरीय बनाउने र खेलकुदलाई राम्रो हुन्छ’ उनले भने ।
उनका अनुसार अहिले राखेप अन्तरगत महिला विश्वकपका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान निर्माणको क्रममा रहेको छ । अहिले भिआइपी तर्फको संरचना बनिरहेको र पूर्वाधार निर्माणका लागि क्रिकेट मैदानलाई थोरैमा तीन करोड रुपैयाँ विनियोजन हुने समेत सुनाए । सोही क्रममा खेलकुदको विकासका लागि स्थानीय र प्रदेश सरकारलाई खेलाडी विकास र प्रशिक्षण गराउँदै खेलकुदमै टिकाइराख्ने योजना ल्याउन अनुरोध गरे । उनले पोखरा स्पोट्र्स अवार्डका लागि समेत बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै दशौं राष्ट्रिय खेलकुदको बारेमा अहिले नै मिति तोक्न नसक्ने सुनाए । कर्णालीमा खेलकुदको पूर्वाधार निर्माणको क्रममा रहेकाले समयमा दशौं राष्ट्रिय खेलकुद हुन नसकेको उनको भनाइ छ । ‘म आएपछि मैले धेरै पटक दशौंको लागि बैठक डाके तर, कर्णालीमा आवश्यक पूर्वाधार निर्माण नभएको कारण हामीले दशौं गर्न सकेनौं’ उनले भने, ‘अहिले नै म मिति त भन्न सक्दिन तर, दशौं खेलकुद हुन्छ ।’ उनले आगामी खेलकुदको बजेट पहिलाको भन्दा धेरै आउने र प्रदेशभरका मुख्य रंगशालाहरु केन्द्र सरकारको मातहतमा रहने समेत सुनाए ।





